News Portal

  • हामी नयाँ र व्यवस्थित शहर निर्माण गर्ने योजनामा छौं

    २२१६ पटक

    कृष्णहरी थापा
    नगर प्रमुख: कागेश्वरी मनोहरा नगरपालिका, काठमाडौं

    विश्वमहामारीको रुपमा फैलिरहेको कोरोना संक्रमणमा कागेश्वरी मनोहरा नगरपालिकाले के–कस्ता काम कसरी गरिरहेको छ ?
    कोरोना संक्रमणको संख्या बढिरहेको सन्दर्भमा सरकारले जारी गरेको स्वास्थ्य निर्देशिका अनुसार यो नगरपालिकाले पनि काम गरिरहेको छ । चीनको बुहानबाट यो रोग फैलने बित्तिकै हाम्रो नगरपालिकाले जनतालाई सञ्चारका विभिन्न माध्यमबाट सचेतनता गर्ने काम गर्यो भने महिला स्वयंसेवीहरु खटाएर विद्यार्थीहरुलाई सचेतन गर्ने काम गर्यौं । पछिल्लो समय सरकारले चैत्र ११ गतेदेखि बन्दाबन्दी गरेपछि नगरबासी जनतालाई राहत बाँड्ने, संक्रमितलाई क्वारेन्टाइनमा राख्नेदेखि सुरक्षित बस्ने सन्दर्भमा जनचेतना फैलाउने काम ब्यापक रुपमा गर्यौं । चैत्र १२ गतेदेखि कोरोना संक्रमितको उपचारका लागि भनेर हाम्रै नगरपालिकामा रहेको मुलपानी अस्पताललाई चौबीसै घण्टा सञ्चालन गर्यौं जो आजसम्म त्यसैगरी सञ्चालन भइरहेको छ । हामीले गरिब जनतालाई खाना खुवाउने कामदेखि रोजगारी दिनेसम्मका काम व्यापक रुपमा गर्यांै । बागमती प्रदेशमा सबैभन्दा पहिला हाम्रै नगरपालिकाले २०७७ साल बैशाख १ गतेदेखि आरडीटी परीक्षण गर्ने काम आरम्भ गरेको थियो । सनसिटी अपार्टमेन्टमा बस्ने एउटै परिवारका ५ जनाको आरडिटी परीक्षण गरी टेकु अस्पताल पठाउँदा २ जनामा कोरोना देखिएपछि आरडीटी परीक्षणलाई हामीले व्यापक बनायौं । त्यसबेलादेखि अहिलेसम्मको हिसाब गर्दा हामीले ३ हजार ८४ जनाको पीसीआर गर्यौं । जसमा १ सय ५२ जना संक्रमित भएकामा १ सय ७ जनाको उपचार भई घर फर्किसक्नुभएको छ, १६ जना अस्पतालमा उपचारार्थ हुनुहुन्छ, १ जना दीर्घरोगीको मृत्यु भइसकेको छ भने बाँकी होमआइसुलेसनमै हुनुहुन्छ । अहिलेसम्म हामीले अहिले जनचेतना बढेकाले पहिले जस्तो डराउने, कसैलाई भइहाल्यो भने पनि सामाजिक बहिष्कार गर्नेजस्ता असामाजिक काम हुन छोडेका छन् । हामीले सञ्चालन गरेको सचेतन कार्यक्रमको पूर्णपालना गरेर जनताहरु आ–आफ्नो घरमा बस्ने गर्नुभएको छ । सरकारले श्रावण ७ गतेदेखि बन्दाबन्दीको अन्त्य गरेदेखि हामीले जनताका अति आवश्यक कामदेखि कोरोना रोगको उपचार गर्ने, पीसीआर परीक्षण गर्नेजस्ता कामहरु गर्यौ । अहिले केही समययतादेखि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ । यो बेला हामीले पहिलेको बन्दाबन्दीमा जस्तै एकतिहाई कर्मचारीलाई कार्यालयमा उपस्थित गराएर स्वास्थ्यसँग सम्बन्धित कामहरु गरिरहेका छौं । लामो समयसम्म बन्दाबन्दी भइसकेकाले अब यसको मोडल परिवर्तन गरेर उपत्यकाका नाकामा सेना परिचालन गरेर बाहिरबाट संक्रमित मानिसहरु आउन रोकेर उपत्यकालाई संक्रमणमुत्त गर्दै आर्थिक गतिविधिका कामहरुलाई अगाडि बढाउनुपर्छ भनेर नगरपालिका फोरमको कार्यक्रममा सीसीएमसीलाई सुझाव दिएका छौं, बैठकहरुमा सहभागी भइरहेका छौं भने स्वास्थ्य मापदण्ड अपनाएर जनताको स्वास्थ्यलाई ख्याल गर्दै काम गरिरहेका छौं ।

