१२ असोज, २०८३काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफू र आफ्नो परिवारको शान्ति सुरक्षामा गम्भीर चुनौती महसुस भएको भन्दै थप सुरक्षा व्यवस्थाको माग गरेका छन् ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा निवेदन दिँदै उनले थप सुरक्षाको माग गरेका हुन् । पछिल्लो समय देशको अवस्था, सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा आएका शान्ति सुरक्षासँग सम्बन्धित विषयका कारण आफूले निवेदन दिएको बताएका छन् ।
राणाले निवेदनमा परिवारको सुरक्षाप्रति थप चिन्ता उत्पन्न भएको उल्लेख गरेका छन् । उनले विगतमा राज्यका विभिन्न अंगमा निर्वाह गरेको जिम्मेवारी तथा न्यायपालिकाको प्रमुखको हैसियतमा सम्पादन गरेको बताएका छन् । न्यायिक निर्णयका कारण समेत आफूलाई थप असुरक्षाको महसुस भएको बताएका छन् ।
‘हालका मितिमा कार्यालयमा आइसकेपछि पनि कतिपय कुराबारे जानकारी पाएँ,’ उनले दिएको निवेदनमा उल्लेख छ, ‘ यस कारण मलाई थप सुरक्षा थप गरी पाउन यो निवेदन पेश गरेको छु।’
आफ्नो सम्पूर्ण विवरण राज्यका सुरक्षा निकायलाई जानकारी नै रहेको उल्लेख गर्दै उनले आफ्नो निवास, परिवार तथा जिउज्यानको सुरक्षामा राज्यको सम्पूर्ण ध्यान पुग्नुपर्ने माग गरेका छन् ।
उनले सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राखी आवश्यक शान्ति सुरक्षाको व्यवस्था मिलाइदिन सम्बन्धित निकायसँग आग्रह गरेका छन्।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता गोविन्द थपलियाले पूर्व प्रधानान्याधिश चोलेन्द्र शमशेर जबराले सुरक्षा माग गरेको निवेदन प्राप्त भएको जानकारी दिए ।
कार्यालयबाट थप सुरक्षाको प्रबन्ध मिलाइएको र सुरक्षा निगरानीसमेत बढाएको उनले बताए । ‘ सुरक्षा माग गरेको निवेदन हिजो प्राप्त भएको छ,’ उनले विकासन्युजसँग भने ।
शनिवार राती उनलाई घरबाट प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले जेनजीबाट सुरक्षाको थ्रेट रहेको भन्दै प्रहरीले घरबाट नियन्त्रणमा लिएको थियो ।
आइतबार प्रहरीले जबरालाई घरमा पुर्याएर परिवारको जिम्मा लगाएको थियो । प्रहरीले उनको सुरक्षार्थका लागि बाँसबारीस्थित निवासमा थप सुरक्षाको व्यवस्था गरेको थियो ।




