News Portal

  • सानिमा लाइफ छैठौं वर्षमा प्रवेश, मर्जरको अन्तिम तयारीमा

    आर्थीकसंसार संवाददाता२२ मंसिर, २०७९
    २९४ पटक
    २२ मंसिर, २०७९

    काठमाडौं । सानिमा लाइफ ५ वर्ष पुरा गरि छैठौ वर्षमा प्रवेश गरेको छ । स्थापनाको छोटो अवधिममै आफ्नो ब्राण्डलाई स्थापित गर्न सफल सानिमा लाइफले आफुलाई अझ बलियो बनाउन मर्जरको अन्तिम तयारीमा जुटेको छ ।
    जीवन बीमा व्यवसायको शुभारम्भ आज भन्दा ५ वर्ष अगाडी २०७४ मंसिर २२ गतेबाट भएको थियो । सानिमा लाइफको स्थापना २०६४ मंसिर १३ गते नै भएता पनि नेपाल सरकारले तत्कालिन समयमा लाइसेन्स नदिदा एक दशक प्रतिक्षा गर्नु परेको थियो ।
    एनआरएनहरुको प्रमुख लगानी रहेको सानिमा लाइफमा अन्य कम्पनीको भन्दा राम्रो कर्पोरेट कल्चर रहेको छ । जसले गर्दा कम्पनीलाई अस्वस्थ प्रतिस्पर्धा गरिरहनु पर्ने बाध्यता छैन । सानिमा बैंकको सर्वाधिक धेरै शेयर हिस्सा रहेको सानिमा लाइफमा त्यस पछि जीवनाथ लामिछानेको छ । त्यस्तै अन्य प्रमुख शेयरधनीहरुमा घनश्याम थापा, अरुण कुमार ओझा, विनयकुमार श्रेष्ठ, टेकनाथ निरौला, शाम्बा लामा, खेमराज लामिछाने, सोनम ग्याछो, प्रभा गोयन्का, हरेन्द्र प्रसाद जैशवाल, दिपक कुमार खड्का, ऋषि प्रसाद रिजाल र रामकृष्ण शाह रहेका छन् ।
    स्थापनाकालदेखि कम्पनीले हालसम्म ११ अर्ब २८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरिसकेको छ । हाल कम्पनीमा ६९ हजार वटा बीमा पोलिसी सक्रिय रहेका छन् । सर्वसाधारणलाई तीस करोड रुपैयाँको आइपिओ निष्काशन पछि चुक्ता पूँजी २ अर्ब पुगेको छ । जगेडा कोषमा ३० करोड नाघेको छ । बीमितहरुको जीवन बीमा कोषमा तीन अर्ब ७४ करोड रुपैयाँ जम्मा भइसकेको छ ।
    जीवन बीमा व्यवसायका लागि कम्पनीले सात वटै प्रदेशमा १०९ वटा शाखा तथा उपशाखा कार्यालय मार्फत सेवा प्रवाह गरिरहेको छ । हाल ११ वटा जीवन बीमा पोलिसी सक्रिय छन् । बीमितको आवस्यकता अनुसार कम्पनीले पोलिसीको निर्माण गरि बिक्री गरिरहेको छ ।
    नेपाल प्रहरीमा २७ वर्ष काम गरेका राष्ट्रिय अन्तर्राष्ट्रिय संस्थाहरुमा प्रतिनिधित्व जनाइसकेका कुमार कोइराला कम्पनीको सञ्चालक समितिको अध्यक्ष छन् । बीमा क्षेत्रमा स्वच्छ छवी बनाएका अनुभवकी अगम मुखिया प्रमुख कार्यकारी अधिकृत छन् ।
    स्थापनाकालदेखि अहिलेसम्म शेयरधनीहरुले भने ४.४२ प्रतिशत बोनस शेयर प्राप्त गरेका छन् । उक्त बोनस शेयर पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ८ करोड पुगेको छ ।
    नेपाल बीमा प्राधिकरणले २०७८ चैत १० गते न्युनतम चुक्ता पूँजी ५ अर्ब पुर्याउन निर्देशन दिए सँगै सानिमा लाइफले रिलायन्स लाइफ सँग मर्जर गर्ने सहमति गरेको छ । मर्जरका सम्पुर्ण प्रकृयाँ अन्तिम चरणमा पुगिसकेको छ । कम्पनीले रिलायन्स लाइफ सँग बराबरी हैसियतमा मर्जर गर्न थालेको हो ।
    मर्जर पछि कम्पनीले थप सिनर्जी ल्याउने विस्वास छ । उस्तै प्रकृतिका दुई कम्पनी एक भए सँगै चुक्ता पूँजी, जगेडा कोष, ब्रान्च नेटवर्क, कर्मचारी संख्या लगभग उस्तै छ । दुबैमा बाणिज्य बैंकको प्रमुख लगानी रहेको हुँदा सञ्चालकको त्यति ठुलो हस्तक्षेप पनि रहदैन । त्यसैले गर्दा यो मर्जर कर्पोरेट क्षेत्रकै सौहार्द मर्जर हुने अपेक्षा गरिएको छ ।
    कम्पनीको पाँचौ वार्षिकोत्सवको सु-अवसरमा सम्पुर्ण ग्राहकवर्ग, व्यक्तिगत तथा संस्थागत अभिकर्ता, शेयरधनीहरु, नियमनकारी निकाय, शुभचिन्तक लगायत सबै सम्बन्धित निकायहरु तथा सरोकारवालाहरुको साथ र सहयोगका लागि हार्दिक आभार एवम् कृतज्ञता व्यक्त गरेको छ । वार्षिकोत्सवको अवसरमा कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गतका विभिन्न कार्यक्रम आयोजना गरेको छ । कम्पनीका शाखा कार्यालयहरुले सामाजिक संघ संस्थामा विभिन्न सामाग्रीहरु हस्तान्तरण गरेको छ ।

    प्रतिकृया दिनुहोस्