News Portal

  • चिकित्सक बनेर बिरामीको सेवा गर्ने इच्छा छ

    ४९६२ पटक

    शैलेस दाहाल
    एमबीबीएस अध्ययनका लागि उत्कृष्ट विद्यार्थी


    (चिकित्साशास्त्र क्षेत्रमा मुलुकका लागि महत्वपूर्ण योगदान दिनसक्ने शैलेश दाहाल मेडिकल क्षेत्रका उत्कृष्ट विद्यार्थी हुन् । ब्ल्युबर्ड कलेजबाट एमबीबीएस परीक्षामा उत्कृष्ट अंक ल्याउन सफल दाहाल विद्यालय शिक्षादेखि प्लस टुको परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएका विद्यार्थी हुन् । दाहाल हालै एमबीबीएस अध्ययनका लागि उत्कृष्ट विद्यार्थीको रुपमा छनौट भएका छन् । मेडिकल क्षेत्रको विविध विषयमा आर्थिकसंसार डटकमका लागि टीबी विरहीले विद्यार्थी दाहालसँग गरेको कुराकानीको सारसंक्षेप ।)
    तपाईंले एमबीबीएसको परीक्षामा राम्रो अंक ल्याएर उत्तीर्ण गर्नुभएको छ, सर्वप्रथम बधाई छ, कस्तो अनुभूति भइरहेको छ ?
    बधाईका लागि यहाँलाई धन्यवाद । मलाई यो परीक्षा उत्तीर्ण गर्दा पहिलो त खुसीको अनुभव भएको छ । साथै दक्ष चिकित्सक बन्न थप मिहेनतका साथ उच्च अध्ययन गर्नुपर्ने दायित्व थपिएको महसुस गरेको छु ।
    यो परीक्षामा कस्तो स्थानमा उत्तीर्ण हुनुभयो ?
    मैले राम्रै अंकसहितको नजिता ल्याएको छु । स्थानको हिसाबमा म २९ नक्बरमा परेको छु ।
    यो सफलता हासिल गर्न कत्तिको मिहेनत गर्नुभयो, कसरी पढ्नुभयो त ?
    जुनसुकै सफलताको लागि पनि मिहेनत त आवश्यक पर्छ नै । त्यो हिसाबले मैले पनि राम्रै मिहेनत गरेँ तर पढ्ने तरिका र सेडुअल चाहिँ बनाउनु नै पर्छ । किनकि कुनै पनि काम गर्दा होस्, अध्ययन गर्दा होस् टाइम टेवुल बनाएर, लक्ष्य बनाएर नै काम गर्दा सफलता हासिल गर्न सहज हुन्छ । जथाभावी गर्दा विघ्न बाधाहरु आउने, समयको म्यानेज गर्न नसकिने र काम छुट्नेजस्ता समस्या आउने गर्छन् । म बेलुका अलि छिटो सुत्थेँ, बिहान चाँडै उठेर पढ्थेँ । किनकि म बिहान पढ्न रुचाउने भएकाले त्यसो गर्थें । सबैले यही नै गर्नुपर्छ भन्ने छैन । तर अलि राम्रो बिहानकै समय हुन्छ काम गर्न, पढ्न र पढेको कुरा सम्झन । जतिबेला पढे पनि हुन्छ तर टाईम टेबुल बनाएर पढेको राम्रो । काम नछुटुन, पढाई नछुटोस् भनेर समयअनुसार काम गर्नु राम्रो हुने मेरो अनुभव छ ।

    No description available.