    “सरकारले श्रावण ७ गतेदेखि बन्दाबन्दीको अन्त्य गरेदेखि हामीले जनताका अति आवश्यक कामदेखि कोरोना रोगको उपचार गर्ने, पीसीआर परीक्षण गर्नेजस्ता कामहरु गर्यौ । अहिले केही समययतादेखि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ । यो बेला हामीले पहिलेको बन्दाबन्दीमा जस्तै एकतिहाई कर्मचारीलाई कार्यालयमा उपस्थित गराएर स्वास्थ्यसँग सम्बन्धित कामहरु गरिरहेका छौं ।”


    कोरोना भाइरस संक्रमणको बेला विकास निर्माणका काम त हुन सकेका छैनन् होला नि ?
    जुनबेला हामीले विकास निर्माणका काम गर्नुपर्ने थियो, त्यही बेलादेखि बन्दाबन्दी भएकाले पूर्वाधार निर्माणका कामहरु हुन सकेका छैनन् । हामीले अहिले झण्डैझण्डै १ अर्ब २३ करोड बराबरको विकास निर्माणका कामहरु गर्नुपर्ने छ । ती कतिपय कामहरु ठेक्का लागि सकेका छन् भने कतिपय लाग्न बाँकी छन् । यी सम्पन्न गर्नुपर्ने छ भने कर उठाउनेदेखि जनताका अति आवश्यकीय कामहरु पनि सम्पन्न गर्नुपर्ने छ । त्यसैले अब सीसीएमसीको निर्देशिका पालना गरेर स्वास्थ्य प्रोटोकल पूरा गरेर काम गर्नुपर्छ भन्ने नगरपालिका फोरमको धारणा छ । त्यसका लागि सरकारले पनि सहज गर्नुपर्छ भन्ने सल्लाह स्थानीय सरकारहरुले केन्द्र सरकारलाई दिइसकेका छन् । हुन त जनताको ज्यान बचाउने नै कुरा नै अहिलेको मुख्य विषय हो । भोलि संक्रमित बढेको खण्डमा फेरी बन्दाबन्दी गर्नुपर्ने अवस्था पनि आउन सक्छ तर नेपालीहरुका ठूला चाडबाड आइरहेको, भोकले कतिपय विपन्न वर्गका मानिसहरुको छाक रहने अहिलेको अवस्थामा स्वास्थ्य मापदण्ड पूरा गरेर, सतर्कता अपनाएर आर्थिक गतिविधिका काम गर्नुपर्छ भन्ने नै सबैको धारणा र सुझाव छ । त्यसका लागि निषेधाज्ञा खुकुलो बनाउनुपर्छ र कोरोनासँगै विकास निर्माण एवम् जनताको जीवन सञ्चालन गर्नुपर्छ । यद्यपि यसमा अहिलेसम्म बाधै परेकाले हाम्रो योजनाअनुसार काम हुन सकेको छैन ।
    कोरोनाको उपचारमा चाहीँ जनतालाई कतिको सेवा सुविधा दिनुभएको छ त ?
