News Portal

  • जडीबुटी उत्पादन र बिक्री वितरण हाम्रो काम हो

    ५०२९ पटक

    ज्ञानेश्वर कार्की
    महाप्रबन्धक: जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र


    यो महामारीमा केकस्ता काम कसरी गर्दै हुनुहुन्छ ?
    हामीले जडीबुटी उत्पादनका लागि कचा पदार्थ उत्पादन गर्ने, संकलन गर्ने, त्यसलाई प्रशोधन गरेर तेल बनाउने र त्यो तेलबाट विभिन्न प्रकारका औषधिजन्य वस्तु तयार गरेर बजारसम्म पुर्याउने काम गरिरहेका छौं । कोरोना काल भए पनि हामीलाई वस्तुको मागको कमी त छैन, यस्तो बेला झन् बढी माग हुन्छ । तर बजारको मागअनुसार उत्पादन गर्ने मेनपावर छैन । कोभिड–१९ को संक्रमणले लामो समयसम्म लकडाउन भयो पछि केही समय खुले पनि फेरी निषेधाज्ञा जारी भयो । त्यसले गर्दा हाम्रो मेनपावर जति थियो, ती सबै काममा आउन सकेनन् । त्यसले गर्दा उत्पादनमा कमी भयो र हाम्रो लक्षअनुसार उत्पादन हुन सकेन । तर पनि यसको बाबजुद विभिन्न उपाय अपनाउँदै अघिल्लो वर्षभन्दा बढी नै उत्पादन गर्यौं । अघिल्लो वर्ष हामीले ३० लाख सन्चो उत्पादन गरेका थियौं भने यसपाली ५० लाख उत्पादन गरेर बजारमा पुर्यायौं । हाम्रो टार्गेट चाहिँ १ करोड थियो । तर कोरोनाले लक्षअनुसार उत्पादन गर्न सकेनौं ।
    यो कम्पनीले कस्ता कस्ता वस्तुको उत्पादन गरिरहेको छ ?
    कोरोनाकै लागि भनेर अहिले हामीले हर्बल सेनिटाईजर उत्पादन गरिरहेका छौं । तर, हाम्रो यो कम्पनीको म्यान्डेट चाहिँ जडीबुटीसँग सम्बन्धित कुनै पनि उत्पादन साबुन भयो भने हर्बल साबुन, टुथपेष्ट भयो भने हर्बल टुथपेष्ट, सेनिटाइजर भयो भने हर्बल सेनिटाईजर उत्पादन गर्ने म्यान्डेट छ । तर यसपालि चाहिँ हर्बल सेनिटाईजर जुन डब्लुचएओको गाइड लाइनअनुसार ८० प्रतिशत अल्कोहललगायत अरु सुगन्धित तेलहरु मिसाएर बजारमा पठाएका छौं । जसको माग र सप्लाई सन्तोषजनक रुपमा भइरहेको छ । अहिले हामीले हर्बल सेनिटाईजर विभिन्न प्याकमा बजारमा ल्याएका छौं । अहिले चाहिँ ३० एमएलको प्याकमा आएका छौं । जसलाई मानिसहरुले खल्तिमा राखेर हिँडडुल गर्दा उपयोग गर्न सकून् भनेर सहजताका लागि यो उत्पादन गरेका छौं भने अफिसियल प्रयोजनको लागि भनेर कार्यालयमा राख्ने गरिएका सय, दुईसय र पाँच सय एमएल र रिफिलर प्याक भनेर ५ लिटरको प्याकमा बजारमा ल्याएका छौं ।
    हर्बलसँग सम्बन्धित अन्य औषधि के–के छन् त ?
    धेरै प्रयोग हुने सन्चो, रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि सन्चो सिलाजी, भिक्सको काम गर्ने सन्चो बाम, हिमालय मसाज तेल, जसलाई पेण्डिलिक भन्छ । यिनै ५ प्रकारका औषधि र औषधिजन्य वस्तुको उत्पादन अहिले बजारमा गइरहेको छ ।
    कोरोना महामारी यस्तो छ, यसैका लागि भनेर चाहिँ कुनै औषधिजन्य उत्पादन बजारमा ल्याउनुभएको छैन ?
