आर्थीकसंसार संवाददाता११ असोज, २०८३
११ असोज, २०८३काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई भेट्न प्रहरीले अनुमति नदिएपछि राष्ट्रिय मानव अधिकार आयोगको टोली फर्किएको छ ।
आयोगको टोली अपराध अनुसन्धान कार्यालय टेकुको गेटमा करिब ४५ मिनेटसम्म प्रतीक्षा गरे पनि जबरालाई भेट्न नदिइएपछि फर्किएको हो ।
अपराध अनुसन्धान कार्यालयको टोलीले गएराति महाराजगञ्जस्थित निवासबाट जबरालाई नियन्त्रणमा लिएर टेकु ल्याएको थियो । उहाँलाई अहिले एसएसपी सन्तोष खड्काको कार्यकक्षमा राखिएको छ ।
प्रहरीले जबरालाई सुरक्षा थ्रेट रहेको जानकारी पाएपछि रातारात कार्यालयमा ल्याएर राख्नुपरेको जनाएको छ ।
यद्यपि, कानुनका जानकारहरूले पक्राउको प्रक्रिया र प्रहरीको शैलीबारे प्रश्न उठाएका छन् । जबरालाई नियन्त्रणमा लिनुअघि पक्राउ पुर्जी लिइएको वा अन्य कानुनी प्रक्रिया पूरा गरिएको विषयमा समेत प्रश्न उठेको छ ।




