News Portal

  • जनताको सुरक्षा हाम्रो जिम्मेवारी भनेर काम गरिरहेका छौं

    २०४० पटक

    सोम मिश्र
    नगर प्रमुखः चाँगुनारायण नगरपालिका, भत्तपुर

    (नेपालको कम्युनिष्ट आन्दोलनमा लामो समय भूमिगत राजनीति गर्नुभएका सोमप्रसाद मिश्र जनताका कुशल नेता र अब्बल राजनीतिज्ञ हुनुुहुन्छ । उहाँ राजनीतिमा मात्र होइन, शिक्षा र समाज सेवामा समेत उत्तिकै परिचित व्यक्तित्व हुनुहुन्छ । चाँगुनारायण नगरपालिकाका नगरपिताको रुपमा काम गरिरहनुभएको मिश्र कोरोनाबाट सबै सचेत हुनुपर्नेमा जोड दिनुहुन्छ । कृषि, पर्यटन र शिक्षाबाट मुलुकलाई समृद्ध बनाउन सकिन्छ भन्ने आत्मविश्वासका साथ चाँगुनारायण नगरपालिकामा महत्वपूर्ण योगदान दिइरहनुभएका उहाँसँग अहिलेको सन्दर्भ र नगरको विकासका बारेमा आर्थिक संसार डटकमका लागि टीबी विरहीले गर्नुभएको कुराकानीको सम्पादित अंशः)
    मेयरसा’ब कोरोना कहरमा चाँगुनारायण नगरपालिकाले कसरी काम गर्दैछ ?
    सरकारले बनाएको कोरोना संकट नियन्त्रण व्यवस्थापन टिम सीसीएमसीले जारी गरेको निर्देशिका, स्वास्थ्य मन्त्रालयको प्रोटोकल र विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार माक्स लगाउने, सामाजिक दुरी कायम गरेर काम गर्ने र सेनिटाइजरको प्रयोग नियमित गर्दै पालो गरेर एकतिहाई कर्मचारीबाट भिडभाड नहुनेगरीकन काम गरिरहेका छौं ।
    कस्ता–कस्ता काम गर्दै हुनुहुन्छ त ?
    विकास निर्माणका काम अहिले रोकिएका छन्, ती भएका छैनन् त्यसबाहेक हामीले महामारीमा जेजे गर्नुपर्ने थियो ती सबै गरेका छौं अर्थात हामीले क्वारेन्टाइन, आइसोलेसन र अस्पताल बनाउने, असहाय नगरबासी जनतालाई राहत बाँड्ने, कोरोना संक्रमणबाट सुरक्षित रहन प्रचारप्रसार गर्ने, पीसीआर परीक्षण गर्ने, पोजेटिभ रिपोर्ट आएकाहरुलाई आइसोलेसन र अस्पतालमा राखेर सुरक्षित रुपले उपचार गर्नेदेखि सुरक्षित बस्ने सन्दर्भमा जनचेतना फैलाउनेलगायत कोरोना सुरक्षा सतर्कता र न्यूनीकरणकै काममा व्यस्त रहेका छौं ।
    कति संक्रमित देखिएका छन्, कतिलाई उपचार गरिरहनुभएको छ ?
    अहिलेसम्म ९७ जनामा कोरोना संक्रमण देखिएको छ । यहाँका स्थानीय चाहिँ ५४, ५५ को हाराहारीमा होलान बाँकी चाहिँ यहाँ सशस्त्र प्रहरीको ब्यारेक छ, त्यहाँ उनीहरुलाई ठूलो संख्यामा भेटियो । उनीहरु चाँगुनारायणमा भएको हिसाबले ठेगाना चाँगुनारायण लेखे, जसले गर्दा यहाँको भन्ने भयो तर उनीहरु केही समय अगाडि बोर्डरको सुरक्षामा तराई गएका रहेछन् । उतै उनीहरु सबै संक्रमित बनेर आएका रहेछन् । ती सबैलाई भेट्यो । त्यसलाई नगन्दा त यहाँ खासै धेरै संक्रमित छैनन् ।
    यो बेला जनताको माग केको छ ?
    जनताको माग दुई खालको छ । एक खालकाले यो संक्रमणबाट जोगिन निषेधाज्ञालाई कडाईका रुपमा लानुपर्छ, जथाभावी गर्न, हिँड्न, डुल्न दिनु भएन त्यस्ताले सबैलाई संक्रमित बनाउँछन् भन्ने छ भने अर्को खालकाले यस्तो कडाई गर्न भएन, पूरै खोल्नुपर्यो, गरीखान सहज बनाउनुपर्यो, हामीलाई गरीखान दिनुपर्यो, राहत दिनुपर्यो यसरी थुनेर राख्नुभएन भन्ने छ । खासगरी कन्ट्याक्ट ट्रेसिङको दर बढाउनु पर्यो, बढी भन्दा बढी मानिसलाई कोरोना परीक्षण गर्नुपर्यो भन्ने नै छ ।

