Skip

News Portal

  • पूर्वप्रधानन्यायाधीश जबरालाई नियन्त्रणमा लिइएको घटनाप्रति सर्वोच्च अदालतको ध्यानाकर्षण

    आर्थीकसंसार संवाददाता१२ असोज, २०८३
    ४८ पटक
    १२ असोज, २०८३

    काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पक्राउ गरी १० घण्टासम्म प्रहरी कार्यालयमा राखिएको विषयमा सर्वोच्च अदालतको पूर्ण बैठकले गम्भीर ध्यानाकर्षण गराएको छ ।

    सोमबार बसेको आकस्मिक पूर्ण बैठकले मध्यरातमा पूर्वप्रधानन्यायाधीश जबरालाई घरमा सुतिरहेको अवस्थामा उठाई नियन्त्रणमा लिइएको घटनाप्रति चासो र ध्यानाकर्षण जनाएको हो ।

    असोज १० गते राति सुरक्षा थ्रेटको कारण देखाउँदै अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएर १० घण्टापछि मात्र परिवारको जिम्मा लगाएको थियो ।

    बैठकपछि सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाद्वारा जारी विज्ञप्ति अनुसार प्रत्येक नेपाली नागरिकको वैयक्तिक स्वतन्त्रता र सम्मानपूर्वक बाँच्न पाउने मौलिक हकको संरक्षणका लागि कानुनले तोकेको उचित प्रक्रिया अपनाएर मात्र कसैलाई नियन्त्रणमा लिन सकिने स्पष्ट पारिएको छ ।

    कानुनको उचित प्रक्रिया पूरा नगरी गरिने कामकारबाहीमा स्वेच्छाचारिता रहने र यस्ता कदमलाई लोकतान्त्रिक शासन प्रणालीले स्वीकार गर्न नसक्ने पूर्ण बैठकले ठहर गरेको छ ।

    साथै, न्यायिक जनशक्तिप्रति राज्यका निकायहरूले गर्ने व्यवहार सदैव संवेदनशील र गम्भीर हुनुपर्नेमा फुलकोर्टले जोड दिएको छ ।

    प्रतिकृया दिनुहोस्