News Portal

  • अनुमति पाएका लघुबीमा कम्पनीले छिट्टै काम शुरु गर्ने, घर/सम्पत्तिको बीमा अनिवार्य

    आर्थीकसंसार संवाददाता२६ मंसिर, २०७९
    ३४७ पटक
    २६ मंसिर, २०७९

    काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले लघुबीमा कम्पनीहरूले केही महिनाभित्रै काम शुरू गर्ने बताएका छन् । सोमबार मधेश प्रदेशको बीगञ्जमा प्राधिकरणको प्रदेश कार्यालय उद्घाटन गर्दै अध्यक्ष सिलवालले सो बताएका हुन् ।
    प्राधिकरणले न्यून आय भएका वर्ग र पिछडिएका क्षेत्रलाई लक्षित गरी लघुबीमा व्यवसाय गर्न लघुबीमा कम्पनीहरूलाई अनुमति दिएको बताउँदै अध्यक्ष सिलवालले सो बताएका हुन् । अध्यक्ष सिलवालले पालिकाहरूले बजेट तर्जुमा गर्दा नै बीमाको प्रवद्र्धन एवम् पहुँच विस्तारका लागि व्यवस्था गर्नु उपयुक्त हुने बताउँदै पालिकाका कामहरूसँग आवद्ध गरेर अनिवार्यरूपमा घर तथा सम्पत्तिको बीमा गर्ने व्यवस्था गर्न आग्रह गरे ।
    त्यस्तै, ग्रामीण क्षेत्रका मात्र नभई शहरी क्षेत्रका न्यून आय भएका वर्गलाई समेत बीमाको दायरामा ल्याउन पालिकाहरूले विशेष व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याए । अध्यक्ष सिलवालले प्राधिकरणका प्रदेश कार्यालयहरूबाट नै बीमाका अधिकांश सेवाहरु सेवाग्राहीले प्राप्त गर्न सक्ने जानकारी दिए ।
    प्राधिकरणको प्रदेश कार्यालयबाट बीमा सम्बन्धी जनचेतना अभिवृद्धिका लागि जनचेतनामूलक कार्यक्रम संचालनका साथै बीमा दाबी भुक्तानी तथा गुनासो व्यवस्थापन, बीमकको अनुगमन, निरीक्षण तथा सुपरीवेक्षण, बीमाको दायरा विस्तारका लागि प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय लगायतका कार्य सम्पादन हुनेछन् ।
    बीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बीमा कम्पनीहरू शहरी क्षेत्रमा भन्दा पनि ग्रामीण क्षेत्रमा केन्द्रित हुनुपर्ने र हरेक किसानसम्म बीमाको पहुँच पुग्नुपर्ने बताए । प्रमुख सिंहले बीमा कम्पनीहरूले बीमाको दाबी भुक्तानीका लागि अनावश्यक कागजात माग्ने, झुलाउने र समयमा दाबी भुक्तानी नदिने जस्ता गुनासाहरू आउने गरेको उल्लेख गर्दै बीमाप्रतिको विश्वास बढाउनका लागि समयमै दाबी भुक्तानी हुनुपर्ने बताए ।

    बीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल कुमार अग्रवालले पनि बीमा कम्पनीहरूले बीमाको दाबी भुक्तानी दिने बेलामा अनावश्यक कागजातहरू मागेर हैरान पार्ने गरेको गुनासो गरे ।
    जीवन बीमक संघका अध्यक्ष पोषकराज पौडेलले नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूलाई बीमा दाबी भुक्तानी छिटोछरितो रूपमा दिन निर्देशन दिँदै आएको र सोही अनुसार हाल दाबी भुक्तानी सामान्यीकरण हुँदै गएको बताए ।
    त्यस्तै, प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले यही २०७९ साल असार मसान्तसम्ममा मधेश प्रदेशमा म्यादी जीवन बीमालेख समेत गरी बीमाको दायरामा आएको जनसंख्या ९.२० प्रतिशत र निर्जीवन बीमातर्फ कूल कृषि तथा बाली बीमामध्ये ६.७५ प्रतिशत मात्र कृषि तथा बाली बीमा रहेको जानकारी दिए । पौडेलले मधेश प्रदेशमा जीवन बीमाका साथै निर्जीवन बीमा अन्तर्गत कृषि, पशुपन्छी तथा जडिबूटी बीमाको पहुँच विस्तारमा जोड दिनुपर्ने आवश्यकता औंल्याए ।
    कार्यक्रमको संचालन नेपाल बीमा प्राधिकरणका निर्देशक पूजन ढुङ्गेल (अधिकारी) ले गरेकी हुन् । उक्त कार्यक्रममा बीरगञ्ज महानगरपालिकाका उपप्रमुख, विभिन्न नगरपालिकाका प्रमुख तथा उपप्रमुख, उद्योगी व्यवसायीहरू, नेपाल राष्ट्र बैंकका पदाधिकारी, नेपाल बीमक संघका प्रतिनिधि, विभिन्न सरकारी निकायका पदाधिकारी, बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयका प्रमुख, बीमा सर्भेयर, बीमा अभिकर्ता र संचारकर्मीहरू लगायतको उपस्थिति रहेको थियो ।
    बीमा प्राधिकरणले यसअघि नै सुदूरपश्चिम प्रदेशको धनगढी र कर्णाली प्रदेशको सुर्खेतमा स्थापना भएका प्रदेश कार्यालयहरूको उद्घाटन गरिसकेको छ । त्यस्तै, अब चालु आवभित्रै थप तीन प्रदेशमा प्रदेश कार्यालय सञ्चालनमा ल्याउने प्राधिकरणको योजना छ ।

    प्रतिकृया दिनुहोस्