News Portal

  • जनता सुखी हुन स्वास्थ्य र शिक्षा निःशुल्क हुनुपर्छ

    २५०० पटक

    डा. दीपक रेग्मी
    नाक, कान, घाँटी रोग विशेषज्ञ केएमसी सिनामंगल काठमाडौं


    डाक्टर दिपक रेग्मी स्वास्थ्य क्षेत्रका एक नक्षेत्र नै हुनुहुन्छ । धादिड. जिल्लामा जन्मिएर नेपाललाई नै कर्म क्षेत्र बनाउनुभएका सरल, शालीन तर बौद्धिक सर्जनको ख्याति कमाउनुभएका उहाँ हाल काठमाडौं मेडिकल कलेज टिचिङ अस्पताल सिनामंगलमा एसोसिएट फ्रोफेसरको रुपमा अध्यापन गराई रहनुभएको छ । नाक, कान, घाँटीका हजारौं रोगीको सफल शल्यकृया गरिसक्नुभएका रेग्मी लामो समयदेखि यो पेसामा क्रियाशील हुनुहुन्छ । विदेशमा समेत गएर सम्बन्धित विषयमा अध्ययन अनुसन्धान गर्नुभएका उहाँ सामान्य परिवारमा जन्मिएर बिना लगानी सरकारी छात्रबृत्तिमा अध्ययन गरी यो उपलब्धि हासिल गर्ने डाक्टरमा पर्नुहुन्छ । २४ घण्टा आफ्नो पेसाप्रति प्रतिबद्ध डा. रेग्मीसँग नाक, कान, घाँटीलगायत अन्य विषयसँग समेत सम्बन्धित रहेर गरिएको कुराकानीको संम्पादित अंश ।


    डाक्टरसा’ब नेपालमा नाक, कान, घाँटी रोगको अबस्था कस्तो छ ?
    पहिले यो रोगका विशेषज्ञहरु नेपालमा धेरै थिएनन् । यो रोगका बारेमा अहिलेको जस्तो जनचेतना पनि थियन । तर, अहिले अवस्था बदलिएको छ, यो रोगको बारेमा जनचेतना पनि बढेको छ, डाक्टरहरु पनि बढेका छन् । नाक, कान, घाँटी रोगको उपचार गरेपछि रोग निको हुन्छ भन्ने जनविश्वास बढेको छ । विरामीले पनि राहत पाइरहेका छन् ।
    यो रोगको कारण र लक्षण के हो ?
    यो रोगका रोगीहरु बच्चादेखि बृद्धसम्म नै हुन्छन् । कतिपयमा यो रोग आमाको पेटमै हुँदादेखि नै हुन्छ । यो रोगमा सानो अवस्थामा इन्फेक्सन हुने बढी सम्भावना हुन्छ भने बढी उमेरका मानिसहरुलाई नाक, कान, घाँटी र थाईराईडको क्यान्सर हुन्छ । यी रोगहरु चुरोट र रक्सी खानेलाई बढी हुने सम्भावना हुन्छ । यो रोगका लक्षण भनेको नाक, कान र घाँटीभित्र डल्लाडल्लीहरु देखिने, आवाज परिवर्तन हुने, घाँटीमा केही अड्किए जस्तो हुने, सास फेर्न समस्या हुने हुन्छ ।
    यो रोगबाट कति मानिसहरु पिडित होलान्, उपचार गर्न कत्तिको खर्चालु छ त ?
    यो रोगबाट नेपालमा यति नै प्रतिशत मानिसहरु पिडित छन् भनेर भन्न सकिने यकिन डाटा त मेरो जानकारीमा छैन । तर अन्य रोग जस्तै यो रोगका विरामी पनि बढिरहेका छन् । जुनसुकै क्यान्सरको उपचार महँगै हुन्छ । तर, पछिल्लो समय सरकारले निम्न आय भएका क्यान्सर र मृगौला रोगीलाई उपचार गर्न एकलाखको बीमा गरिदिएको छ । यसले केही राहत त भएको छ तर यो पर्याप्त छैन, सरकारी अस्पतालमा मात्र छ, यो सबै अस्पतालमा छैन । जसले गर्दा सरकारी अस्पतालमा बढी भिडभाड हुने, ढिलासुस्ति हुने विरामीले छिटो, छरितो सेवा पाउन नसक्ने समस्या छ । त्यसैले यो सहयोग अझ बढाएर सबै अस्पतालमा सरकारले दियो भने सबै विरामीले राहत पाउँछन् । यो गर्नुपर्छ भन्ने सुझाव तपाईंको मार्फत सरकारलाई दिन चाहन्छु ।
    नेपालको शिक्षा र स्वास्थ्य क्षेत्र माफियाको कब्जामा छ भन्छन् नि हो ?
