७ कार्तिक, २०८३काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालक (PSO) को अनुमति प्राप्त अग्रणी संस्था स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (SCT) र नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड बीच कार्ड सेवा सञ्चालन तथा डिजिटल भुक्तानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ।
यस सम्झौता पश्चात्, डिप्रोक्स लघुवित्तका ग्राहक तथा सदस्यहरूले पनि अब वाणिज्य बैंक, विकास बैंक तथा अन्य वित्तीय संस्थाका ग्राहकहरू झैं आधुनिक डिजिटल भुक्तानी सेवा तथा कार्ड सुविधाको प्रत्यक्ष लाभ लिन सक्नेछन्। (SCT) द्वारा सञ्चालित राष्ट्रिय तथा अन्तरराष्ट्रिय मापदण्डयुक्त नेटवर्कमार्फत डिप्रोक्स लघुवित्तले आफ्ना ग्राहकहरूलाई डिजिटल भुक्तानीका सुविधाहरू प्रदान गर्नेछ।
स्थापनाकालदेखि नै समाजका हरेक वर्गसम्म आधुनिक भुक्तानी प्रविधि पुर्याउने लक्ष्यसहित अघि बढिरहेको SCT ले आफ्नो नयाँ मूलमन्त्र “Network for All” लाई आत्मसात् गर्दै यस नवीन सहकार्यमार्फत लघुवित्त क्षेत्रका सेवाग्राहीहरूलाई समेत सुरक्षित, सहज र आधुनिक डिजिटल भुक्तानी सेवामा आबद्ध गराउने लक्ष्य लिएको छ। यस पहलले देशको डिजिटल वित्तीय प्रणालीलाई थप सशक्त, समावेशी र सर्वसुलभ बनाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास SCT ले लिएको छ।