    कोरोनाको त अहिले औषधि नै यही हो भनेर आधिकारीक रुपमा कहीँबाट सर्टिफाई भएकै छैन । चीन, रुस र अमेरिकाले कोरोना रोग नियन्त्रणको भ्याक्सिन बनाएको प्रचार भए पनि आधिकारिक रुपमा त यही औषधि हो भन्ने त पत्ता लागेको छैन । त्यसैले हामीले पनि कोरोनाको औषधि यही हो भनेर बेच्ने कुरा त भएन तर यसमा एनटिभाईरल प्रोपोर्टी भएको हुनाले र ८० प्रतिशत अल्कोहल भयो भने त्यसले चाहिँ कोरोनालगायत अन्य भाइरस मार्छ भनेर विश्व स्वास्थ्य संगठनले भनेको हुनाले हामीले त्यही मान्यताका आधारमा विश्व स्वास्थ्य संठनको भनाइलाई मानेर त्यति नै अल्कोहलसहित अन्य सुगन्धित तेलहरुको समिश्रणसहितको सेनिटाईजर बनाएका हांै । र, त्यसले कोरोनाको संक्रमण रोक्न सहयोग पुग्छ भनेर त्यो प्रयोग गर्नु राम्रो हो भनिएको हो । तर कोरोना रोगकै औषधि चाहिँ सेनिटाइजर, सन्चो, सन्चो बामलगायत हामीले उत्पादन गरेका हर्बल औषधिहरु होइनन् । तर सामान्य रुपमा टाउको दुख्दा, ज्वरो, रुघा, खोकी लाग्दा शरीर दुख्दा यसको प्रयोगले फाइदा गर्छ भाइरसहरु मार्छ भनिएको हो । त्यसो हुँदा कोरोना लागेका बिरामीका लागि पनि यी औषधिहरु लाभदायक छन् ।
    कोरोना महामारीमा पनि नेपालीहरुले औषधिदेखि साबुन र सेनिटाइजरसम्म विदेशी नै प्रयोग गरिरहेका छन्, स्वदेशी उत्पादन बढी उपयोगी र भरपर्दा छन् भनेर किन बुझाउन सक्नुभएन ?
    यो नेपाल सरकारको सतप्रतिशत लगानी भएको सरकारी कम्पनी हो । हामी जडीबुटी बनाउनका लागि चाहिने कच्चा पदार्थको खेती गरेर र ती औषधिजन्य जडीबुटी संकलन गरेर हर्बल औषधि उत्पादन गर्ने कम्पनीका सञ्चालक हांै । हाम्रा आफ्नै मूल्य, मान्यता, ऐन, नियम र कानुन छन् । हामीले आफ्नो परिधिभित्र रहेर सरकारको आधिकारीक धाराणा बोल्नुपर्ने हुन्छ । हामीले भन्ने भनेको सिलाजीतले इम्युनिटी पावरलाई बुस्टअप गर्छ, सेनिटाइजरले भाइरसहरु मार्छ, त्यसैले यो उपयोगी छ भन्न चाहिँ मिल्यो तर यो कोरोनाको औषधि हो, हामी कोरोनाको औषधि बेच्छौं, यसले कोरोना संक्रमितलाई निको पार्छ, त्यसैले यो हाम्रो प्रडक्ट किन्नुहोस् भन्न चाहिँ मिल्दैन । किनकि त्यसो भन्नलाई त प्रमाणित गर्न सक्नुपर्यो, त्यो खालको टेक्नोलोजी हामीसँग हुनुपर्यो, त्यस्तो जाँच्ने ल्याब हामीसँग हुनुपर्यो, त्यो खालको दक्ष प्राविधिक जनशक्ति हामीसँग हुनुपर्यो अर्थात् यसको उपचार गर्ने जाँच्ने डाक्टरहरु, अनुसन्धानकर्ताहरु हुनुपर्यो । त्यो त हामीसँग सम्भव छैन । किनकि यत्रा विकसित देशले त पत्तालगाउन सकेको छैन,रोक्न सकेको छैन भने हामीले त झन् सक्ने कुरै होइन । हामीले त प्रमाणित भइसकेको सरकारले सार्वजनिक रुपमा बाहिर ल्याएको आधिकारीक कुराहरु मात्रै गर्ने हो । हचुवाको रुपमा त्यसै भन्दै बोल्दै हिँड्ने कुरा त होइन । उदाहरणको लागि सन्चोको कुरा गरौं सन्चो विभिन्न ८ प्रकारका जडीबुटीजन्य सुगन्धित तेलको समिश्रणबाट बनेको औषधि हो, त्यो लाभदायक छ तर यसले कोरोनाको भाइरस मार्छ कि मार्दैन भन्ने कुरा त यसलाई उच्च प्रविधियुक्त ल्याबमा कोरोना भाइरससँग राखेर परीक्षण गर्नुपर्यो नि । खोई त त्यो प्रविधियुक्त हाम्रो ल्याब र दक्ष प्राविधिक । त्यसैले हामीले त्यस्तो कुरा भन्न मिल्दैन । के चाहिँ हो भने यस्ता जडीबुटीहरु, हर्बलहरु आफैंमा औषधिजन्य वस्तुहरु हुन्, जसबाट हर्बल औषधिको उत्पादन हुन्छ । त्यस्ता औषधिजन्य जडीबुटीको सेवनले परम्परादेखि हामीलाई विभिन्न खालका रोगहरु निको भइरहेका छन् । त्यो हाम्रो उपभोगको अनुभवले प्रमाणित गरेको कुरा हो । त्यसैले यसको प्रयोगले अर्थात बेसार, अदुवा, निमको तेल, टिमुर, पाखनवेद, गुर्जो, सिलाजीत, यार्सागुम्बालगायत अन्य जडीबुटीजन्य वस्तुको उपयोगले धेरै रोग निको भएको हाम्रो परम्परा र विगत छ । त्यसैले यी औषधि जन्यवस्तुको उपयोगले फाइदा गर्छ भनिएको हो ।
    विदेशबाट यति धेरै औषधि आयात भइरहेको बेला र कोरोनाको कहरमा सन्चोलगायत सेनिटाइजरको माग बढी भइरहेको बेला विदेशी होइन, अब स्वदेशी आयुर्वेदिक औषधिहरु उपयोग गरौं, स्वदेशी जडीबुटीहरु उपयोग गरौं भनेर विदेशी औषधिको आयात घटाउने सुअवसरको उपयोग गर्न सकिरहनुभएको छैन नि ?
    यो कम्पनी नेपाल सरकारको पूर्ण स्वामित्व भएकोले सरकारले हामीलाई जे गर्ने अधिकार दिएको छ, त्यतिमात्र गर्ने हो, त्यसभन्दा पर जान हामीलाई मिल्दैन । सरकारले हामीलाई भनेको काम गरेका छौं । यति हो, हामीले धेरै गर्ने, राम्रो गर्ने, गुणात्मक गर्ने, बजारको मागअनुसार गर्ने हो । त्यसमा हाम्रो लक्ष थियो १ करोड उत्पादन गर्ने कामदारको उपलब्धताकोे कमीले त्यसमा हामी पुग्न सकेनौं । त्यसैले हामीले हाम्रो देशमा भएको कच्चा औषधिजन्य कचा जडीबुटीलाई संकलन गरेर प्रशोधन गरेर बढी भन्दा बढी जनताको सेवामा पुर्याउने हो, मागबमोजिम पुर्याउने हो, त्यो स्रोत साधनले भ्याएसम्म हाम्रो क्षमताअनुसार हामीले गरिरहेका छौं । अब विश्व बजारमा अर्बौंको माग छ तर हाम्रो उत्पादन गर्ने क्षमता छैन भने त्यो हामीबाट उपलब्ध गराउन सम्भव छैन । त्यसैले हामीलाई जे आदेश छ, त्यही गर्ने हो, जे जति स्रोत साधन छ, त्यसलाई उपयोग गर्ने हो । त्यसभन्दा बाहिर जान सकिन्न । उदाहरणको लागि अहिले हामीले उत्पादन गरेको सन्चो भारत, चीनबाट १ अर्ब चाहियो भन्ने माग आयो भने त्यो दिन हामी सक्दैनौं । किनकि त्यति धेरै उत्पादन हुने, गर्न सक्ने हाम्रो उत्पादन नै छैन, कपासिटी नै छैन । यो त भन्ने बित्तिकै भैहाल्ने कुरा गरिहाल्न सक्ने कुरा होइन ।
    अहिले तपाईका कुनकुन उत्पादनको माग बढी छ ?
    सन्चोको माग बढी छ । अहिले यसको माग १ करोड छ तर उत्पादन गर्न सकिरहेका छैनौं ।
    यो कम्पनी कसरी चलेको छ ?