    शिक्षा र स्वास्थ्य सबैलाई आवश्यक पर्ने मुख्य कुरा हो । पैसा हुनेले महँगो स्कुल, कलेज पढ्ने, विदेश गएर उपचार गर्ने र पैसा हुनेले शिक्षा र स्वास्थ्यमा लगानी गर्ने परिपाटी यहाँ छ । यसलाई नराम्रै सोचिहाल्नु हुँदैन । हुनेले लगानी गरेको छ र त नहुनेले रोजगारी पाएको छ, हामी जस्ता डाक्टरले काम पाएका छौं त । अर्को कुरा प्राइभेट अस्पताल पनि त्यति महँगा छैनन्, उपचार गर्न सकिने खालका र कतिपय त सस्ता समेत छन् । यही अस्पतालले टिकटको पैसा लिएको छैन । उपचार पनि सरल र सहज गरेको छ । त्यसैले यो कुरामा त्यति सत्यता छ जस्तो लाग्दैन मलाई । तर स्वास्थ्य र शिक्षा चाहिँ सबै नेपालीले राज्यबाट निःशुल्क पाउनुपर्ने बनाउनु राम्रो हुन्छ । यसमा सरकारको ध्यान जानुपर्छ । किनकि सबै नेपालीले कर तिरेका हुन्छन्, कर तिरेपछि राज्यले सेवा सुविधा पनि दिनुपर्छ । विदेशमा पनि शिक्षा र स्वास्थ्य निःशुल्क छ । त्यही खालको नीति हाम्रो देशमा पनि सरकारले लागु गर्नुपर्छ । मानिसको आम्दानी छैन, रोजगारी छैन, जनसंख्या बढेको बढ्यै छ, सरकारी अस्पताल थोरै छन्, रोग पनि बढेको बढैयै छ । यस्तो अवस्थामा निजी अस्पतालले जनतालाई धेरै राहत पुर्याएका छन् । त्यसैले निजी अस्पताललाई प्रबद्र्धन र प्रमोसन सरकारले गर्नुपर्छ । निजी क्षेत्रले धेरै धानेको छ, निजी क्षेत्रले नधान्ने हो भने नेपालमा शिक्षा र स्वास्थ्यको अवस्था गम्भीर हुन्छ । त्यसैले निजी क्षेत्रले मुलुक प्रति गरेको योगदानलाई नजरअन्दाज गर्नुहुँदैन । बरु नेपाली जनताको करबाट उठेको पैसा जनप्रतिनिधिहरुले स्वास्थ्य उपचारको नाममा विदेश गएर सकेका छन् यो चाहिँ जनता मार्ने र आफु मोज गर्ने कुरा हो । यस्तो काम र सरकारी खर्चमा विदेश गएर उपचार गर्न परिपाटीको अत्य हुनुपर्छ । यसो भएमा व्यवहारमै मुलुक समृद्ध बन्छ, नेपाली सुखी बन्छन् ।
    त्यसो गर्नलाई स्वास्थ्य नीतिमा के परिवर्तन गर्नुपर्छ ?
    नीति त ठीकै छ तर सही कार्यान्वयन भएको देखिँदैन । कार्यान्वयन ठीक ढंगले हुुनुपर्छ । स्वास्थ्य बीमा सबैलाई गराउनुपर्यो, बीमाको रकम बढाएर सबैलाई राहत दिनुपर्छ ।
    डाक्टर पढ्न त कम आयआर्जन भएकाले सक्दैन नि अनि कसरी हुने डाक्टर ?
