News Portal

  • संसदमा एमसीसी टेबल

    दर्ता भएको ३२ महिना

    आर्थीकसंसार संवाददाता८ फागुन, २०७८
    ७१६ पटक
    ८ फागुन, २०७८

    काठमाडौं । अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पाेरेशन एमसीसी र नेपाल सरकारबीचको अनुदान सहायता सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट संसदमा दर्ता भएको ३२ महिनापछि प्रतिनिधिसभामा टेबल भएको छ । आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त सम्झौता अनुमोदनका लागि संसदमा टेबल गरेका हुन् । अर्थमन्त्री जनार्दशन शर्माको अनुपस्थितिमा कार्कीले टेबल गरेका हुन् ।
    प्रमुख प्रतिपक्षी नेकपा एमाले तथा अन्य दलका संसादहरुको अवरोधकाबीचमा पनि मन्त्री कार्कीले अर्थमन्त्री शर्माको तर्फबाट संझौता टेबल गरेका हुन् । एमसीसी अनुमोदनका लागि टेबल गर्नुअघि बोल्दै मन्त्री कार्कीले यो परियोजना नेपालको बिजुली प्रसारण लाइन र विभिन्न सडक खण्डको स्तरोन्नतिका लागि अमेरिकाले दिने सहयोग भएको  बताएका थिए।
    आज बिहान बसेको सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूको बैठकले एमसिसी संसदमा टेबल गर्ने सहमति गरेका थिए । २०७६ असारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले एमसिसी सम्झौता अनुमोदनका लागि संसदमा प्रस्ताव दर्ता गरेको थियो । प्रस्ताव दर्ता भए पनि नेकपाको आन्तरिक विवादका कारण सभामुखले टेबल गर्न दिएका थिएनन् ।
    सत्तारूढ गठबन्धनमा लामो विवाद र बहसपछि एमसीसी संसद बैठकको कार्यसूचीमा परेको हो । अर्को बैठक फागुन १२ गते दिउँसो १ बजे बस्नेछ । त्यही बैठकबाट एमसिसी सम्झौतामाथि छलफल सुरू हुने सम्भावना छ ।

    प्रतिकृया दिनुहोस्