    “हामीले स्वास्थ्य मन्त्रालयले दिएको स्वास्थ्य प्रोटोकल अपनाउन, माक्स, सेनिटाइजरको प्रयोग गर्न र सामाजिक दूरी कायम गर्न सबै नगरबासीमा सूचित गरिरहेका छौं । सीसीएमसीको निर्देशिका पालना गर्न लगाएका छौं । हाम्रो नगरमा त्यस्तो ठूलो संक्रमण फैलिएको पनि छैन । अहिले भएका संक्रमित पनि काठमाडौंमा प्रसाशनिक, स्वास्थ्य र बैंकिङ क्षेत्रमा काम गर्ने, अस्पतालहरुमा कुरुवा बस्ने र उहाँहरुका परिवारमा संक्रमण देखिएको छ । त्यसकारण हामीले उहाँहरुलाई भरसक काठमाडौं नजानुस् भन्ने गरेका छौं ।”


    संक्रमण थप नफैलियोस् भन्न खातिर कस्तो योजनाकासाथ काम गरिरहनुभएको छ ?
    हामीले स्वास्थ्य मन्त्रालयले दिएको स्वास्थ्य प्रोटोकल अपनाउन, माक्स, सेनिटाइजरको प्रयोग गर्न र सामाजिक दूरी कायम गर्न सबै नगरबासीमा सूचित गरिरहेका छौं । सीसीएमसीको निर्देशिका पालना गर्न लगाएका छौं । हाम्रो नगरमा त्यस्तो ठूलो संक्रमण फैलिएको पनि छैन । अहिले भएका संक्रमित पनि काठमाडौंमा प्रसाशनिक, स्वास्थ्य र बैंकिङ क्षेत्रमा काम गर्ने, अस्पतालहरुमा कुरुवा बस्ने र उहाँहरुका परिवारमा संक्रमण देखिएको छ । त्यसकारण हामीले उहाँहरुलाई भरसक काठमाडौं नजानुस् भन्ने गरेका छौं । यसबाहेक कोरोनाबाट बच्न सुरक्षा सतर्कता अपनाउन प्रचारप्रसारमा बढी ध्यान दिइरहेका छौं ।
    बजेट ल्याइसक्नुभयो केलाई बढी प्राथमिकतामा राखेर योजना बनाएको छ त ?
    सधैंभरी हामीले भौतिक निर्माणलाई बढी प्राथमिकतामा राखेर बजेट छुट्याउने काम गर्दथ्यौं, यसपाला भने कोभिड–१९ का कारणले स्वास्थ्य, शिक्षा, कृषि र रोजगारीमा बढी ध्यान दिएर काम गरेका छौं, त्यसैमा बढी बजेट छुट्याएका छौं । हुन त हामीले पूर्वाधार निर्माणमा पनि बजेट छुट्याएका छौं तर गत वर्षको तुलनामा कम छ । सदाभन्दा बेग्लै ढंगले नयाँ योजनाकासाथ बजेटको बिन्यास गरेर पूर्ववर्ती योजनामा मोडिफाई गर्दै अगाडि बढ्ने काम गरिरहेका छौं ।

    “हामीले यसपालीदेखि कृषि, पर्यटन र उद्योगमा काम गर्ने बेरोजगारहरुलाई रोजगार दिन भनेर मेयरसँग उद्यमशीलता कार्यक्रम’ कार्यान्वनमा ल्याएका छौं । उत्त कार्यक्रम नगरपालिकाले तत्कालका रु. तीन करोड बैंकमा जम्मा गरेर उक्त कार्यक्रमबाट युवाले लिएको ऋणको ब्याज नगरपालिकाले व्यहोर्ने र युवालाई बैंकले बिना धितो ऋण दिने व्यवस्था गरेको छ, जुन कार्यक्रम स्थानीय तहमा नेपालकै पहिलो हो । यो ऋण हामीले सिधै दिने होइन, नेपाल बैक लिमिटेडमा ग्यारेन्टी बसिदिने र त्यो रकमको ब्याज नगरपालिकाले तिरीदिने उनीहरुले पाँच वर्षभित्र किस्ताबन्दीमा सावा तिर्ने हो । यो कार्यक्रमअन्तर्गत यसवर्ष ९०० युवालाई निब्र्याजी ऋण प्रवाह गरेर उद्यमशील बनाउने योजना छ । त्यसैगरी अर्को हामीले बचत खाता छोरीको सुरक्षा जीबनभरीको कार्यक्रम पनि कार्यान्वयनमा ल्याएका छौं । यसमा चाँगुनारायण नगरपालिका भित्र बसोबास गरेर सामुदायिक बिद्यालयमा अध्ययन गर्ने सबै छोरीहरुका लागि नेपाल बैंक लिमिटेडमा व्यक्तिगत खाता खोलिदिने छ । छात्रालाई बैंकले निःशुल्क खाता खोलेर रु १०० खातामा जम्मा गरिदिने छ ।”


