News Portal

  • हामी जोखिम न्यूनीकरण गरेर काम गरिरहेका छौं

    १४११ पटक

    प्रवीण बस्नेत
    प्रमुख कार्यकारी अधिकृत, कामना सेवा विकास बैंक

    नेपालको बैकिङ क्षेत्रमा विगत १४ वर्षदेखि काम गरिरहनुभएका प्रवीण बस्नेत अर्थक्षेत्रका एक सक्षम र उदीयमान बैंकर्स हुनुुहुन्छ । भारतको मद्रासबाट चार्टर्ड एकाउन्टेन्सीमा स्नातकोत्तर गर्नुभएका प्रवीण बस्नेत हाल कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ । नबिल बैंक, नेपाल बङ्गलादेश बैंक, एनआईसी एसिया र माछापुच्छ्रे बैंकमा लामो समय आफ्नो विज्ञता र अनुभव हासिल गर्नुभएका उहाँले वित्तीय क्षेत्रबाटै राष्ट्रलाई योगदान दिन सकिन्छ भन्ने आत्मविश्वासका साथ राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिइरहनुभएको छ । मुलुकको वर्तमान अर्थतन्त्र र विकास बैंकहरूका विषयमा आर्थिक संसार डटकमका लागि टीबी बिरहीले गर्नुभएको कुराकानीको सम्पादित अंश ।
    कोरोना कहरमा कामना सेवा विकास बैंकले कसरी काम सञ्चालन गरिरहेको छ ?
    कोरोना संक्रमणको जोखिम बढिरहे पनि हाम्रो कामना सेवा विकास बैंकले आफ्नो काम सञ्चालन गरिरहेको छ । सुरुसुरुमा सीसीएमसीले जारी गरेको निर्देशनअनुसार कर्मचारीलाई डिजिटल प्रविधि अपनाएर घरमै बसेर काम गर्न लगायौं । ग्राहकहरूलाई पनि यसैगरी काम गर्न सुझायौं । प्रविधि उपयोग गर्न नजान्ने र बैंकमै आएर सेवा लिन चाहनेहरूका लागि कार्यालयमा सरकारले जारी गरेको स्वास्थ्य प्रोटोकल अपनाएर त्यसलाई कडाइकासाथ लागू गरेर काम गर्यौं । सरकारले लकडाउन खुला गरेपछि भीडभाड अलि बढेको अवस्थामा बैंकका कर्मचारीलाई पनि डिजिटल प्रविधिमार्फत घरबाटै काम गर्ने, कार्यालयबाटै दिनुपर्ने अति आवश्यक सेवाका लागि दुई सिफ्ट बनाएर ग्राहकको पनि भीडभाड नहुने गरी सुरक्षा मापदण्ड अपनाएर, सीसीएमसीको निर्देशन पूर्ण पालना गरेर सुरक्षित रूपमा ग्राहकलाई सेवा दिइरहेका छौं । पछिल्लो समयमा कोरोनाको जोखिम बढ्न थालेपछि ग्राहकलाई पनि सकेसम्म घरमै बसेर डिजिटल अनलाईन सेवाबाट खाता खोल्ने, लोन एप्लाई गर्ने, बिजुली, पानी, इन्टरनेट आदिको बिल तिर्न घरमै बसेर अनलाईन सेवामार्फत गर्न आग्रह गरिरहेका छौं । ग्राहकको आर्थिक कारोबार एटीएमबाटै गर्न लगाएका छौं भने बैंकमा सामाजिक दूरी कायम गराएका छौं । माक्सको प्रयोग अनिवार्य बनाएको छौं । सेनिटाइजर लगाएर मात्र बैंकभित्र पस्ने वातावरण बनाएका छौं । यसरी पूर्ण सुरक्षाका साथ बैकिङ गतिविधि सञ्चालन भइरहेको छ ।
    बैंकको वित्तीय कारोबार कस्तो छ ?
