News Portal

  • संसदले विश्वासको मत नदिएपछि प्रधानमन्त्री ओली पदमुक्त

    आर्थीकसंसार संवाददाता२७ वैशाख, २०७८
    १४०३ पटक
    २७ वैशाख, २०७८

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा बहुमत गुमाएका छन् । प्रतिनिधिसभाको विशेष अधिवेशनमा ओलीले विश्वासको मत लिन राखेको प्रस्ताव बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री केपी शर्मा ओली बहुमत गुमाउनु परेको हो ।
    प्रधानमन्त्री केपी शर्मा ओली बहुमत गुमाउनुका साथै पदमुक्त पनि भएका छन् । विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका हुन् ।
    प्रधानमन्त्री ओलीले विश्वासको मत लिन राखेको प्रस्तावको पक्षमा ९३ मतदान गरे । विपक्षमा १ सय २४ मतदान गरे भने १५ जना तटस्थ रहे । प्रधानमन्त्री पदमा कायम रहन ओलीले १३६ मत पाउनुपर्ने थियो ।
    संसदको सबभन्दा ठूलो सत्तारुढ दल नेकपा एमालेका १ सय २१ सांसद छन् । तर एमालेको माधवकुमार नेपाल पक्षका सांसदहरु बैठकमा उपस्थित नहुने निर्णय गरेकाले सहभागी भएनन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको डा. बाबुराम भट्टराई–उपेन्द्र यादव पक्ष, राष्ट्रिय जनमोर्चाले विपक्षमा मत दिएका छन् । जसपाको महन्थ ठाकुर–राजेन्द्र महतो पक्षका सांसदहरु भने तटस्थ बसेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा २३२ जना सांसद उपस्थित रहेका थिए । सभामुख अग्नि सापकोटाले प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेको घोषणा गरे ।
    प्रधानमन्त्रीले संविधानको धारा १०० बमोजिम विश्वासको मत लिन चाहेका थिए । धारा १०० को १ मा ‘प्रधानमन्त्रीले कुनै पनि बखत आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक वा उपयुक्त ठानेमा विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्न सक्ने’, उल्लेख छ ।

    प्रतिकृया दिनुहोस्