    हो, नेपालीको लागि सबैभन्दा ठुलो समस्या हो यो । महँगो शुक्ल तिरेर पढ्न नसक्नेले गुणस्तरीय शिक्षा आर्जन गर्न सक्दैन । यस्तो अवस्थामा आर्थिक अवस्था कमजोर भएकाले मेडिकल शिक्षा लिन सक्दैन । यो दुःखद् अवस्था हो । शिक्षा र स्वास्थ्य नाफा कमाउने क्षेत्र होइन, त्यस्तो बनाउन पनि सरकारले दिनुहुँदैन थियो तर व्यापारीसँग मिलेर नेताहरुले आर्थिक लाभ लिने गरेकोले शिक्षा र स्वास्थ्य सरल हुन नसकेको हो । लाखौं तिरेर पढेका डाक्टरहरुलाई पनि आफ्नो लगानी उठाउने प्रेसर हुन्छ नै । कुनै पनि अस्पतालले डाक्टरले यति मेहनत गरेर मेरो अस्पतालमा काम गरेको छ, यसको मूल्याङ्कन मैले गर्नुपर्छ भन्ने परिपाटीको विकास अझै त्यति राम्ररी हुन सकेको छैन । जसले गर्दा आफ्नो परिवार पाल्ने प्रेसर डाक्टरहरुलाई पनि छ । उता अस्पतालमा लगानी गर्नेले पनि महँगा महँगा इक्वीपमेन्ट ल्याएर र ठुलो संख्यामा कर्मचारी राखेर अस्पताल सञ्चालन गरेको हुन्छ । त्यस्तो अवस्थामा लगानिको ब्याज र निश्चित नाफा उठाउनै पर्यो । सरकारले सरकारी अस्पताल बाहेकका अस्पताललाई कुनै राहत दिएको छैन । यस्तो अवस्थामा स्वास्थ्य उपचार र मेडिकल शिक्षा महँगो पर्ने नै भयो । यसको अन्त्य गर्न सरकारले सरकारी अस्पताल जस्तै सबै अस्पतालहरुलाई समान व्यवहार गर्नुपर्छ ।
    यो अस्पतालले दिने सेवा सुविधाहरु केकस्ता छन् त ?
    यो अस्पतालले टिकट निःशुल्क गरेको छ, न्यूनतम मूल्यमा गुणस्तरीय स्वास्थ्य सेवा दिएको छ । विगत लामो समयदेखि सयौंलाई रोजगारी दिएको छ, सबै रोगको उच्च प्रविधि र उच्च इन्स्टुमेन्टको व्यवस्थासहित छिटोछरितो सेवा दिएको छ । मानिसहरुमा यो अस्पतालमा पुर्याएपछि मेरो विरामी सन्चो हुन्छ भन्ने विश्वास जगाउने गरी काम र आफ्ना सेवाहरु विस्तार गरिरहेको छ । हिजोको केएमसी होइन आजको केएमसी, प्रविधि र प्राविधक जनशत्तिको संयोजन गरेर बनेको केएमसीको नाम राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा चिनाएको छ । सरकारले सरकारी अस्पतालाई जस्तै केएमसीलाई पनि सहयोग गरेको अवस्थामा यसले आफ्नो सेवालाई विस्तार गरी अझ गुणात्मक र परिष्कृत बनाउने छ ।
    यो अस्पतालको स्रोत साधन र जनशक्ति कस्तो छ ?
    यो अस्पतालमा सबै कुराको संयोजन छ, स्रोत साधन र जनशक्ति पनि छ तर पर्याप्तता छैन । किनकि नेपालमा मात्र होइन, संसारमा क्यान्सर रोगका विरामीहरु बढ्दो अवस्थामा छन् । यसको उपचार पद्धति पनि महँगो, बाहिरबाट ल्याउनुपर्ने औषधि पनि महँगो, सरकारले केही पनि नदिने सबै आफैंले व्यवस्थापन गर्नुपर्ने भएकाले कतिपय कुराको अपर्याप्तता छ । तर कमजोर अवस्था भने छैन । यो हिजोको केएमसी हैन आजको प्रविधियुक्त केएमसी हो, हाम्रो व्यवस्थापनले त्यो जोश र आशाका साथ काम गरिरहेको छ, सयौंलाई रोजगारी दिएको छ, कर तिरेर मुलुकको अर्थतन्त्रमा पनि उत्तिकै योगदान दिएको छ, देशभरिका विरामी पनि यही विश्वासकासाथ हाम्रो अस्पतालमा उपचार गर्न आइरहनुभएको छ । हामीसँग अनुभवी र प्रविधिमैत्री जनशक्ति छ तर अपर्याप्त नै छ । तर यो पेसातर्फ नेपाली विद्यार्थीहरुको बढी आकर्षण बढेकाले र हाम्रो अस्पताल टिचिङ अस्पताल नै भएकोले जनशक्तिको अभाव त्यति छैन । राम्रो छ, त्यो जनशक्तिले भोलिको सुविधायुक्त र आशालाग्दो केएमसी अस्पताल बन्ने कुरामा म आशावादी छु ।
    आर्थिक रुपले डाक्टर पढ्न कतिको गाह्रो छ ?