    लामो लकडाउनले गर्दा कारोबार ठप्प भए, लोनहरू प्रवाह हुन सकेन, ग्राहकले आर्थिक कारोबार गर्न पाएनन्, उद्योग व्यवसाय ठप्प भए । ऋण लाने, तिर्ने कुरा भएन, जसले गर्दा हाम्रोलगायत सबै बैंकमा तरलता धेरै छ । पछिल्लो समयमा कर्जा माग ठूलो मात्रामा भए पनि ब्याजदर घटाउने प्रतिश्पर्धाले र यसको रेसियो यकिन नहुँदा लगानीमा समस्या भइरहेको छ । मौद्रिक नीतिले सीसीडी ८५ प्रतिशत भनेर आएको तर लिक्वीडिटी पोलिसीमा केही नबोलेको हुँदा लिक्वीडीटी रेसियो चाहिँ २० प्रतिशत नै हो भन्ने इन्टरप्रिटेसनसमेत गर्न थालिएको छ । यसले सीसीडीको कार्यान्वयन पक्ष ८५ प्रतिशत नहुने देखिन्छ । पहिलेकै जस्तो कारोबार भएको खण्डमा चाँडै नै लिक्वीडीटी एब्जर्ब हुने अवस्था थियो तर कोभिड–१९ संक्रमण बढिरहेको अवस्थामा यसमा केही कमी आउने प्रक्षेपण गरेका छौं । डिपोजिटमा चाहिँ ठूलो मात्रामा वृद्धि भइरहेको छ तर ब्याजदर घटेको हुँदा अर्थात १५ प्रतिशतभन्दा बढीमा हामीले लगानी गर्न सक्ने अवस्था नभएकाले हामीले चाहेर पनि डिपोजिट लिनसक्ने अवस्था भइरहेको छैन । त्यसो भएर लोनको तुलनामा जिपोजिटको ग्रोथ चाहिँ बढी छ ।
    बैंकले कस्ता–कस्ता क्षेत्रहरूमा लगानी गरिरहेको छ ?
    सानासाना बिजनेस र कृषि कर्जामा भइरहेको छ । जुन दुवै उत्पादनशील क्षेत्रहरू पनि हुन् । अहिले आफ्नो प्रोपर्टीहरू बेचेर सेयर किन्ने मान्छेको मात्रा बढिरहेको छ, त्यस्तो प्रोपर्टीहरू हामीले बढी नै रिसिभ गरिरहेका छौं । घरजग्गा र गाडी खरिदमा सामान्य लगानी भइरहेको छ । त्यसमा कम माग छ र त्यसमा हामीले लगानी पनि कम गरिरहेका छौं ।
    यस्तो लोनमा जोखिम कत्तिको छ ?
    यो कोभिडको कारणले हाम्रा ग्राहकमा लोन तिर्ने कुरामा असर पर्यो नै । जसले गर्दा कतिपय ग्राहकले चाहँदाचाहँदै पनि बैंकको सावाँ ब्याज तिर्न सकिरहनुभएको छैन भने कतिपयले भने राष्ट्र बैंकले बैंकको सावाँ ब्याज तिर्ने भाका असोजसम्म बढाएको छ भनेर हामीले ताकेता गर्दागर्दै पनि तिरिरहनुभएको छैन । बढी समस्या भनेको पर्यटन क्षेत्रसँग सम्बन्धित पेसा व्यवसाय, होटल, रेष्टुरेष्टसँग सम्बन्धित व्यवसाय, ट्राभल एजेन्सीहरू, बोर्डिङ स्कुल, कलेजहरूलगायतका क्षेत्रका व्यवसायीहरूमा अलि समस्या भएको छ । उहाँहरूलाई हामीले नेपाल राष्ट्र बैंकले दिएको सुविधाहरू पनि दिएका छौं, ब्याजदरमा पनि छुट गरेका छौं । हामीले कमर्सियल बिजनेस हायर पर्चेजमा लिएको लोनमा साउन महिनाको