News Portal

  • हरिबोधिनी एकादशी पर्व मनाइँदै, तुलसी र भगवान् विष्णुको विशेष पूजा

    आर्थीकसंसार संवाददाता४ मंसिर, २०८३
    ११ पटक
    ४ मंसिर, २०८३

    काठमाडौं । आज कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । ठूलो एकादशीका रूपमा समेत परिचित यस पर्वमा तुलसी र भगवान् दामोदर अर्थात् विष्णुको विवाह तथा विशेष पूजा आराधना गर्ने परम्परा छ ।

    आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा शयन गरेका भगवान् विष्णु आज ब्युँझने धार्मिक विश्वास छ । यही मान्यताका आधारमा यस एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ ।

    हरिशयनीदेखि हरिबोधिनी एकादशीसम्मका चार महिनामा विष्णुभक्तहरूले तुलसीको व्रत बसी विशेष पूजा आराधना गर्ने परम्परा छ । भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने भएकाले यस अवधिमा विवाह, व्रतबन्धलगायतका मांगलिक कार्य नगरिने धार्मिक मान्यता छ ।

    हरिशयनी एकादशीका दिन मठमा रोपिएको तुलसीको आज भगवान् विष्णुसँग विवाह गरिदिने परम्परा छ । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रूपमा बाँस वा निगालोको लिङ्गो र उखुका लाक्रा गाडेर मठलाई लिपपोत तथा सजावट गरी विधिपूर्वक पूजा गर्ने चलन छ ।

    तुलसीको व्रत बस्नेहरूले आज सखरखण्ड, पिँडालु र वनतरुल उसिनेर फलाहार गर्ने गर्दछन् । यसरी व्रत बसेमा पाप नाश हुने, पुण्य वृद्धि हुने र मोक्ष प्राप्ति हुने धार्मिक विश्वास छ ।

    हरिबोधिनी एकादशीका दिन भगवान् विष्णुको मूर्तिलाई रथमा राखेर यात्रा गराउने प्रचलनसमेत छ । यस अवसरमा काठमाडौं उपत्यकाका चार नारायण मन्दिरसहित देशभरका विष्णु मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ । उपत्यकाका चार नारायणमा भक्तपुरको चाँगुनारायण तथा काठमाडौंका शेषनारायण, इचंगुनारायण र विशंखुनारायण पर्दछन् ।

    उपत्यकाका चार नारायणको दर्शन गर्न नसक्नेले काठमाडौंको उत्तरी क्षेत्रमा रहेको बूढानीलकण्ठ नारायणस्थानको दर्शन गरेमा चार नारायणको दर्शन तथा पूजा गरेसरह फल प्राप्त हुने धार्मिक विश्वास छ ।

    बूढानीलकण्ठमा आजदेखि कार्तिक शुक्ल पूर्णिमासम्म विशेष मेला लाग्ने गर्दछ । बूढानीलकण्ठमा भगवान् हरि अर्थात् विष्णु र हर अर्थात् शिव दुवैको मूर्ति रहेको छ । एउटै विशाल शिलामा हरि र हर दुवैको मूर्ति अंकित हुनु दुर्लभ मानिएकाले यहाँ हरेक वर्ष लाखौँ भक्तजन तथा पर्यटक दर्शनका लागि पुग्ने गर्दछन् ।

    आजदेखि मार्गशीर्ष कृष्ण पञ्चमीसम्म तुलसीको हवन अर्थात् होम गर्न साइत हेरिरहनु नपर्ने धार्मिक मान्यता छ । त्यसपछि भने शुभ साइत जुरेका दिनमा मात्रै तुलसीको पूजा तथा हवन गर्ने परम्परा छ । यससँगै चारमहिने तुलसी पूजा समापन हुन्छ ।

    प्रतिकृया दिनुहोस्