    यो बजेटमा नयाँ चाहिँ काम के–के गर्दै हुनुहुन्छ नि ?
    हामीले यसपालीदेखि कृषि, पर्यटन र उद्योगमा काम गर्ने बेरोजगारहरुलाई रोजगार दिन भनेर मेयरसँग उद्यमशीलता कार्यक्रम’ कार्यान्वनमा ल्याएका छौं । उत्त कार्यक्रम नगरपालिकाले तत्कालका रु. तीन करोड बैंकमा जम्मा गरेर उक्त कार्यक्रमबाट युवाले लिएको ऋणको ब्याज नगरपालिकाले व्यहोर्ने र युवालाई बैंकले बिना धितो ऋण दिने व्यवस्था गरेको छ, जुन कार्यक्रम स्थानीय तहमा नेपालकै पहिलो हो । यो ऋण हामीले सिधै दिने होइन, नेपाल बैक लिमिटेडमा ग्यारेन्टी बसिदिने र त्यो रकमको ब्याज नगरपालिकाले तिरीदिने उनीहरुले पाँच वर्षभित्र किस्ताबन्दीमा सावा तिर्ने हो । यो कार्यक्रमअन्तर्गत यसवर्ष ९०० युवालाई निब्र्याजी ऋण प्रवाह गरेर उद्यमशील बनाउने योजना छ । त्यसैगरी अर्को हामीले बचत खाता छोरीको सुरक्षा जीबनभरीको कार्यक्रम पनि कार्यान्वयनमा ल्याएका छौं । यसमा चाँगुनारायण नगरपालिका भित्र बसोबास गरेर सामुदायिक बिद्यालयमा अध्ययन गर्ने सबै छोरीहरुका लागि नेपाल बैंक लिमिटेडमा व्यक्तिगत खाता खोलिदिने छ । छात्रालाई बैंकले निःशुल्क खाता खोलेर रु‍ १०० खातामा जम्मा गरिदिने छ । त्यो खातामा हामी प्रत्येक वर्ष हजार, दुईहजार कतिका दरले हुन्छ १२ कक्षासम्म थप्दै जानेछौं । त्यो पैसा ती छोरीले १२ कक्षा उत्तीर्ण गरेपछि एकमुष्ठ झिक्न सक्नेछन् । त्यसले सबै छोरीहरुलाई पढाइको दायरामा ल्याउने, बिचैमा विद्यालय छोड्न नदिने र शिक्षित बन्ने मात्र होइन, बाल विवाहसमेत यसले रोक्ने हाम्रो योजना सफल बनाउनेछ भने त्यो पैसा झिकेर उनले कुनै व्यापार व्यवसाय गर्न वा उच्च अध्ययनका लागि खर्च गर्नसमेत सक्ने छिन् । जसले गर्दा ऊ आफैं पनि रोजगार बन्न सक्नेछन् । जुन कामलाई हामीले महत्वकासाथ लिएका छौं । त्यसैगरी हामीले सबै नगरबासीहरुको १ लाख बराबरको स्वास्थ्य बीमा यसवर्ष गर्दैछौं । किनकि पैसा सधैं नहुन सक्छ । यस्तो बेलामा त्यो बीमाको पैसाले मानिसहरुले स्वास्थ्य उपचार पाउन सक्नेछन् । त्यसका लागि स्वास्थ्य बीमा गर्दा लाग्ने पैसाको आधा रकम हामीले यसैपटक हालेर बढीभन्दा बढी नगरबासीको बीमा गर्दैछौं । त्यसैगरी अर्को महत्वपूर्ण कार्यक्रमको रुपमा सामुदायिक बन उपभोग योजना हामीले अगाडि बढाएका छौं । पहिलेदेखि भन्दै आएको ‘हरियो बन, नेपालको धन’ भन्ने उत्तिलाई सार्थक बनाउन नगरबासीहरुलाई बन उपभोक्ता समूहमा विभाजन गरेर त्यो बन क्षेत्रमा के उत्पादन हुन्छ, जडीबुटी, फलफूल, पशुपालन, कृषि के उत्पादन हुनसक्छ हेरेर त्यसको उत्पादन गरी त्यहाँबाट आम्दानी गरेको कुरा ५ प्रतिशत उपभोक्ता समितिलाई र १० प्रतिशत नगरपालिकालाई तिरी लाभ लिन सकिने गरी निश्चित बन क्षेत्र उपभोग गर्ने गरी व्यक्तिलाई दिने योजना हामीले बनाएर काम गर्दैछौं । त्यसमा हामीले थुप्रै बन उपभोक्ता समितिहरुसँग सम्झौतासमेत गरेका छौं भने त्यसका लागि करोडौं मूल्यका जग्गाहरु हामीले किनेका पनि छौं । त्यसैगरी शिक्षा, स्वास्थ्य, पर्यटन, सडकसँग सम्बन्धित थुप्रै नयाँ कामहरु हामीले गरिरहेका छौं । त्यसैगरी दुईवटा स्वास्थ्य चौकी निर्माण यसैपाली गर्छौं भने एउटा नगर अस्पताल निर्माण गर्नेछौं ।