ब्याजदरमा ५० प्रतिशतसम्म छुट दिएका छौं भने अब उहाँहरूलाई सहज हुने खालको योजनासमेत चाँडै लञ्च गर्नेवाला छौं । त्यसैगरी, हाम्रा ग्राहकलाई कस्तो कस्तो समस्या छ, कुनकुन क्षेत्रमा बढी समस्या छ त्यो हेरेर हामीले कस्तो सेवा सुविधा दिन सक्छौं, उहाँहरूको समस्या समाधानमा कसरी सहयोग गर्न सक्छौं भनेर उहाँहरूसँग छलफल गरिरहेका छौं । अहिले सबैलाई समस्या नै भएको हुनाले हामीले पनि पहिलेको भन्दा बढी जोखिम मोलेर काम गर्न सक्ने, अनुत्पादक क्षेत्रमा ऋण प्रवाह गर्ने अवस्था नभएकाले त्यस्तो धेरै जोखिम छैन । अलिअलि भएकोलाई पनि उठाइरहेका छौं । बैंक असामान्य अवस्थामा छैन ।
    हालै राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिलाई यहाँले कसरी लिनुभएको छ ?
    अहिले आएको मौद्रिक नीति सबैको हित हुने खालको आएको छ । खासगरी उत्पादनका क्षेत्रहरू कृषि र ऊर्जामा राम्रा कार्यक्रम ल्याई यसलाई प्रबद्र्धन गर्न खोजेको छ । तर, कतिपय कमर्सियल बैंकका लागि चाहिँ बैकिङ मैत्री नीति नभइ दिँदा बैंकको आम्दानीको स्रोत र लगानीको क्षेत्रमा समस्या भएको छ । तथापि, समग्र राष्ट्रिय अर्थतन्त्रमा भने यसले राम्रै प्रभाव पारेको देखिन्छ । त्यसैगरी, कोरोना भाइरस संक्रमणमा परेका संघसंस्थालाई पुनर्कर्जाको व्यवस्था र विभिन्न प्रकारका सुविधा दिएर रिकभरी गर्ने भनेको छ । त्यो स्वागतयोग्य कुरा हो तर यो कत्तिको कार्यान्वयमा जान्छ, त्यसले नीति सही आयो वा आएन भन्ने कुराको निर्धारण गर्ने छ ।
    कामना सेवा विकास बैंकलाई उत्कृष्ट बैंक बनाउने दीर्घकालीन योजना के–कस्ता छन् ?
    बैंकलाई प्रविधि र उत्कृष्टतामै अगाडि बढाउने गरी हामीले पहिलेदेखि नै डिजिटल बैकिङ सेवामै फोकस गरिरहेका थियौं । पछिल्लो समयमा कोरोना भाइरस संक्रमण फैलिएपछि यो हाम्रो योजना र चाहनालाई झन् अति जरुरी नै बनायो । त्यहीअनुसार हाम्रो बैंकलाई आधुनिक प्रविधिमैत्री बनाउनुपर्ने र मुलुकका जुनकुनै ठाउँबाट बैकिङ गतिविधि सञ्चालन गर्नसक्ने गरी प्रविधियुक्त बनाउन अहिले हामी वर्कआउट गरिरहेका छौं । साथै, सोसल मिडिया उपयोग गरेर घरमै बसेर बैकिङ सेवा कसरी लिन सकिन्छ, मानिसहरूका दैनिक जीवनमा आइपर्ने कारोबार र सेवा सुविधा कसरी दिन सकिन्छ भनेर सोसल मिडिया बैकिङ सेवा भनेर चाँडै लञ्चिङ गर्दैछौं । यो कामको तयारीको हामी अन्तिम अवस्थामा छौं । यो सेवा आएपछि हाम्रा ग्राहकले खाता खोल्न, लोन लिन, बैंकिङ ट्रान्जेक्सनका