    यो नेपाल सरकारको स्वामित्वमा रहेको कम्पनी भएतापनि हामीलाई सरकारले केही दिँदैन । लगानी गरिदिन्छ, हामीले काम गर्नुपर्यो, काम गरेर उत्पादन बेचेर नाफा कमाउनु पर्यो, अफिसका कर्मचारीलाई तलब भत्ता दिनुपर्यो र यसमा लगानी गर्ने शेयरहोल्डरलाई पनि डिभिडेन्ट दिनुपर्यो । यो पूरै नाफामुखी कम्पनी हो । यो पहिले पहिले १०–१५ करोडको कारोबार गथ्र्यो, अहिले हामी आएपछि ५० करोडको कारोबार गर्ने संस्थाको रुपमा विकास गरेका छौं । तर, हामीले १ करोड पुर्याउने लक्ष छ । कोरोना कहर कम हुने बित्तिकै हामी यो लक्षमा पुग्नेछौं ।

    “अहिले कोरोनाको कारणले हामीले चाहेजति उत्पादन गर्न नसके पनि कोरोना महामारीको अन्त्यसँगै यसको पूर्ण क्षमतालाई उपयोगमा हामी ल्याई छाड्नेछौं । त्यसका लागि हामीले तत्कालीन दीर्घकालीन योजना बनाइरहेका छौं ।”


    तत्कालीन र दीर्घकालीन योजना कस्ताकस्ता बनाइरहनु भएको छ ?
    यो सरकारी कम्पनी भएको हुनाले यसको आफ्नै भूमि, आफ्नै घर आफ्नै मेसीनरी औजारहरु र आफ्नै बचत पुँजी छ, आफ्नै मानव स्रोत छ । अर्थात यसको आफ्नै स्रोत साधन छ । तर, यसलाई यसको क्षमताअनुसार, यसको उद्देश्यअनुसार परिचालन गर्न यसभन्दा अगाडिको नेतृत्वले सकेको देखिँदैन तर म यहाँ आएपछि यसको पूर्ण क्षमतामा सञ्चालन भइरहेको छ । अहिले कोरोनाको कारणले हामीले चाहेजति उत्पादन गर्न नसके पनि कोरोना महामारीको अन्त्यसँगै यसको पूर्ण क्षमतालाई उपयोगमा हामी ल्याई छाड्ने छांै । त्यसका लागि हामीले तत्कालीन दीर्घकालीन योजना बनाइरहेका छौं ।
    यसको संस्थागत संरचना चाहिँ कस्तो छ नि ?
    यो नेपाल सरकारको बन तथा वातावरण मन्त्रालय मुख्य तालुकदार वा नियमक निकाय हो । त्यसको मातहतमा यसका अन्य बन पैदावार, कृषि विकास बैंक, नेपाल औषधि लिमिटेडलगायत अन्य शेयरधनीहरु हुन्छन् । यसको एउटा बोर्ड छ, त्यसमा अर्थमन्त्रालयको पनि संलग्नता हुन्छ । बनमन्त्रालय यसको सञ्चालक प्रमुख हुन्छ । यो कार्यालयका महाप्रबन्धक बोर्डका सदस्य सचिब हुन्छन् ।
    तपाईंहरुले कृषकलाई यस्तो जडीबुटी यसरी लगाओ, यस्तो ठाउँमा लगाओ हामी किनिदिन्छांै, यस्तो नाफा हुन्छ भनेर उनीहरुलाई प्रोत्साहित किन गर्न सक्नुभएको छैन ?
    मैले माथि पनि भनिसकेँ कि हामी शुद्ध व्यापारिक संस्था हौं, सरकारले हामीलाई ऐन नियम बनाएर अधिकार तोकिदिएर यस्तो गर्नु, यति गर्नु भनेर स्पष्ट भनेको छ । त्यसैले हामी कसैलाई पनि यस्तो गर उस्तो गर, यहाँ गर, उहाँ गर, यसरी गर, उसरी गर भन्दैनौ, हामीलाई भन्ने अर्थोरोटी पनि हुँदैन, त्यस्तो हाम्रो कार्यक्षेत्र पनि हुँदैन, त्यो हाम्रो पाटो होइन । कृषकलाई के गर्ने के नगर्ने, के दिन के नदिने, कुन ठाउँमा के उत्पादन गर्न कसरी दिने, के उत्पादन गर्न लगाउने त्यो सरकारको विषय हो, सरकारको पाटो हो । हाम्रो रोल चाहिँ के हो भने हामी उत्पादन गर्छौ र बेच्र्छौ । यति हो हाम्रो काम । हामीलाई हाम्रो प्रडक्ट सुहाउने, आवश्यक पर्ने कच्चा पदार्थ हामीसँग यति छ लिई दिनुपर्यो भनेर किसानले त्यो उत्पादन दियो भने हामी उनीहरुलाई धेरैभन्दा धेरै फाइदा दिएर उनीहरुको उत्पादन खरिद गरीदिन्छौं । बस हाम्रो काम यति हो । तर हामी बजारीकरण गर्दैनौं । जस्तो उदाहरणको लागि सरकारले कृषकलाई टिम्मुर लगाउन प्रोत्साहित गर्यो र कृषकले टिम्मुरको उत्पादन गर्यो भने त्या उत्पादन अर्थात कृषकले लगाएको टिमुर हामी उचित मूल्य दिएर किनिदिन्छौं । त्यस्तै तेजपात, मेन्थालगायत अन्य धेरै जडीबुटीहरु छन् । तर तपाईले भने जस्तै यसरी कृषकलाई हित हुने गरी कसैले सोचिदिएका छैनन्, सरकारले पनि सोचिदिएको छैन, किसानलाई प्रोत्साहित हुनेगरी कृषि कर्ममा लगाउन सकेकै छैन । त्यसैले कृषकहरु मर्कामा परेका छन् । यो बिडम्वनाको विषय हो ।
    कृषकहरुलाई सरकारले राम्ररी किन हेर्न सकिरहेको छैन ?
