News Portal

  • असार २९ देखि एकीकृत कारोबार गर्दै लक्ष्मी सनराइज बैंक, २ दिन बैंक बन्द

    आर्थीकसंसार संवाददाता२६ असार, २०८०
    १७३ पटक
    २६ असार, २०८०

    काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंकको एकीकृत कारोबारको मिति असार २९ गतेका लागि तय भएको छ । दुई बैंकबीच असार २९ गतेदेखि लक्ष्मी सनराइज बैंकको नामबाट एकीकृत कारोबार हुने जनाएको छ ।
    यसअघि मर्जरपछि बन्ने बैंकको कारोबार असार २४ गतेका लागि तोकिएको थियो । उक्त अवधिमा कर तिर्नका लागि बैंक बन्द नगर्नु पर्ने भएकाले असार २८ गतेदेखि एकीकृत कारोबार गर्ने भनेका थिए । पुनः सो समय पनि परिवर्तन गरेर असार २९ गतेका लागि समय निर्धारण गरिएको बैंकले जनाएको छ ।
    एकीकृत कारोबार प्रयोजनका लागि दुवै बैंकको डाटा माइग्रेसनको काम गर्नु पर्ने भएकाले असार २७ गते र २८ गते दुई दिन दुवै बैंकको सम्पूर्ण सेवा बन्द रहनेछन् ।
    राष्ट्र बैंकले अन्तिम स्वीकृति प्रदान गरेसँगै एकीकृत कारोबारका लागि बाटो खुला भएको हो । लक्ष्मी बैंकका सीईओ अजयबहादुर शाह मर्जरपश्चात् बन्ने बैंकको सीईओ नियुक्त हुने छन् ।
    मर्जरपश्चात् पहिलो साधारणसभासम्मको लागि लक्ष्मी बैंकबाट ४ जना र सनराइज बैंकबाट ३ जना गरी ७ सदस्यीय सञ्चालक समिति बन्नेछ । लक्ष्मी बैंकबाट हालका अध्यक्ष रमण नेपाल, सञ्चालकहरु डा। मनीष थापा, स्वाती रुङ्गटा र विद्या बस्नेत सञ्चालक बन्ने छन् । तर, सञ्चालक दिनेश पौड्याल भने बाहिरिने छन् । मर्जरपश्चात् बस्ने पहिलो बैठकले बैंकको अध्यक्षमा रमण नेपाललाई चयन गर्नेछ ।
    यस्तै, सनराइज बैंकबाट इन्जिनियर बच्छराज तातेड र मालचन्द दुगड सञ्चालक बन्ने छन् । सनराइज बैंकबाट हालका अध्यक्ष मोतिलाल दुगडलाई सञ्चालक पदका लागि सिफारिस भएपनि उनी सञ्चालक बन्न पाउने छैनन् । तर, मर्जरपछि बस्ने पहिलो बैठकमा भने दुगड उपस्थित हुनेछन् । त्यसपछि उनको सट्टा अन्य ब्यक्तिलाई सञ्चालक पदमा पठाउने कि रिक्त राख्ने भन्ने बैठकले निर्णय गर्नेछ । यदि अन्य ब्क्तिलाई सञ्चालक बनाएमा इन्जिनियर शैलेन्द्र गुरागाईं, शारदा शर्मा र दिपक नेपालमध्ये एक जना सञ्चालक बन्ने छन् ।
    दुबै बैंकको गत असार ३ गते सम्पन्न साधारणसभाले मर्जरमा जाने विशेष प्रस्ताव पारित गरिसकेका छन् । दुवै बैंकबीच मर्जरमा जानका लागि गत जेठ ७ गते अन्तिम सम्झौता भएको थियो । लक्ष्मी बैंकका अध्यक्ष रमण नेपाल र सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडले गत पुस २५ गते मर्जरका लागि प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका थिए ।

    प्रतिकृया दिनुहोस्