News Portal

  • मर्जरमा जान इन्भेष्टमेन्ट र मेगाले पाए राष्ट्र बैंकको सहमति

    आर्थीकसंसार संवाददाता२३ असार, २०७९
    २३४ पटक
    २३ असार, २०७९

    काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकलाई मर्जरमा जान सैद्धान्तिक सहमति दिएको छ। बुधबार पत्र मार्फत राष्ट्र बैंकले दुई बैंकलाई सहमति दिएको हो ।
    राष्ट्र बैंकले एक आपसमा गाभ्ने गाभिने (मर्जर) प्रयोजनका लागि सम्बन्धित विनियमावली २०७३ को चौथो संशोधन बमोजिम सहमति प्रदान गरेको हो । यससँगै अब अन्तिम स्वीकृतिका लागि दुबैले नेपाल राष्ट्र बैंक समक्ष संयुक्त निवेदन पेश गर्नुपर्ने छ । साथै, दुबै संस्थाले ऋण लिएको भएको ऋण दिने ऋणदाताका प्रतिलिपि, कर्मचारीको पद मिलान तथा सेवा सुविधाको निर्णय समेत पेश गर्नुपर्ने बताएको हो ।
    यसअघि भएको सहमति अनुसार नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकका कर्मचारीको हैसियत बराबर हुने भएको छ । दुई बैंकबीच गत जेठ २७ गते मर्जरको सम्झौता भएको थियो । जसमा १००ः९० को स्वाप रेसियोमा सहमति भएको थियो । सो सहमति अनुसार अब इन्भेष्टमेन्ट बैंकको एक कित्ता सेयर बराबर मेगा बैंकको ०।९० कित्ता सेयर हुने भएको छ ।
    मर्जरपछि बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक राख्ने सहमति भएको छ । मर्जरपछि बन्ने बैंकको सञ्चालक समिति अध्यक्षमा इन्भेष्टमेन्ट बैंकको अध्यक्ष पृथ्वी बहादुर पाँडे र सीईओमा ज्योति पाण्डे हुने भएका छन् । त्यस्तै, वरिष्ठ डेपुटी सीईओ रबिना देशराज श्रेष्ठ बन्ने भएकी छिन् ।
    त्यस्तै, आगामी ६ महिनाभित्रमा एकीकृत कारोबार सक्ने गरी मर्जर प्रकृया अघि बढाइने बताइएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकले यसअघि हिमालयन बैंकसँग मर्जमा जाने प्रकृया अघि बढाएको थियो । तर उक्त सम्झौता भाडिएर हिमालयनसँग डिमर्ज भएपछि इन्भेष्टमेन्टले मेगासँग मर्जरको सम्झौता गरेको हो ।
    हाल नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको चुक्ता पुँजी १८ अर्ब ३१ करोड रुपैयाँ छ भने मेगा बैंकको १६ अर्ब १२ करोड रुपैयाँ छ । दुबै बैंक एक भएपछि बैंकको चुक्ता पुँजी ३४ अर्ब ४३ करोड रुपैयाँ हुनेछ ।

    प्रतिकृया दिनुहोस्