    कृषकलाई फाइदा पुग्ने गरी स्रोत साधन, प्रविधि, मलबिउ, औजार, सिँचाईको उचित प्रबन्ध आदिइत्यादि कुराको परिपूर्ति हुन सकिरहेको छैन । चाहिँदो रुपमा सरकारी अनुदान दिन सकिरहेको छैन, जसले गर्दा साँच्चिकै किसानहरु मर्कामा परेका छन्, कृषि कर्मको मूल्याङ्कन हुन सकिरहेको छैन र कृषि पेशा आकर्षणको पेसा पनि बन्न सकिरहेको छैन ।

    “सरकारले नेपाली किसानको उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा जान पाउने गरी प्रोत्साहन गर्नुपर्छ । त्यसका लािग एउटा अन्तर्राष्ट्रिय बजारमा हाम्रा बस्तु बिक्री गर्नका लागि एउटा छुट्टै निकायको एकदमै आवश्यकता छ । जसले नेपालमा उत्पादित वस्तुको विदेशबाट डिमाण्ड ल्याउँछ र नेपाली वस्तुको त्यहाँ बिक्री हुन्छ । त्यसो भयो भने हाम्रा कृषकहरु समृद्ध हुन्छन् । यसबाहेक पुँजीको अभाव छ, मेनपावरको अभाव छ कतिपय ऐन कानूनको समस्या छ, हाम्रो आफ्नै बजार छैन, बजारमा कसरी जाने त्यो पनि समस्या नै छ ।”


    तपाईलाई काम गर्न समस्या केके छन् ?
    पहिलो कुरा त हाम्रो मुलुकको कुनकुन ठाउँमा कस्तो कस्तो जडीबुटी छ, कति परिणाममा छ, केके छ, त्यसलाई कसरी संरक्षण गर्न सकिन्छ, कुनकुन महँगो छ, कुन जडीबुटी हुने छ, कुुन अन्य कामको लागि हुनेछ, भनेर यकिन निक्र्यौल गर्नुपर्छ र यो यो जडीबुटी हामी यति औषधिको लागि यति अन्य उपयोगको लागि दिन्छौं भनेर सरकारले डेटा दिनुपर्छ । त्यसो नगरीकन कसैले पनि लगानी गर्दैन । नेपाल सरकारले त्यसको अनुसन्धान गर्नुपर्छ, रेकर्डेट चाहिँ गर्नुपर्छ त्यसो गरेपछि मार्केटिङ गर्न सहज हुन्छ । हुन त सरकारका पनि आफ्नै लिमिटेसन छन्, त्यसैले गाह्रो पनि भएको होला तर जे जस्तो समस्या छ, त्यो फुकाएर पनि सरकारले यो काम गर्नैपर्छ । किनकि आफ्नै किसिमले खेती गर्ने, मनलाग्दी जंगलमा गएर जडीबुटीको चोरी निकासी गर्ने, मनलाग्दी जडीबुटीको उत्पादन गर्ने र बजार नपाउने जस्ता समस्याले समेत कृषकलाई सताएको छ भने यस्ता कुराले अन्तर्राष्ट्रिय बजारमा हाम्रा उत्पादन प्रतिस्पर्धी बन्न नसक्ने खालका हुने कतिपय त अन्तर्राष्ट्रिय बजारमा जानै नसक्ने जस्ता समस्याले हाम्रो अवस्था कमजोर बन्दै गएको छ । नेपालमा ३ हजार भन्दा बढी जडीबुटी छन्, ८ सयभन्दा बढी जडीबुटी त रेकर्डमा आईसकेका छन् । यसमा २ सय जति व्यवसायिक प्रयोजनमा आएका छन् । त्यसमध्ये हामीले चाहिँ १३ वटालाई प्राथमिकतामा राखेर काम गरिरहेका छौं । तर यहाँ समस्या कहाँ हो भने कृषकले