News Portal

  • एम्बिसन्स एन्ड डेभलपमेन्ट एशियन अवार्डबाट नबिल बैंक सम्मानित

    आर्थीकसंसार संवाददाता१३ भदौ, २०८०
    १४८ पटक
    १३ भदौ, २०८०

    काठमाडौं । नबिल बैंकले कम्बोडियाको सिम रीपमा आयोजित टक्स एसिया २०२३ मा ‘एम्बिसन्स एण्ड डेभलपमेन्ट फर कन्सिस्टेन्ट ग्रोथ एण्ड इन्ट्रोडक्सन अफ न्यू सर्भिसेस्’ अवार्ड पाएको छ । कम्पास प्लस टेक्नोलोजीले नबिल बैंकलाई बंैकिङ क्षेत्रमा नवीनतम प्रविधिको प्रयोग तथा निरन्तर अपग्रेड गरेवापत पुरस्कृत गरेको हो ।

    भदौ १ मा भएको कार्यक्रममा कम्पास प्लस टेक्नोलोजीका पूर्वी संयुक्त क्षेत्रीय निर्देशनालयका प्रवन्ध निर्देशक सर्गेइ पुटेनिखिनले नबिल बैंकका प्रमुख अपरेटिङ अफिसर गणेशप्रसाद अवस्थीलाई उक्त अवार्ड प्रदान गरेका हुन् । कार्यक्रममा बंगलादेश, कम्बोडिया, मलेसिया, भारत लगायत विभिन्न देशका अन्तर्राष्ट्रिय प्रतिनिधिहरूले सहभागिता जनाएका थिए ।

    नेपालमा ल्याएको विभिन्न नवीनतम डिजिटल बैंकिङ सेवाहरूका लागि यो प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड पाउनु हाम्रो लागि गौरवको कुरा भएको नबिल बैैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले बताए । उनले भने ‘यस अवार्डले बैंकलाई हौसला मिलेको छ भने नेपालमा अन्तर्राष्ट्रिय डिजिटल बैंकिङ सेवाहरू ल्याएर काम गर्ने थप प्रेरणा मिलेको छ । यो सम्मानले डिजिटल बैंकिङमा ग्राहकहरूको अनुभवलाई सहज बनाउन थप काम गर्न प्रोत्साहित गरेको छ ।’

    नबिल बैंकले नेपालमा पहिलो पटक कम्प्युटराइज्ड बैंकिङ प्रणाली भित्र्याएको थियो । नबिलले ३९ वर्षको यात्रामा बैंकिङ क्षेत्रमा नवीन तथा नयाँ प्रविधिहरू निरन्तर रूपमा भित्र्याउँदै आएको पनि बताएको छ ।

    नबिलले एनएफसी डुअल इन्टरफेस कन्ट्याक्टलेस कार्डहरू, कन्ट्याक्सलेस इनबेल्ड पीओएस टर्मिनल्स, देशमा ई–कमर्स कारोबार सहज बनाउनेसहितको काम गरेको छ । यसले पेमेन्ट गेटवे लागू गर्ने, पहिलो पटक क्यास रिसायक्लर मेसिन बजारमा ल्याउने, ग्रीन पिन र कार्डलेस विथड्र सर्भिस, मोबाइल बैंकिङ एपमा कार्ड फिचरसहितको सुविधा पनि दिइरहेको छ । नबिलले भर्चुअल कार्डको कार्यान्वयन र नेपालमा पहिलो पटक सिधै कार्डमा लोड गर्ने मोबाइल बैंकिङ सेवा जस्ता नवीनतम प्रविधिमार्फत बैंकिङ सेवा समेत दिइरहेको छ ।

    नबिलले १८ लाख भन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २ सय ६५ शाखा र २ सय ९८ एटिएम मेसिनहरूबाट सेवा प्रदान गर्दै आएको छ । नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुङ्गाको रूपमा काम गर्दै आएको दाबी पनि बैंकले गरेको छ ।

    प्रतिकृया दिनुहोस्