News Portal

  • नबिल एसएसईको फेलोसिप कार्यक्रम सम्पन्न, उद्यम गर्ने र उद्योगी बन्नेलाई सहयोग गरिने

    आर्थीकसंसार संवाददाता२४ पुस, २०७९
    ३२४ पटक
    २४ पुस, २०७९

    काठमाडौं । नबिल बैंकले एसएसईको पहिलो चरणको फेलोसिप कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।
    बैंकले अघि बढाएको सामाजिक उद्यमशीलता कार्यक्रममा सहभागीलाई प्रमाणपत्रसहित बिदाइ गरेर पहिलो चरणको कार्यक्रम समापन गरिएको हो ।
    बैंकले शुक्रबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा एक कार्यक्रमको आयोजना गर्दै फेलोसिप कार्यक्रममा सहभागी भएका पहिलो ब्याचका १८ जनालाई बिदाइ गरेको हो । सोही अवसरमा बैंकले उक्त कार्यक्रमको दोस्रो ब्याचका लागि छनौट भएका २० जनालाई पनि स्वागत गरेको छ ।
    बैंकले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत स्कुल अफ म्यानेजमेन्टसँगको सहकार्य र स्कुल फोर सोसल आन्टरप्रेनर्स इन्डियाको प्राविधिक सहयोगमा समाजमा उद्यमशीलताका माध्यमबाट सामाजिक समस्याको दीर्घकालीन समाधान गर्ने उद्देश्यको साथ गत वर्षदेखि यो कार्यक्रम सञ्चलनमा ल्याएको हो ।
    यो कार्यक्रमले १८ देखि ५० वर्षभित्रका इच्छुक व्यक्तिलाई उद्यमको सुरुआत गर्न सक्षम बनाउने लक्ष्य राखेको छ । सोहीअनुसार बैंकले पहिलो ब्याचमा विभिन्न क्षेत्रमा नवीनतम सोच भएका २० जनालाई छनौट गरेको थियो । तर, १८ जनाले मात्रै उक्त कार्यक्रमलाई पूर्णता दिएका थिए । जसमध्ये १३ जनाले आफ्नो व्यवसायलाई सञ्चालन गरी सेवा र सामाग्री बजारमा प्रवेश गरिसकेका छन् ।
    कार्यक्रममा नबिल बैंकका डेपुटी सिईओ मनोज ज्ञवालीले सहभागीहरूको प्रडक्ट र सेवाहरू देख्दा धेरै खुसी लागेको बताए । बैंकको उद्यमी बनाउने उद्देश्यमा १८ जना सहभागीहरूले उद्यमशीलताको दियोको रूपमा काम गर्ने उनले बताए । ‘यो नै नबिलले समाजमा ल्याएको सकारात्मक परिवर्तनको सुरुवात हो,’ उनले भने ।
    त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका प्राडा डिन डिल्लीराज शर्माले नबिल एसएसईमा सहभागीहरु समाज परिवर्तनका एजेन्ट रहेको बताए ।
    सोही अवसरमा दोस्रो चरणको फेलोसिप कार्यक्रम सञ्चालनका लागि नबिल बैंक र त्रिवी बिच फेरि सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकका तर्फबाट सिइओ ज्ञानेन्द्र ढुंगाना र उपाध्यक्ष निर्वाण चौधरी तथा त्रिवीका तर्फबाट उपकुलपति प्राडा धर्मकान्त बास्कोटा र प्राडा. डिन डिल्लीराज शर्माले हस्ताक्षर गरेका छन् ।
    कार्यक्रममा बैंकका उपाध्यक्ष चौधरीले नबिल बैंक उद्यम र उद्यमी बन्न चाहनेहरुको लागि सहयोग गर्न तत्पर रहेको बताए । उनले भने, ‘उद्यमी बन्न सजिलो त छैन तर नबिलले तपाइँहरुलाई उद्यम बन्न हरेक तवरले सहयोग गर्नेछ ।’

    प्रतिकृया दिनुहोस्