    एमबिएस, एमडी र डीएम पढ्न सरकारी अस्पतालमा खर्च लाग्दैन । त्यसैले प्रत्येक नागरिक प्रतिस्पर्धाबाट पढ्न सक्छन् । तर सामान्य अवस्थामा प्राइभेटमा पढ्दा भने अलि महँगै छ, गाह्रै छ । मैले चाहिँ सरकारकै खर्चमा पढेकोले त्यस्तो कुनै समस्या भएन ।
    अस्पतालमा काम गर्ने डाक्टरहरुलाई तलब कम छ, जसले गर्दा अन्य अस्पतालमा गएर काम गर्नुपर्ने, निजी क्लिनिक खोल्नुपर्ने अवस्था छ, सम्मान कम छ भन्छन् नि मानिसहरु हो ?
    हो, सबै अस्पतालमा काम गर्ने डाक्टरहरुको दूरावथा नै छ । चाहे सरकारी होस् वा निजीले दिने सेवा सुविधा होस् त्यो निकै कम नै छ । जहाँसम्म डाक्टरलाई दिइने सम्मानको कुरा छ, त्यो त झन् एकदमै कम छ, त्यो राज्यले बुझ्नुपर्ने कुरा हो, समाजले बुझ्नु पर्ने कुरा हो । हामीले हामीलाई सम्मान भएन सुविधा भएन भन्नु भन्दा पनि आफु र आफ्ना परिवारलाई जोखिममा राखेर सँधै विरामीको हितमा काम गर्ने, जीवन नै जोखिममा परेका मान्छेको जीवन बचाउने काममा आफुलाई समर्पित गरेको डाक्टरलाई यस्तो सेवा, सुविधा र सम्मान दिनुपर्छ भन्ने कुरा सरकार, मेडिकल काउन्सिल, नागरिक समाजलगायत सबैले सोच्नु बुझ्नु पर्ने कुरा हो जस्तो लाग्छ मलाई । किन यो आवश्यक छ भने आर्थिक रुपले डाक्टरलाई कुनै समस्या भएन घरपरिवारको रोजीरोटी टार्न कुनै समस्या भएन भने त्यो डाक्टरले बिना समस्या विरामीको उपचारमा ध्यान दिएर उपचार गर्न सक्छ, आफ्नो विज्ञता बढाउन सक्छ, अध्ययन, अनुसन्धान बढाउन सक्छ, उसको लगायत राज्यको बृत्ति विकासमा पनि सहयोग पुग्छ । त्यतिमात्र होइन, यसले रोगीको उपचारमा छिटो, छरितोपन ल्याई चाँडै रोगीलाई ठीक बनाउने काममा दत्तचित्त भएर लाग्छन् । जुन कामले सबैको कल्याण हुन्छ । नत्र डाक्टर आफ्नो र परिवारको रोजीरोटी जुटाउन विभिन्न ठाउँमा आर्थिक मजुदुरीका लागि धाउनै पर्छ, आर्थिक समस्यामा कुद्ने गर्छ, त्यसले उपचारमा बाधा पुग्नेदेखि राम्रो र गुणस्तरीय सेवामा समस्या आउँछ । अहिले नेपालमा यो समस्या निक्कै जटिल छ । यसतर्फ सम्बन्धित सबैको ध्यान पुग्नुपर्छ ।
    अस्पतालमा सेवा सुविधादेखि तपाईहरुको बृत्ति विकासको कुरा आउँछ नै, आफ्नो सम्मानित पेसालाई बचाउँदै बिरामीको सेवामा निरन्तर लाग्न तपाईहरुलाई केकस्ता चुनौति छन्, त्यो चुनौति हटाउन के गर्नुपर्छ ?