    अहिले संकटमा रहेको शिक्षा र प्रदेश सरकारले बढी जोड दिएको कृषिमा कसरी काम गर्ने योजना बनाउनुभएको छ त ?
    साउन ७ गतेदेखि सरकारले लकडाउन खोलेपछि हामीले हाम्रा स्वयंसेवकमार्फत शिक्षक र विद्यार्थीका घरघरमा गएर १० जना विद्यार्थीको टोली बनाएर विद्यालयमा बोलाउने र अध्यापन गराउनेदेखि अनलाइन कक्षाका सन्दर्भमा समेत छलफल भइरहेको थियो तर पछिल्लो समय निषेधाज्ञा जारी भयो त्यसपछि ती काम पनि ठप्प नै छन् । यो नगरपालिकामा अनलाइन कक्षा सञ्चालनमा अलिकति समस्या देखिन्छ । यहाँका सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीहरु बाहिर रोल्पा, रुकुम, जाजरकोट, रामेछाप, सिन्धुलीलगायत राजधानी बाहिरका यहाँ काम गर्न आउने, काम गर्दै छोराछोरी यहाँ पढाउने निम्न स्तरका जनता बढी भएका हुनाले त्यस्ता ठाउँमा भर्चुअल कक्षा सञ्चालन गर्न स्रोत साधन र प्रविधि दुवै हिसाबले निक्कै कठिन देखिन्छ । जसले गर्दा त्यो प्रभावकारी नहुने देखिरहेको छ । बाँकी निजी विद्यालयमा भने यो समस्या कम देखिन्छ । तैपनि यसमा जति सम्भव हुन्छ, फोनबाट, फेसबुकबाट, इन्टरनेटको माध्यमबाट वा नजिक हुनेलाई थोरैथोरै रुपमा विद्यालयमा जम्मा गरेर जसरी हुन्छ, विद्यार्थीको पठाई सुचारु गरौं भनेर त्यो पनि प्रयास हामीले गरिरहेका छौं । यसतर्फ सरकारले पनि ध्यान दिन खोजिरहेको छ । त्यसैले यसमा एउटा निकास आउँछ भन्ने मलाई लागेको छ । त्यसैगरी कृषिमा हामीले यसपाला सामूहिक रुपमा कृषि बजार बनाउँदैछौं । जसमा उत्पादन संकलन बजार र बिक्री बजारको रुपमा सबै वडालाई समेटेर सबैको स्वामित्वमा हुनेगरी नयाँ बजारको व्यवस्थापन गर्दैछौं । यो हाम्रो नयाँ काम हो । यसले कृषकलाई ठूलो काम गर्नेछ । हामीले के देखियौं भने कृषकले उत्पादन गरेको वस्तु संकलन हुन र बिक्री हुन नपाउँदा त्यसैखेर जाने, सस्तो मूल्यमा बिक्री गर्नुपर्ने त्यसले कृषकको लागतसमेत नउठ्ने अवस्थाले कृषकमा निरासा बढेको, कृषि क्षेत्रमा मानिसहरुको आकर्षण कम हुन गएको देखियो । त्यतिमात्र होइन, त्यसो हुँदा भारतीय उत्पादनले यहाँ बजार लिने, हाम्रो उत्पादन त्यसै कुहिएर खेर जाने अवस्था भयो । त्यसलाई रोक्न वडावडामै कृषकले उत्पादन गरेका वस्तुको संकलन गर्ने र बजारमा सहज ल्याउने काममा हामी जुटेका छौं भने अर्गानिक उत्पादनको क्षेत्र नै चाँगुनारायण नगरपालिकालाई बनाउँ भनेर पनि काम गरिरहेका छौं । त्यसैगरी कृषि कर्ममा लागेका युवाहरुलाई खासगरी कोभिडका कारणले विदेशमा रोजगारी गुमाएर नेपाल फर्केका युवा र बेरोजगार वर्गका युवा किसानहरुलाई लक्षित गरेर केही गरुन् भनेर हामीले ५ वर्षसम्ममा किस्ताबन्दीले तिर्ने गरी सरल ब्याजमा ३ लाखसम्म ऋण दिने काम गरिरहेका छौं । यसबाहेक कृषि र पर्यटनलाई सँगै जोडेरसमेत हामीले केही कार्यक्रमहरु ल्याइरहेका छौं । जुन काममा प्रदेश सरकारले समेत सहयोग गरिरहेको छ ।