    कसरी पढ्दा स्मरणमा बढी आउँछ, कुनै सूत्र पनि छ कि बताई दिनुहोस् न ?
    जसरी आफूले दिमागमा राख्न सकिन्छ, त्यसरी नै अध्ययन गर्ने हो । म चाहिँ बढी गरेर पाठहरुलाई, बुँदाहरुलाई न्यूमेरिक्स सूत्रीकृत गरेर सम्झन सहज बनाएर अझ भन्दा पाठ र हरफहरुलाई छोटो बनाएर स्मरणमा आउने गरी पढ्थेँ । स्मरण क्षमता राम्रै थियो ।
    दिनमा कति घण्टासम्म पढ्नुहुन्थ्यो ?
    सूत्रबद्ध गरेर पढ्दा धेरै समय चाहिँदैन । दिनको १०–११ घण्टा पढ्दा पुग्छ । म पनि दिनको १०–११  घण्टा पढ्थेँ ।
    ‘प्लस टु’को नतिजा कस्तो थियो ?
    राम्रै थियो । एघार–बाह्र दुवैमा ए प्लस नै थियो ।
    भोलिको उद्देश्य के छ त ?
    एमबीबीएस पढेर अनुभवी डाक्टर बन्ने र विरामीको सेवा गर्ने, राज्यले दिएका जिम्मेवारी इमान्दारीताका साथ निर्वाह गर्ने र चिकित्सा क्षेत्रको अध्ययन, अनुसन्धानमा लाग्ने सोच छ ।
    यो सफलताको श्रेय कस–कसलाई दिनुहुन्छ ?
    सर्वप्रथमतः आफूलाई यो प्रेरणा दिने यहाँसम्म ल्याउन दिनरात दुःखकष्ट सहेर पढाउने परिवारजनलाई जान्छ । त्यसपछि आफूलाई यो अवस्थामा ल्याउन अध्ययन गराउने स्कुल र कलेजका आदरणीय गुरु वर्गलाई जान्छ । आफ्नो मेहनतलाई र साथीहरुलाई पनि भाग छुट्याउनै पर्छ ।
    यो सफलताका लागि अध्ययन मात्रै मुख्य कुरा हो कि अन्य कुनै मापन सब्जेट छ ?
    थुप्रै छ, पहिलो त मिहेनत, अर्को, निरन्तरता, धैर्यता, खानपान, पढ्ने वातावरण, एकाग्रता, पढ्ने, लेख्ने भोक र त्यस्ता वस्तुको सहज उपलब्धता, स्वास्थ्य आदि हुन् ।
    आम विद्यार्थी साथीहरुलाई के भन्न चाहनुहुन्छ ?
    यो पढ्ने लेख्ने बेला हो, समय मिलाएर पढ्नूस्, मेहनत गर्नूस्, समयको बर्बादी नगर्नूस्, इमान्दार र मिहेनती अनि आज्ञाकारी पनि बन्नूस्, दिनैपिच्छे केही न केही सिकिरहनुस् । अझ निश्चित लक्ष्य लिनुस् र त्यो नभेटुन्जेल त्यो प्राप्तिका लागि लागि रहनुस् भन्न चाहन्छु ।

    No description available.
    सरकार र शिक्षासम्बन्धी निकायहरुलाई के भन्नुहुन्छ ?
    सर्वप्रथमतः नेपाल सरकार शिक्षा मन्त्रालयले पैसा नभएर डाक्टर पढ्न नपाएका मिहेनती र जेहेन्दार विद्यार्थीलाई पढ्नबाट बन्चित हुने अवस्थाको अन्त्य होस् । सबैले राम्रो र गुणस्तरीय शिक्षा नेपालमै पढ्न पाउन, पढ्न सक्ने दिमाग भएर पनि पैसाकै कारण डाक्टर पढ्न नपाएर भौंतारिन कोही नपरोस्, सबैले सहज रुपमा डाक्टर पढ्न पाउने वातावरण यहीँ मुलुकमा बनोस्, अर्थात एउटा गरीब विद्यार्थीले पनि उसले चाहेको डाक्टर, इन्जिनियर, पाइलट, कानून वा अन्य रोजेको विषय पढ्न सहजै पाउने नीति सरकारले ल्याओस्, शिक्षा नीति उत्कृष्ट र गरी खाने जनशक्ति उत्पादन गर्ने होस्, धेरैभन्दा धेरै चिकित्सक उत्पादन गर्नका लागि मेडिकल कलेजहरु सञ्चालन हुन्, चिकित्सा शिक्षा अध्ययन गर्ने अवसरको सिर्जना सबैलाई होस् भन्न चाहन्छु ।

    प्रतिकृया दिनुहोस्