    हामीले सबै उपाय अवलम्बन गरेर, आर्थिक स्रोतले भ्याउन्जेलसम्म ४ हजारसम्म खर्च गरेर पीसीआर टेष्ट गर्ने, २ सय बढी संक्रमितलाई क्वारेन्टाइनमा राखेर खाना खुवाउने, सचेतना कार्यक्रम अभिबृद्धि गर्नेदेखि संक्रमित भएको तर लक्षण नदेखिएकाहरुलाई आफ्नै अस्पतालको आइसोलेसनमा राखेर उपचारसमेत गरिरहेका छौं भने कोरोना संक्रमितलाई बोक्ने डेडिकेटेड एम्बुलेन्ससमेत सञ्चालन गरिरहेका छांै । अहिले हाम्रा ९ वटा वडामध्ये ५ वटामा स्वास्थ्य केन्द्र, ३ वटा शहरी स्वास्थ्य केन्द्र र १ वटालाई अस्पताल बनाएका छौं । ८ वटा ठाउँबाट हामी अर्थिङ स्वास्थ्य सेवा दिने गरेका छौं भने मुलपानी अस्पताललाई कोरोना अस्पताल बनाएका छौं । अहिले त्यहाँ ज्वरोका बिरामीको उपचार गरिरहेका छौं, अब त्यसलाई विकास गरेर १ सय शैय्यासम्मको उपचार गर्नेगरी काम गरिरहेका छौं । पछिल्लो समयमा प्रदेश सरकार र केन्द्र सरकारले पनि सहयोग गर्ने गरेकाले हामीले सबैलाई निःशुल्क उपचार गरिरहेका छौं । डब्लूएचओले आरडीटी गरेकोलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखेर रिपोर्ट नेगेटिभ आयो भने पीसीआर नगरी घर पठाउँदा पनि हुन्छ भन्ने छ तर हामीले ४४ सयभन्दा बढीको आरडीटी र पीसीआर परीक्षण गरिदिएका छौं । यो हिसाबले हामीले संक्रमितहरुको उपचार गरिरहेका छौं ।
    सरकारले निषेधाज्ञा जारी गरिरहेको छ, सबै बन्द छ, काम गर्न पाएका छैनन्, फेरी तपाईहरु नै कर तिर पनि भन्नुहुन्छ, यसरी त जनता समस्यामा पर्ने भएनन् र ?
    होइन, हामीले गत वर्षकै करमा पनि पुस महिनासम्ममा तिर्दा जरिवाना नलाग्ने भनेका छौं । त्यो बेलासम्म पनि यस्तै समस्या भयो भने त्यसमा पनि विचार गर्ने कुरा छँदैछ । हाम्रो नगरसभाले कर छुट दिने भनेको छैन तर अघिल्लो वर्षको कर ०७७ पुष महिनासम्ममा तिर्दा जरिवाना नलाग्ने निर्णय गरिसकेको छ । तसर्थ, अहिले नै कर तिर्न आइहाल्नुपर्ने, नतिर्दा जरिवाना लागिहाल्ने अवस्था होइन । जनताको बढी काम भनेको नक्सापासको हो, त्यो समन्वय गरेर गर्दा हुन्छ भनेको छ । अन्यथा त्यस्तो केही छैन ।
    कर्मचारीलाई काममा कसरी व्यवस्थापन गरिरहनुभएको छ त ?
    हाम्रा स्वास्थ्यका कर्मचारीहरुले दस दस दिनको पालो बनाएर ३ गु्रपले २४ सै घण्टा सेवा दिइरहेका छन् भने अन्य तह र सेवाका कर्मचारीहरुले कार्यालयको कामको आवश्यकताअनुसार काम गर्ने गर्छन् ।

