News Portal

  • प्रधानमन्त्री ओली स्वदेश फर्किँदै, कतारको दोहा प्रस्थान

    आर्थीकसंसार संवाददाता२० असार, २०८२
    १३ पटक
    २० असार, २०८२

    काठमाडौं । विकासका लागि वित्त सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन स्पेनको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किँदै छन् ।

    सूचना तथा प्रसारण विभागले आज अपरान्ह ३ः४५ बजे प्रधानमन्त्री ओली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने जनाएको छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली यही असार १४ गते शनिबार स्पेन प्रस्थान गरेका थिए ।

    स्पेनमा रहँदा प्रधानमन्त्री ओली र संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टेनियो गुटेरसबीच भेटवार्ता भएको थियो । यस्तै, स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री) पेड्रो साञ्चेजबीच पनि दुई पक्षीय भेटवार्ता भएको थियो ।

    यस्तै, स्टोनियाका राष्ट्रपति अलार कारिस इजिप्टका प्रधानमन्त्री डा मोस्तफा कमाल माडबुली र पोर्चुगलका प्रधानमन्त्री लुइ मोन्टेनेग्रोसँगको पनि भेटवार्ता भएको थियो ।

    प्रधानमन्त्री ओलीले विकासका लागि वित्त सम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनलाई सम्बोधन गरे । अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षता गरे । यस्तै, विभिन्न छलफल सत्रमा प्रधानमन्त्री ओलीको सक्रिय सहभागिता रहेको थियो ।

    विकास सहायतामा नयाँ सोच सम्बधी उच्चस्तरीय छलफलका अलावा अन्य साइड इभेन्टहरूमा प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले सहभागिता जनाएको थियो ।

    बिहीबार मात्र उनले स्पेनको मेड्रिडस्थित विश्व प्रसिद्ध फुटबल क्लब रियल मेड्रिडको सान्टियागो बर्नाबाउ रङ्गशाला भ्रमण गरे । स्पेनमा रहेको नेपाली दूतावासको निरीक्षणका अलावा नेपाली समुदायसँग छलफल गरेका थिए ।

    केहीबेर अघि मात्र प्रधानमन्त्री ओली स्पेनको मेड्रिडबाट कतारको दोहातर्फ प्रस्थान गरेका हुन् ।

    प्रतिकृया दिनुहोस्