News Portal

  • जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो

    आर्थीकसंसार संवाददाता१८ वैशाख, २०८१
    १२१ पटक
    १८ वैशाख, २०८१

    काठमाडौं । जीवन बीमाका लागि घरघरै अभिकर्ता पुग्ने भएपनि कृषि  बीमाका लागि अभिकर्ता घरदैलो आउने वातावरण बनाई दिन सर्वसाधारणले बीमा नियामकसँग अनुरोध गरेका छन्। नेपाल बीमा प्राधिकरणले दाङको गढवा गाउँपालिका देउखुरीमा आयोजना गरेको अन्तरकृयामा सहभागि स्थानीयले कृषि बीमाका लागि बीमकसँग पटक पटक अनुरोध गर्दा पनि घरदैलोमा सेवा नपाइएको गुनासो गरेका हुन् ।

    कृषि  बीमा सम्बन्धी सेवा नपाएको गुनासोबारे सम्बोधन गर्दै प्राधिकरणका उपनिर्देशक राजेन्द्र महर्जनले कुनै पनि बहानामा सेवा बन्द नगर्न बीमकलाइ निर्देशन दिइएको जानकारी गराए । उनले भने, तत्काल सेवा प्रवाह गर्न निर्देशन दिएका छाैं, बीमकको समस्या सम्बोधनका लागि नियामकको हैसियतबाट आवश्यक पहल भइ रहेको छ।

    सरकारले बाली तथा पशुपंक्षी बीमाको अनुदानवापतको रकम भुक्तानी नदिएको भन्दै निर्जीवन बीमकले केही दिनयता कृषि  बीमा बन्द गरिदिएका छन् ।

    उपनिर्देशक महर्जनले विपन्न वर्गमा बीमाको पहुँच पुर्‍याउनका लागि स्थानीय पालिकाको महत्वपूर्ण योगदान हुने भएकाले प्राधिकरणले पालिकासँग सहकार्य गरिरहेको बताए । उनले बीमा दाबी सम्बन्धमा सर्वसाधारणको गुनासो सम्बोधन गर्नका लागि प्राधिकरणले साना बीमा दाबीको अधिकार प्रदेश प्रमुख र शाखा कार्यालय प्रमुखलाई बीमा दाबीको अधिकार प्रत्यायोजन गर्न निर्देशन दिएको जानकारी दिए ।

    कार्यक्रममा गाउँपालिकाका अध्यक्ष यम नारायण शर्मा पोखरेलले न्यून आय र विपन्न वर्गलाइ बीमाको सुरक्षा दायराभित्र समेट्न पालिकाले आगामी बजेटमार्फत् आवश्यक कार्यक्रम ल्याइने घोषणा गरे । उनले कुनै पनि दुर्घटना अनिश्चित हुने भएकाले सबैले बेलैमा सजग भएर बीमा गर्नुपर्ने बताए । पछिल्लो समयमा स्वास्थ्य बीमाका लागि घरदैलोमा आउने दर्ता सहायकहरू अचेल हराएको भन्दै चिन्ता व्यक्त गरे ।

    सहभगाीहरूले जीवन बीमालेख व्यतित भएको अवस्थामा आफूहरूले बीमाशुल्कवापत जम्मा गरेको रकम फिर्ता पाउनुपर्ने माग गरेका गरेका थिए। साथै एकजना सहभागिले जीवन बीमा परिपक्व हुँदा कर कट्टी गर्ने प्रावधानबारे चासो राख्दै दुःख गरी जम्मा गरेको बचतको प्रतिफलमा कर कट्टी गर्नु व्यवहारिक नभएको गुनासो समेत गरे ।

    प्राधिकरणले सबै पालिकाहरूसँग बीमाबारे अन्तरकृया कार्यक्रममार्फत् नीतिगतरूपमा बीमा कार्यक्रमलाई पालिकाको नीति तथा कार्यक्रममा समावेश गराउने उद्देश्य लिएको छ। प्राधिकरणको पहल पछि दर्जन् भन्दा बढी पालिकाहरूले निःशुल्क बीमा र बीमा अनुदानलाई प्राथमिकता दिन थालेका छन् ।

    अन्तरकृया कार्यक्रममा प्राधिकरणका सहायक निर्देशक शम्भू मिश्र, तथ्यांकशास्त्री बसन्त बोहोरा, निप्स लुम्बिनी प्रदेश अध्यक्ष विश्व दिपक नेपाल, हिमालयन एभरेष्ट लुम्बिनी प्रदेश प्रमुख सुरेश ज्ञवालीले बीमाको माध्यमबाट हुने जोखिम बहन र राहतको बारेमा प्रकाश पारेका थिए ।

    प्रतिकृया दिनुहोस्