    “अघिल्लो वर्ष झै यसपाली पनि हामीले स्वास्थ्य र कृषिमै बढी ध्यान दिएका छौं । राज्यले नै कृषि र स्वास्थ्यमा बढी जोड दिएको अवस्थामा हामीले पनि यसैमा बढी फोकस गरेका छौं । यसैबाट बढी रोजगारी सृजना गर्न सकिन्छ, मुलुकलाई आत्मनिर्भर बनाउन सकिन्छ, जनता स्वस्थ भए भने मात्र विकास निर्माणका काम राम्ररी गर्न सकिन्छ, देश विकास हुन्छ भन्ने हाम्रो पनि उद्देश्य हो ।”


    बजेटको बारेमा पनि बताईदिनुस् न के–केलाई बढी प्राथमिकता दिनुभएको छ ?
    हाम्रा नीति तथा कार्यक्रमहरु उही नै हुन्छन् तर हामीले गत वर्षको भन्दा १० करोड बढी रकम थपेर १ अर्ब ६७ करोडको बजेट बनाएका थियौं तर सोचेअनुसार काम नै गर्न पाएनौं । अघिल्लो वर्ष झै यसपाली पनि हामीले स्वास्थ्य र कृषिमै बढी ध्यान दिएका छौं । राज्यले नै कृषि र स्वास्थ्यमा बढी जोड दिएको अवस्थामा हामीले पनि यसैमा बढी फोकस गरेका छौं । यसैबाट बढी रोजगारी सृजना गर्न सकिन्छ, मुलुकलाई आत्मनिर्भर बनाउन सकिन्छ, जनता स्वस्थ भए भने मात्र विकास निर्माणका काम राम्ररी गर्न सकिन्छ, देश विकास हुन्छ भन्ने हाम्रो पनि उद्देश्य हो । त्यसैले यही क्षेत्रलाई हामीले बढी जोड दिएका छौं र त्यसैमा योजनाबद्ध रुपले काम गर्न खोजिरहेका छौं । तर राज्यले अहिलेसम्म भू–उपयोग नीति ल्याउन सकेको छैन । यसले हामीलाई अलमलमा पारेको छ । तथापि हामीले मुलुकमा उत्पादन नबढाई देश विकास हुँदैन भनेर यसमा बढी जोड दिएका छौं । उद्यपि अन्य क्षेत्रमा अर्थात विकास निर्माणका कार्यमा पनि हामीले राम्रै बजेट बिनियोजित गरी योजनाकासाथ अगाडि बढिरहेका छौं ।
    तपाईंको नगरपालिकाको आयस्रोत के–के हो त ?
    हाम्रो आम्दानीको स्रोत भनेको आन्तरिक कर अर्थात घर नक्सापास, मालपोत दस्तुर, घरबहाल कर आदि नै हुन् । यसबाट २० करोड उठाउने लक्ष हामीले गरेका छौं । त्यसबाहेक सशर्त अनुदान भनेर आउँछ भने अर्को सामान्नीकरण अनुदान भनेर आउँछ, अर्को समपुरक अनुदान भनेर आउँछ, यस्तैबाट झण्डै झण्डै पचास साठी करोड रकम आउँछ । अर्को रजिष्ट्रेसन पासबाट पनि आउँछ । यसबाहेक अब यसको आम्दानी बढाउन करको दायरा कसरी फराकिलो बनाउने भनेर हामी अध्ययनमै छौं । फेरी कर मात्रै बढाएर पनि भएन, त्यो जस्टिफिकेशन हुने पनि हुनुपर्यो, त्यो उपलब्धिमुलक पनि हुनुपर्यो । यो नगरपालिका ६ वटा गाविस मिलेर बनेको नयाँ नगरपालिका पनि भएकाले हामीले बहुतै मेहनत र होशियारीका साथ काम गर्दै अगाडि बढ्नपर्नेछ, कार्यालय सञ्चालन गर्नुपर्नेछ, जनतालाई सेवा सुविधा पनि दिनुपर्ने छ । अहिले हाम्रा ६ वटा कार्यालयहरु छन् । ३ वटा त भाडामा छन्, अहिले भखरै टेण्डर गरेर ३ करोडको बडा कार्यालय बनाएका छौं । अब हामी त्यसैमा बस्दैछौं । अर्को ५१ करोडको टेण्डर गरेकाछौं । अब त्यो दुईवर्षमा सम्पन्न गर्नेगरी काम अगाडि बढाउँदैछौं । यसरी हामी काम गर्दैछौं । अहिले मुलुकै भरका स्थानीय सरकारले राम्ररी काम गरिरहेका छन् ।
    कर नीतिमा केही फेरबदल गर्नुपर्ने देख्नुहुन्छ ?
    अहिले उठिरहेको सबै कर र अन्तशुल्कमा ७० प्रतिशत केन्द्र सरकारलाई, १५ प्रतिशत प्रदेशलाई र १५ प्रतिशत स्थानीय सरकारलाई छ । त्यसको दायरा बढाएर एकद्वार प्रणाली बनाएर ठुलाठुला योजनाहरु प्रदेश र केन्द्र सरकारले गर्ने सानातिना काम जति सबै स्थानीय सरकारलाई दिने भएमा राम्रो हुन्छ जस्तो मलाई लाग्दछ ।
    तपाईंसँग जनताले कस्ताकस्ता कुराको माग गर्छन् ?
    हामीसँग जनताले बढी गरेर बाटो, सडक बनाउने, मर्मतसंभार गर्ने, ढल र खानेपानीको व्यवस्था गरिदिने, सेवा प्रवाह सहज ढंगले र रोजगारी सृजना गरिदिने कुराको माग गर्छन् । यसै विषयमा हामी ध्यान केन्द्रित गरेर काम गरिरहेका छौं । संघीय सरकारले पहिले १० वर्षमा जनसंख्या गणना गर्ने गर्दथ्यो, अहिले हामीले हाम्रो नगरपालिकामा जनगणनाको सबै डाटा निकालि सकेका छौं । जसमा ७५ चैत्र मसान्तसम्ममा हाम्रो नगरपालिकाको जनसंख्या १ लाख ३ हजार चानचुन छ, भने बाहिरबाट यहाँ आएर डेरा गरी बस्ने सम्म गर्दा ४ लाखको हाराहारीमा यहाँ मानिसहरु बस्छन् । अहिले यहाँ २६ हजार घरधुरीहरु छन् । यी सबैको माग फरक फरक छ ।

