News Portal

  • जनताको अनुहारमा क्रान्ति ल्याउने गरी काम गर्दैछौं

    २३१२ पटक

    दुर्गा थापा
    नगरप्रमुख: बेलका नगरपालिका, उदयपुर


    बेलका नगरपालिकाले कोरोना कालमा के–कस्ता काम के–कसरी गरिरहेको छ ?
    अहिले हामी कोभिड नियन्त्रण तथा रोकथामका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य मापदण्डअनुसार आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको काम गर्दैछौं । कोरोनाको प्रकोप भएको हुनाले यसपटकको बजेटको शीर्षक पनि उत्पादनको दोस्रो वर्ष, कोरोना विरुद्धको संघर्ष भन्ने राखेर त्यसका विरुद्ध लड्न कोरोना नियन्त्रण तथा रोकथामका लागि १ करोडको कोष स्थापना गरेर हामीले काम गरिरहेका छौं । त्यसअन्तर्गत ५० जना जति अट्ने पुरुषहरुका लागि र २० जना जति अट्ने महिलाहरुका लागि गरेर दुईवटा क्वारेन्टिन निर्माण गरेका छौं । त्यसैगरी यसको छिमेकी नगरपालिकाबाट र भारतबाट यहाँ आउने मानिसहरुलाई बोर्डरमै गएर सुरक्षित रुपले मानव ढुवानी सेवाअन्तर्गत सिधै क्वारेन्टिनमा ल्याउने र पीसीआर परीक्षण गरी पोजेटिभ देखिएकालाई आईसोलेसनमा नेगेटिभ देखिएकालाई घर पठाउने काम गरेका छौं भने हाम्रा ८ वटै वडा मिलेर स्वीस सरकारको सहयोगमा चौदण्डिगढी नगरपालिकामा कोभिड अस्पताल पनि निर्माण गरिरहेका छौं । हामीले काम गर्दा साजाजिक दुरी कायम गर्ने, माक्स अनिवार्य लगाउने, काम गर्नेहरुलाई काम गर्ने ठाउँमै क्वारेन्टिन बनाएर राख्ने र सेनिटाइजर अनिवार्य लगाउने गरेर विकास निर्माणका पनि काम गरिरहेका छौं । हामीले विकास निर्माणका योजना बनाएर सर्वेक्षण गर्ने, उपसमितिहरु गठन गर्ने, कतिपय ठेक्का टेन्डरहरु निकाल्ने, कर्मचारीहरु नियुत्ति गर्ने, २०७६ /०७७ को प्रगति प्रतिवेदन प्रकाशित गर्ने, अहिले अति आवश्यक भएको बन ऐनदेखि लिएर ढुङगा, गिटी, बालुवा उपयोगको मापदण्ड तयार पार्ने, आइई गर्नेजस्ता काम गरिरहेका छौं ।
    तपाईको नगरपालिकामा कोरोना रोगी कति छन् त ?
    १७ सय मानिसको स्वास्थ्य परीक्षण गरेकोमा ३४ जनामा पोजेटिभ रिपोर्ट आएको छ, एक जनाको अहिले विराटनगर अस्पतालमा उपचार भइरहेको छ । ३३ जना ठीक भएर घर फर्किसके, यहाँ समुदाय स्तरमा कोरोना फैलिसकेको छैन, नियन्त्रित अवस्थामा छ ।

    “हामीले ‘एक वडा एक उत्पादन, एक वडा एक प्राविधिक’ भनेर वडाहरुलाई आधार मानेर यो वर्ष उत्पादनको काम गरिरहेका छौं । ५,६,७,८ वडालाई मसला जोन घोषणा गरेर त्यसमा मसलाका प्रशोधन केन्द्रहरु सञ्चालन भइरहेका छन् र त्यसलाई अझ प्रविधियुक्त बनाउने गरी लागिरहेका छौं । त्यस्तै वडा नं. १,२,३,४ मा बहुवाली जोन कार्यक्रम घोषणा गरेर आलु, मैक र धानको उत्पादन तीव्र रुपले थालेका छौं ।”