काम गर्न र अन्य बैंकिङ गतिविधिका काम गर्न बैंक आइरहनु पर्ने छैन, घरमै बसेर यी सबै काम गर्न र सेवा सुविधा लिन सेवाग्राहीहरुले सक्नुहुने छ । हामीले मोबाइल एपमार्फत महत्वपूर्ण काम गर्ने गरी तयारी अगाडि बढाएका छौं । मोबाइल एप डाउनलोड गरेर यी सबै सेवा सुविधा हाम्रा ग्राहकले पाऊन् भनेर प्रविधिमा जोड्न खोजिरहेका छौं । त्यसैगरी, यो सबै सेवा सुविधा दिन र उत्कृष्ट बैंक बनाउन हाम्रा कर्मचारीलाई पनि प्रविधियुक्त बनाइरहेका छौं । जसले गर्दा भोलिका दिनमा घरमै बसेर पनि ग्राहकलाई सेवादिन सकियोस् । त्यसैगरी, ग्राहकमैत्री योजना र ग्राहकलाई सुखी पार्ने थुप्रै योजनाहरू, उत्पादनहरू बिना झन्झट बिना लगानी दिने गरी मेकानिज्म तयार गरिरहेका छौं । हाम्रा ग्राहकहरूलाई कसरी सुलभ ढंगले घरघरमै सेवा डेलिभर गर्न सकिन्छ, नयाँनयाँ सेवा सुविधा दिन सकिन्छ भनेर अहोरात्र खटिरहेका छौं । अहिले कोरोना महामारी छ, यस्तो बेला ग्राहकलाई कसरी सुरक्षित राखेर उनीहरूले खोजेको सेवा दिन सकिन्छ र राष्ट्रिय अर्थतन्त्रमा योगदान दिन सकिन्छ भनेर योजनाका साथ काम गरिरहेका छौं
    कामका चुनौती के–के छन् नि ?
    चुनौती बिनाको सफलता र कामको कुनै मिठास र महत्व हुँदैन । त्यसैले चुनौती हुनुपर्छ र छन् पनि । त्यसमध्ये पनि अहिले ठूलो चुनौतीको रूपमा रहेको कोरोना संक्रमबाट कसरी जोगिएर ग्राहकलाई सेवादिन, ग्राहकहरूलाई सुरक्षित राख्ने र बैंक सञ्चालन गर्ने भन्ने नै ठूलो चुनौती हो । यो संक्रमण कहिले सकिन्छ, कहिले हट्छ, यसको उपचार कहिले सहज हुन्छ, कहिले यसको औषधि र भ्याक्सिन आउँछ ? यसको असर कस्तो हुन्छ भन्ने कुरा अहिले यकिन गर्न नसकिने अवस्था भएकाले बढी समस्या र ठूलो चुनौती यहाँनेर छ । त्यसैगरी, यो बैंक हाम्रो भरपर्दो बैंक हो, यसले हामीलाई सजिलो अप्ठेरो दुवै समयमा सहयोग गर्छ, विश्वसनीय र भरपर्दो सेवा सुविधा दिन्छ, यसका सेवाहरू गुणस्तरीय छन्, विश्वसनीय छन् । यसले हामीलाई अप्ठेरो पार्दैन, हाम्रो लगानी डुबाउँदैन, नाफा राम्रो दिन्छ । त्यसैले यसमा खाता खोल्नुपर्छ र पैसा राख्नुपर्छ भन्ने कुराको ग्राहकलाई ग्यारेण्टी हुने गरी बैंक बनाउन आम ग्राहकको मनमा स्थापित हुन र बढीभन्दा बढी ग्राहकको मन तानेर ग्राहक विस्तार गर्ने अर्को चुनौतीको विषय छ । त्यसैगरी, राष्ट्र बैंकको उतारचढावयुक्त बैकिङ नीतिअनुसार अगाडि बढ्नुपर्ने अर्को चुनौतीको विषय हो । साथसाथै बैंकलाई प्रविधियुक्त