९ कार्तिक, २०८२काठमाडौं । एनआईसी एशिया बैंकले बैंकका नाममा रहेका बैंकिङ सम्पत्ति, गैर–बैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेका सम्पत्तिहरूको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी प्रदान गर्न अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ ।
बैंकले सार्वजनिक गरेको उक्त अनलाइन पोर्टलमार्फत लिलाम बिक्रीमा रहेका सम्पत्तिहरूको सम्पूर्ण विवरण—कित्तानम्बर, क्षेत्रफल, तस्बिर, नक्सा र स्थान पहिचानका लागि गुगल म्यापसहित हेर्न सकिने व्यवस्था गरिएको छ । ग्राहकहरूले लिलाम सम्बन्धी सूचनामा रहेको क्यूआर कोड स्क्यान गरी सो पोर्टलमा सहज रूपमा प्रवेश गर्न सक्नेछन् ।
त्यस्तै, इच्छुक ग्राहकहरूले आफूलाई रुचि भएको सम्पत्तिको बारेमा थप जानकारी लिन पोर्टलमा उपलब्ध ‘म्यासेज बक्स’ प्रयोग गरी आफ्नो नाम, इमेल ठेगाना, मोबाइल नम्बर र सम्पर्क ठेगाना उल्लेख गरेर सन्देश पठाउन सक्ने व्यवस्था गरिएको छ ।
बैंकले अनलाइन पोर्टलमा नियमित रूपमा बैंकिङ सम्पत्ति, गैर–बैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेका लिलाम बिक्रीका विवरणहरू अद्यावधिक गर्दै जाने जनाएको छ । यसरी डिजिटल प्रणालीमार्फत लिलामसम्बन्धी जानकारी सार्वजनिक हुँदा पारदर्शिता र पहुँच दुवै सहज हुने बैंकको विश्वास छ ।