    “हामी हाम्रो सबै शक्ति कोरोना संक्रमण नियन्त्रण र जनताको सुरक्षामा लगाइरहेको हुनाले हाम्रो ध्यान विकास निर्माणमा भन्दा कोभिड म्यानेजमेन्टमा छ । तसर्थ, विकास निर्माणका काम सोचेअनुरुप हुनसकेको छैन तर अन्य कुरामा वा कोभिड म्यानेजमेन्टमा हामी सफलै भएका छौं । यो पाटोबाट हेर्दा म सन्तुष्ट छु । जति गर्नुपर्ने हो, त्यति गर्न सफल भएका छौं ।”


    काम कत्तिको सफल रुपमा अगाडि बढिरहेका छन् नि ?
    जुनबेला विकास निर्माणका काम गर्नुपर्ने हो, त्यहीं बेलादेखि बन्दाबन्दी भएकाले पूर्वाधार निर्माणका कामहरु सोचेअनुसार हुन सकेका छैनन् । अहिले हामी हाम्रो सबै शक्ति कोरोना संक्रमण नियन्त्रण र जनताको सुरक्षामा लगाइरहेको हुनाले हाम्रो ध्यान विकास निर्माणमा भन्दा कोभिड म्यानेजमेन्टमा छ । तसर्थ, विकास निर्माणका काम सोचेअनुरुप हुनसकेको छैन तर अन्य कुरामा वा कोभिड म्यानेजमेन्टमा हामी सफलै भएका छौं । यो पाटोबाट हेर्दा म सन्तुष्ट छु । जति गर्नुपर्ने हो, त्यति गर्न सफल भएका छौं ।
    संघीय सरकारले स्थानीय सरकारले राम्ररी काम गरेनन् भन्छन् नि ?
    होला कहीँ राम्रो गरे होलान्, कहीँ थोरै गरे होलान्, कहीँ धेरै पनि गरे होलान्, कहीँ नराम्रो भन्दा बढी राम्रो गरे होलान्, कही राम्रो भन्दा नराम्रो बढी पनि गरे होलान् किनकि स्थानीय सरकार त धेरै छन् । धेरै हुँदा धेरै खालका काम कुराहरु भए होलान् तर केन्द्रीय सरकारले राम्रो गर्यो कि गरेन भन्नलाई त संघीय सरकार त एउटै छ । त्यसैले यसलाई त कसरी भन्न सकिन्छ र । फेरी मैले राम्रो गरेँ भन्दै हिँड्न पनि असजिलो हुने । त्यसैले यसको मूल्याङ्कन जनता र तपाईंहरुजस्ता पत्रकारले हो । जहाँसम्म मेरो नगरपालिकाको कुरा छ, मैले माथि नै सबै भनी पनि सकेँ अझै भन्छु, हामीले जनताको हितमा, जनताको चाहनाबमोजिम नै हामीले काम गरेका छौं भन्ने कुरामा म दाबा गर्छु ।
    नगरवासीहरुलाई के भन्नुहुन्छ ?
    विकास निर्माणका काम पछि हुन्छन्, गरौंला तर अहिलेको महामारीमा बाँच्नु र बचाउनु नै सबैभन्दा ठूलो कुरा भएकाले स्वास्थ्य मापदण्ड पालना गरेर काम गरौं, अनावश्यक रुपमा जथाभावी नहिँडौं, माक्स र सेनिटाइजरको प्रयोग सधैं गरौं, सामाजिक दुरी कायम गरेर काम गरौं भन्ने आग्रह गर्न चाहन्छु ।

    प्रस्तोताः टीबी विरही

    प्रतिकृया दिनुहोस्