जडीबुटी उत्पादन गरेको बिक्री गर्ने सकेको छैन, जानेको छैन, ठाउँ पाएको छैन, कतिपयलाई जडीबुटी प्रशोधन केन्द्र यहाँ छ, यसले हाम्रो उत्पादन लिइदिन्छ भन्ने जानेका छैनन्, जडीबुटी त्यसै कुहिएर खेर गइरहेको छ । जसले गर्दा कृषकको मेहनत त्यसै खेर गइरहेको छ । त्यसैले सरकारले नेपाली किसानको उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा जान पाउने गरी प्रोत्साहन गर्नुपर्छ । त्यसका लािग एउटा अन्तर्राष्ट्रिय बजारमा हाम्रा बस्तु बिक्री गर्नका लागि एउटा छुट्टै निकायको एकदमै आवश्यकता छ । जसले नेपालमा उत्पादित वस्तुको विदेशबाट डिमाण्ड ल्याउँछ र नेपाली वस्तुको त्यहाँ बिक्री हुन्छ । त्यसो भयो भने हाम्रा कृषकहरु समृद्ध हुन्छन् । यसबाहेक पुँजीको अभाव छ, मेनपावरको अभाव छ कतिपय ऐन कानूनको समस्या छ, हाम्रो आफ्नै बजार छैन, बजारमा कसरी जाने त्यो पनि समस्या नै छ । हाम्रा उत्पादनहरुलाई गुणस्तरीय बनाउनुपर्ने छ, प्रतिस्पर्धी बनाउनुपर्ने छ, सार्वजनिक खरिद ऐनहरु पनि चुनौतिपूर्ण छन्, किसानको हितमा हुने खालको खरिद ऐन छैन, त्यसलाई बदल्नुपर्ने छ, जुन हामीले प्रधानमन्त्री कार्यालयमा दिएका छौं । हामीलाई आशा छ, त्यो स्वीकृत भएर आउँछ भन्ने । सरकारले तीन खम्बे अर्थ नीति भनेको छ, सरकार, पब्लिक प्राईभेट पाटनरसीपको कुरा गरेको छ, भनाई एकातिर छ गराई अर्कोतिर छ । अर्थात यो कुरा भाषणमा मात्र सिमित छ । हामीलाई आबश्यक पर्ने टेक्नोलोजी हामीसँग छैन, यसका लागि त हामीले प्राईभेडसँग मिल्नुपर्यो तर हामीलाई त्यसो गर्न कतिपय ऐन, कानून र कार्यविधिले बाँधेको छ । जसले गर्दा न हामी टेक्नोलोजी ल्याउन सक्छौं न सरकारले नै ल्याइदिन्छ । दुवै हुँदैन, यस्तो भएपछि त उत्पादनमा समस्या भयो । त्यसैले यस्तोमा स्पष्ट नीति ल्याउनुपर्छ । त्यसमा ढिलाई भइरहेको छ । यस्ता समस्या छन् । तर चुनौति भएपनि हामी सामना गर्दै अगाढि बढ्ने छौं ।
    यसका लागि नीतिको पनि त समस्या होला नि ?
    कतिपय ऐन, नीतिले हामीलाई काम गर्न समस्या पारेको छ भने कतिपय ऐन, नीतिको कार्यान्वयन हुन सकेको छैन, अध्ययन अनुसन्धान र लगानीको समस्या छ ।
    आफ्नो काममा कतिको सन्तुष्ट हुनुहुन्छ ?
    मलाई सरकारको र कर्मचारी साथीहरुको पूर्ण सहयोग छ, बोर्डको पनि सहयोग नै पाएको छु । जसले गर्दा अरुभन्दा पृथक र बढी क्षमताकासाथ उत्पादन गरिरहेको छु । त्यसैले म मेरो काममा सन्तुष्ट छु ।

    प्रस्तोताः टिबी विरही

    प्रतिकृया दिनुहोस्