र गुणस्तरीय बनाउन कर्मचारीको भावना र चाहनाअनुसारको सेवा सुविधा दिएर उनीहरूको दीर्घ सेवामा निरन्तरता दिई बैंकलाई अगाडि बढाउनु, गुणस्तर कायम राख्नु, कर्मचारीको भरपुर क्षमता बैंकमा लगाउनु पनि अर्को चुनौतीको विषय हो । अर्को बैंकले गरेको लगानी कतिपय अवस्थामा जोखिमपूर्ण पनि हुन्छ, त्यसलाई उठाएर ग्राहकका जायज माग, जायज लगानी लगाइदिएर उनीहरूको पेसा व्यवसाय सञ्चालन गर्न सहयोग गर्दै उनीहरूलाई सन्तुष्टि दिनु अर्को चुनौती हो । खासगरी ग्राहकको चाहना र आवश्यकता पूरा गर्नुका साथै उनीहरूबाट बैंकलाई हुने जोखिम रोक्नुपर्ने यी दुई परस्पर विरोधी कुरालाई सन्तुलनमा राखेर काम गर्नु मुख्य चुनौतीको विषय हो । किनकी, ग्राहकले धेरै आशा गर्ने, सहज आशा गर्ने त्यो आशा पूरा गर्ने सम्पत्ति चाहिँ ज्यादै थोरै हुने र लिएपछि कतिपय अवस्थामा फिर्ता गर्न गाह्रो मानिदिने अवस्थाबीच आउने समस्यालाई सन्तुलन गर्न निकै चुनौतीपूर्ण हुन्छ ।
    बैंकिङ नीतिमा केही कमीकमजोरी छ, जो परिवर्तन नगरी नहुने खालका हुन् ?
    होइन, पहिलेदेखिकै एउटै नीति भइरहँदा र समयसापेक्ष परिवर्तन नहुँदा ग्राहकको इच्छा, चाहनाअनुरूप नहुँदा, बैंकिङमैत्री नहुँदा अर्थतन्त्र चलायमान गर्न अलि असहज हुन्छ । अर्थतन्त्र चलायमान बनाउन कस्तो नीति ल्याउने, कस्तो नीतिले अर्थतन्त्र र बैंकिङ प्रणालीलाई बढी चलायमान बनाउन सकिन्छ, बैंकमा लगानी गर्नुपर्छ भन्ने वातावरण कसरी बनाउने भन्ने कुरालाई पनि ध्यानमा राखेर दिगो र बैंकमैत्री बैकिङनीति ल्याउनु आवश्यक छ । किनकी, कतिपय ठूलाठूला इन्भेष्टरहरूले नाफाकै लागि बैंकमा लगानी गर्ने हुन् । त्यसैले यति कमिशन लिन पाइन्छ भन्ने कुरालाई स्पष्ट पार्नुपर्छ । बैंकको लिक्वीडीटी ग्यारेण्टीको अन्योलता र ब्याज दरको अन्योलताले निक्षेप संकलन र लगानीमा समेत समस्या भइरहेको छ । त्यसैले यसमा प्रष्टता हुनु जरुरी छ । त्यो खालको उद्योगी व्यावसायीमैत्री नीति ल्याउनु जरुरी छ । बैंकले कल्याणकारी काममा यति लगानी गर्नुपर्छ भन्ने कुरा राष्ट्र बैंकले भनेको छ । कल्याणकारी काममा लगानी गर्नु राम्रो हो तर कस्तो काममा लगानी गर्दा ठीक हुन्छ ? बैंकलगायत राज्यले त्यसको कति फाइदा लिन सक्छन ? र, त्यो लोककल्याणकारी कामले समाजलाई कति फाइदा पुग्छ भन्ने कुरालाई भने राम्ररी पहिचान गर्ने खालको नीति हुनुपर्छ, स्पष्टता हुनुपर्छ ।
      प्रस्तोताः टीबी विरही

    प्रतिकृया दिनुहोस्