    यो बेलाबखत उठ्ने गरेको विषय हो । हामी सबै स्वास्थ्यसँग सम्बन्धित व्यक्ति हौं । हामी डाक्टरहरुले पाउने सेवा सुविधा र डाक्टरहरुले बिरामीलाई दिने सेवामा तुलाना राम्ररी भएको छैन, अब हुन जरुरी छ । सरकारी र निजी अस्पतालमा फुल टायम सेवा गर्ने तर आफ्ना परिवारको सेवा सुविधा पूर्ति गर्न चाहिँ बिहान राति नै आँखा मिच्दै अर्को निजी अस्पताल र क्लिनिकमा काम गर्न जानुपर्ने बाध्यताबाट डाक्टरहरुले कहिले मुक्ति पाउने ? यसको उत्तर खोई राज्यसँग ? यसको वैज्ञानिक र चित्तबुझ्दो उत्तर नआउन्जेल स्वास्थ्य क्षेत्रका समस्या, डाक्टरको सेवा सुविधा, उसले भोग्नुपरेका समस्या र विरामीले पाउनुपर्ने सेवाका बीच संयोजन हुँदैन । यसमा सरकारको नीतिमै ठुलो ग्याप छ भन्ने मैले ठानेको छु । यही ग्यापले माथिका समस्या पैदा गरेको छ । यसको निकास भनेको सरकारको स्वास्थ्य नीति र कार्यान्वयनमै परिवर्तन हो । हामीसँग विज्ञ स्वास्थ्य जनशक्ति कम छ, किनकि यो क्षेत्रमा लागेका यो क्षेत्रको अध्ययन अनुसन्धान गरेका यो पेसामा बिशिष्ठिकृत ठहरिएको म्यानपावर आज नेपालमा कति छ ? किन नेपालमा नबसेर बाहिरै गैरहेको छ ? यो कुरा सरकारले राम्ररी किन बुझेको छैन ? हाम्रो ठुलो बौद्धिक जनशक्ति र उच्चचेतना बिदेश पलायन भइरहेको छ, यो देश विकासका लागि ठुलो समस्या हो । यसमा सरकारको उचित ध्यान जानुपर्छ । नेपालको यो प्राविधिक जनशक्तिलाई कस्तो सेवा सुविधा दिएर हुन्छ यहीँ राख्ने वातावरण बनाउनुपर्छ । विदेशमा भएको जनशक्ति स्वदेश फर्काउने नीति ल्याउनुपर्छ, दक्ष डाक्टरहरुलाई उनीहरुको माग र आवश्यकता पुरा हुनेगरी सेवा सुविधा दिनुपर्छ ।
    सन्तुष्टि असन्तुष्टि के छ ?
    म बिना लगानी यहाँसम्म आएको डाक्टर हुँ, मैले श्रम गरेँ तर आर्थिक लगानी मेरो परेको छैन, त्यसैले पैसाकै पछि दौडिनुपर्ने अवस्था मलाई छैन । म आफ्नो सन्तुष्टि र समाजको सन्तुष्टिका लागि काम गरिरहेको छु । अर्को म जे छु त्यसैमा सन्तुष्ट हुने डाक्टर हुँ, जोखिममा परेको बिरामीलाई बचाएको छु, पीडामा छटपटाएको विरामीलाई पीडामुक्त बनाएर पठाएको छु, त्यस्ता आम विरामीहरुको आशीर्वाद पाएको छु, यो अस्पतालमार्फत हजारौं विद्यार्थीलाई पढाएर डाक्टर उत्पादनमा योगदान गरेको छ, सेवामा निरन्तर लाग्न पाएको छु, यो अस्पतालले काम गर्ने नाम कमाउने अवसर दिएको छ, अस्पतालका विभिन्न कार्यक्रममा सक्रिय सहभागिता जनाएको छु, योग्यता क्षमता बृद्धि गरिरहेको छु । यिनै कामले सन्तुष्ट छु ।

    प्रतिकृया दिनुहोस्