    “हामीसँग जनताले बढी गरेर बाटो, सडक बनाउने, मर्मतसंभार गर्ने, ढल र खानेपानीको व्यवस्था गरिदिने, सेवा प्रवाह सहज ढंगले र रोजगारी सृजना गरिदिने कुराको माग गर्छन् । यसै विषयमा हामी ध्यान केन्द्रित गरेर काम गरिरहेका छौं ।” 

    “यहाँ आउने बाटो निर्माणको जिम्मा संघीय सरकारको हो, यो बाटो ज्यादै समस्याग्रस्त छ, तपाईहरुले पनि आउँदा देखिहाल्नुभयो । नगरपालिका भित्रका बाटाघाटा बनाउने जिम्मा स्थानीय सरकारलाई नै दिएको भए राम्रो हुन्थ्यो । त्यसो नहुँदा एउटा यही चुनौति भयो, अर्को जनतासँग हामी नै प्रत्यक्ष फेस गर्नुपर्ने ठाउँमा हुने तर कतिपय अवस्थामा हामीलाई काम गर्न अधिकार नहुने, पर्याप्त स्रोतसाधन नहुने अवस्थामा जनताको माग सम्बोधन गर्न, काम गर्न समस्या हुने अवस्था छ ।”


    तपाईंलाई काम गर्न चाहिँ चुनौति के–के छन् त ?
    चुनौति केही छैनन् तर यहाँ आउने बाटो निर्माणको जिम्मा संघीय सरकारको हो, यो बाटो ज्यादै समस्याग्रस्त छ, तपाईहरुले पनि आउँदा देखिहाल्नुभयो । नगरपालिका भित्रका बाटाघाटा बनाउने जिम्मा स्थानीय सरकारलाई नै दिएको भए राम्रो हुन्थ्यो । त्यसो नहुँदा एउटा यही चुनौति भयो, अर्को जनतासँग हामी नै प्रत्यक्ष फेस गर्नुपर्ने ठाउँमा हुने तर कतिपय अवस्थामा हामीलाई काम गर्न अधिकार नहुने, पर्याप्त स्रोतसाधन नहुने अवस्थामा जनताको माग सम्बोधन गर्न, काम गर्न समस्या हुने अवस्था छ । म ०५४ सालमा पनि गाविस अध्यक्ष भएर काम गरिसकेको हुनाले मैले जनताका समस्याहरुलाई राम्ररी हेरेको छु, बुझेको छु, पढेको छु, त्यसैले काम गर्न त समस्या छैन भएपनि समस्याको समाधान दिन जानेको छु, चुनौतिको सामना गर्न सक्छु तर अधिकार राम्ररी विन्यास नहुँदा कतिपय सन्दर्भमा समस्या आउने हुन्छ । तर जनताको साथमा रहेर काम गर्नु नै चुनौति हो तर यसलाई अवसर सम्झिएर काम गर्नुपर्छ भन्ने लाग्छ ।
    योजना केकस्ता बनाएर काम गर्दै हुनुहुन्छ त ?
    अहिले हामीले २६ हजार रोपनी जग्गामा व्यवस्थित वस्ती विकास गर्ने योजना बनाइरहेका छौं । त्यो सफल भयो भने एउटा सन्देशमुलुक काम हुनेछ । त्यसमा हामीले कृषियोग्य जमिन खेर नफाली कृषिकै विकास र विस्तारमा उपयोग गरेर व्यवस्थित शहर निर्माण गर्ने योजना गर्दैछौं । अहिले संघीय सरकारले १ लाख रोपनी जग्गामा नयाँ शहर विस्तार गर्दैछ । यसमा हामीले जडीबुटीदेखि जोरपाटी पूर्व, पूर्व काठमाडौंको हिसाबले व्यवस्थित शहर विकास गर्नुपर्छ भनेर संघीय सरकारसँग भनिरहेका छांै । त्यसको फाइल आवास तथा भौतिक योजना मन्त्रालयमा पुगेर फाइल बसेको छ । त्यो क्वाबिनेटमा गएर पास भएपछि त्यो लागुहुन्छ । हामीले पनि हाम्रो योजनाको खाका कोरिसकेका छौं यो लागु भएको खण्डमा हाम्रो पूर्वी काठमाडौं शहर विश्वका लागि नमुना शहर हुने मैले विश्वास लिएको छु । यसमा सबैको सहयोगको आवश्यकता छ ।
    संघीय सरकारले राम्ररी काम गरेन भन्ने कुरा आइरहेको छ नि ?
    त्यसो होइन, स्थानीय सरकारले राम्ररी काम गर्यो, प्रदेश सरकारले चाहिँ गर्नुपर्ने जति गर्न सकेन भनेको हो । अहिले जतिपनि काम भएका छन् ती सबै स्थानीय सरकारले गरेको छ, अहिले कोरोनाकै सन्दर्भमा हेर्नुहोस् हामीले कति खटेर काम गरिरहेका छौं । उपत्यका नाकामा हेर्नेदेखि संक्रमितलाई क्वारेन्टाइनमा राख्ने, पीसीआर कन्ट्याक ट्रेसिङ गर्ने, पोजेटिभ देखियो भने आइसोलेसनमा राखेर निःशुल्क उपचार गर्ने, राहत बाँड्ने, गरिबहरुलाई खाना खुआउने लगायत कतिपय स्वास्थ्यसँग समब्न्धित काम स्थानीय सरकारले नै गर्नुपरिरहेको छ । गरिपनि रहेको छ, किनकि जनतासँग स्थानीय सरकार नजिक छ, जे पर्दा पनि जनता स्थानीय सरकार नै गुहार्ने, स्थानीय सरकारलाई नै भन्ने भएकाले योसो हुनु स्वभाविक पनि हो । यसर्थ सबै स्थानीय सरकारले जनताको मागअनुसार नै काम गरेका हामीले पनि त्यसैगरी गरिरहेका छौं ।
    प्रदेश र संघीय सरकारसँग कतिको समन्वय भइरहेको छ त ?
    हामीले दुवै सरकारसँग समन्वय गरेर काम गरिरहेका छौं । संघीय सरकारसँग त्यही र त्यस्तै खालका काममा समन्वय गर्छौं, प्रदेश सरकारसँग त्यही खालका योजना र काममा समन्वय गर्छौं । यसमा हाम्रो तीनै तहका सरकारको बीचमा राम्रो सम्बन्ध र समन्वय रहेको छ ।

