आर्थीकसंसार संवाददाता२३ असार, २०८२

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले हिमालयन बैंकलाई एफपीओ बिक्री गर्न अनुमति दिएको छ । बैंकलाई १ अब ४५ करोड २३ लाख २३ हजार ६३३ रुपैयाँको ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ निष्कासन गर्न धितोपत्र बोर्डले अनुमति दिएको हो ।
बैंकले अंकित मूल्य १ सय रुपैयाँमा ५७ रुपैयाँ थप गरी प्रतिकित्ता १५७ रुपैयाँ दरमा एफपीओ बिक्री गर्नेछ ।
बैंकले साधारण सेयर हिस्सा बढाएर ३० प्रतिशत पुर्याउन एफपीओ जारी गर्न लागेको हो। साविक सिभिल बैंकलाई गाभेपछि बैंकको संस्स्थापकको हिस्सा बढेर साधारण सेयरको हिस्सा घटेको थियो ।
बैंक तथा वित्तीय संस्थाको साधारण सेयर हिस्सा ३० प्रतिशत हुनुपर्ने व्यवस्था छ। बैंकको हाल साधारण सेयर हिस्सा २७.०१ प्रतिशत छ। बैंकको चुक्ता पुँजी २१ अर्ब ६५ करोड रुपैयाँ रहेको छ ।
बैंकको एफपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल रहेको छ।