News Portal

  • नागरिक एप तीन चरणमा कार्यान्वयन गरिँदै

    आर्थीकसंसार संवाददाता२६ वैशाख, २०७८
    ४३५ पटक
    २६ वैशाख, २०७८

    काठमाडौं । आइसिटी डे २०२१ को दिन फुल भर्सनका रुपमा सार्वजनिक भएको नागरिक एपमा ६ महिनाभित्र थप ८० वटा नयाँ सेवा थप हुने भएका छन् ।
    प्रधानमन्त्रीका आइटी सल्लाहकार अस्गर अलिका अनुसार ६ महिनाभित्र अधिकांश सरकारी भुक्तानी यही एपबाट गर्न लागिएको बताए । शनिबार भएको दोस्रो चरणको डिजिटल संवाद कार्यक्रममा बोल्दै अलीले विभिन्न तीन चरणमा नागरिक एपमा सेवा सुविधाहरु थप गर्दै जाने बनाए ।
    केही समयमा नै वाग्मति प्रदेशअन्तर्गत यातायातको कर तिर्ने व्यवस्था सुरु गर्न लागेको जानकारी दिँदै उनले खानेपानीदेखि चौमासिक, अर्थवार्षिक, वार्षिक कर दिर्ने र अन्य सरकारी सेवाहरु लिने सबै सुविधा यसै एपमार्फत उपलब्ध गराउन लागेको पनि बताए । त्यस्तै, विद्यार्थीको सुविधाको लागि त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालय पनि यस एपमा चाँडै नै जोडिन लागेको उनले जानकारी गराए ।
    उनको अनुसार तीन महिनामा नेपालमा पहिलोपटक बिना कुनै कागजात १० हजार जनाले प्यान नम्बर लिएर यसको सफल उदाहरण पेश भएको भन्दै अहिले नागरिक एपबाट बैंक खाता खोल्ने व्यवस्था पनि गरिएको छ ।
    ‘नागकिर एपमा यी दुई कुरा सफलताका उदाहरण हुन्,’ उनले भने, ‘यही सफलतालाई आधार मानेर थप सुविधाहरु थपिँदै छ ।’
    सुविधा थप्दै, डेटा क्लिन गर्दै कार्यान्वयन गर्दै जाने अलीले बताए । यसको लागि तीन चरणमा काम हुने बताए । पहिलो चरणमा डाटा क्लिन गर्ने, दोस्रो चरणमा इन्टिग्रेसन र तेस्रो चरणमा पूर्ण कार्यान्वयन हुने बताए । नागरिक एप बनाउन सुरुदेखि काम गरिरहेका अलीले यो एप बनाउन नेपाल सरकारको एक रुपैयाँ पनि खर्च नभएको बताए । आजसम्म ६ लाख २५ हजारले यो एप डाउनलोड गरेका छन् भने र २ लाख बढीको भेरिफाइ भएको छ ।
    नागरिक एप नेपाल सरकारले प्रविधिमार्फत हातहातमै सरकारी सेवा दिने उद्देश्यसहित सुरु गरेको एप्लिकेशन हो । एपको वेटा भर्सन केही महिनाअघि सार्वजनिक भए पनि गत बैशाख १९ गते प्रधानमन्त्रीले यसको फुल भर्सन सार्वजनिक गरेका थिए ।
    अबको ३ वर्षमा एपमा अधिकांश सुविधाहरु उपलब्ध हुनेगरी काम भइरहेको सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले जनाएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रमा होस्ट गरिएको एप्लिकेशन सञ्चालनमा अहिले एक दर्जन बढी जनशक्ति कार्यरत रहेका छन् । निर्देशिका पारित भएसँगै ४० बढी जनशक्ति तयार गरी २४ घन्टा सेवा दिने मन्त्रालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्