    “विकास निर्माणका काम हुन्छन् नै तर अहिलेको महामारीको अवस्थामा बाँच्नु र बचाउँनु नै सबैभन्दा ठूलो कुरा भएकाले सरकारले जारी गरेको स्वास्थ्य निर्देशिका पूर्णरुपमा पालना गर्दै, स्वास्थ्य मापदण्डका उपायहरु अपनाएर आफ्ना कामहरु सम्पन्न गरौं, अनावश्यक रुपमा जथाभावी नहिँडौं, माक्स र सेनिटाइजरको प्रयोग सधैं गरौं, सामाजिक दुरी कायम गरेर काम गरौं वा बसौं यही सन्देश तपाईंमार्फत आम नगरबासीमा पुर्याई दिन आग्रहसमेत गर्दछु ।”


    नगरवासीहरुलाई के भन्नुहुन्छ ?
    हामी कामको दृष्टिले तेस्रो वर्षमा प्रवेश गरेका छौं, यसवर्ष हामी निकै काम गर्ने योजनामा थियौं । तर, कोरोना महामारीले सोचे जसरी काम गर्न पाएका छैनौं तथापि जनताको हितमा, जनताको सल्लाह सुझावमै काम गरिरहेका छौं । अब योजनाका हिसाबले यो नगरसभापश्चात अर्को नगरसभा नै हाम्रो अन्तिम नगरसभा हुने छ । यो वर्ष भनएपनि अर्को वर्ष हामी विकास निर्माणमा गुणात्मक रुपमै फड्को मार्नेछौं नै । विकास निर्माणका काम हुन्छन् नै तर अहिलेको महामारीको अवस्थामा बाँच्नु र बचाउँनु नै सबैभन्दा ठूलो कुरा भएकाले सरकारले जारी गरेको स्वास्थ्य निर्देशिका पूर्णरुपमा पालना गर्दै, स्वास्थ्य मापदण्डका उपायहरु अपनाएर आफ्ना कामहरु सम्पन्न गरौं, अनावश्यक रुपमा जथाभावी नहिँडौं, माक्स र सेनिटाइजरको प्रयोग सधैं गरौं, सामाजिक दुरी कायम गरेर काम गरौं वा बसौं यही सन्देश तपाईंमार्फत आम नगरबासीमा पुर्याई दिन आग्रहसमेत गर्दछु ।

    प्रस्तोताः टिबि विरही

    प्रतिकृया दिनुहोस्