    बजेट कस्तो ल्याउनुभयो, विकासका काम कतिको भइरहेका छन् ?
    यो वर्ष हामीले उत्पादनलाई केन्द्रित गरेर बजेट ल्याएका छौं । उत्पादनमा हाम्रो साथ, बस्दिन म खालि हात भन्ने नारा कार्यान्वयन गर्नेगरी बजेट आएको छ । हाम्रो ७३ करोडको बजेटमध्ये झण्डै ५ करोड जतिको चाहिँ हाम्रो नगरको मात्रै बजेट कृषिमा छ । हामीले ‘एक वडा एक उत्पादन, एक वडा एक प्राविधिक’ भनेर वडाहरुलाई आधार मानेर यो वर्ष उत्पादनको काम गरिरहेका छौं । ५,६,७,८ वडालाई मसला जोन घोषणा गरेर त्यसमा मसलाका प्रशोधन केन्द्रहरु सञ्चालन भइरहेका छन् र त्यसलाई अझ प्रविधियुक्त बनाउने गरी लागिरहेका छौं । त्यस्तै वडा नं. १,२,३,४ मा बहुवाली जोन कार्यक्रम घोषणा गरेर आलु, मैक र धानको उत्पादन तीव्र रुपले थालेका छौं । १ र ३ मा प्रदेश सरकारको योजनामा ब्लक कार्यक्रम सञ्चालन भएको छ । कृषिमा जोन, ब्लक र पकेट कार्यक्रमहरु सञ्चालन भइरहेका छन् भने कष्टम हायरिङ कार्यक्रम अन्तर्गत नगरपालिकामा भएका मेसिन औजारहरु खेतीका लागि उपयोग गर्न किसानले भाडामा लानसक्ने व्यवस्था गरेका छौं । हामीले यो वर्षको बजेटमा उल्लेख गरेर बोका खसी संकलन केन्द्र निर्माण भइसकेको छ, उद्घाटन गर्न बाँकी छ । अहिले हाम्रो व्यवसायिक भवन पनि बनिसकेको छ, अब हामी चाँडै चिस्यान केन्द्र पनि निर्माण गर्दैछौं । त्यसैगरी हामीले सिँचाई अभियान सञ्चालन गरिरहेका छौं । हामीले किसानहरुलाई आधार समर्थन मूल्य तोकेर किसानका उत्पादनहरु खरिद गरिदिने कार्यक्रम सञ्चालन भइरहेको छ भने उद्यमका लागि काम गर्ने उद्यमीका लागि युवा स्वरोजगार केन्द्रसँग समन्वय गरेर घुम्ती कोष स्थापना गरेर बिना घितो सस्तो ब्याजमा व्यवसायिक ऋण उपलब्ध गराउने गरी ४ करोड बजेट छुट्याएका छौं । कृषिमा हामीले चक्लाबन्दी खेतीअन्तर्गत अदुवा, बेसारदेखि माछा, पशुपन्छी, भैसी, बंगुर र बाख्राको पकेट क्षेत्र बनाएर उत्पादन गर्ने, बंगुर र बाख्राको नश्ल सुधार र कृतिम गर्भाधान गर्ने कामहरु सञ्चालन गर्ने योजना बनाएका छौं । पशुमा हामीले यो पहिल्यैदेखि नै गरिरहेका छौं, त्यसलाई अझ व्यवस्थित बनाउँछौं । त्यसैगरी पशुलाई खुआउने विभिन्न प्रकारका घाँसहरु लगाउने, लगाएकालाई प्रबद्र्धन गर्ने काम गरिरहेका छौं । अर्को बेलका नगरपालिकाको ५ वर्ष आवधिक योजनामा पहिलो १० वटा प्राथमिकताका क्षेत्रहरु छन् । त्यसमध्ये पहिलो प्राथमिकताको क्षेत्र कृषि र पशुपन्छी भएकाले हामीले यो उत्पादन नियन्त्रणको प्रणालीबाट जनताहरुलाई कृषि सूचनाहरु पुर्याउने, धेरैभन्दा धेरै किसानहरुलाई प्रविधि र मेसिन ओजारहरु बिउ, मल उपलब्ध गराउने, कृषि तालिमहरु दिनेदेखि कृषि उत्पादन र उत्पादकत्व बृद्धि गर्ने गरी कृषिमा काम गरिरहेका छौं । यस्तै कृषिअन्तर्गत नै भूमि व्यवस्थापनमा आउँदाखेरी यो आर्थिक वर्षभित्रमा बेलका नगरपालिका भित्रमा रहेका १२ हजार १ सय २९ घरधुरीमा रहेका जति पनि ऐलानी जग्गाहरु छन् ती जग्गाहरु नापेर लालपूर्जा वितरण गर्ने गौरवको आयोजना कार्यान्वयन गरिरहेका छौं । त्यसका लागि प्रदेश भूमि आयोगका विज्ञ जगत देउजा, नेकपाका केन्द्रीय सदस्य गोपाल गुरागाईं र नापी अधिकृतहरु आएर हामीले गरेका कामहरुको भेरिफिकेशन गरिरहनुभएको छ । हामी आगामी पौष महिनाभित्र भूमिसम्बन्धी सम्पूर्ण कार्य सम्पन्न गरेर भूमि व्यवस्था आयोगलाई कागपत्रहरु बुझाई सक्ने गरी काम गरिरहेका छौं । यसका लागि हाम्रा कर्मचारी र बाहिरका विज्ञसहित ५० जना कर्मचारीहरु खटिएर सबैभन्दा बढी समस्याको रुपमा रहेको भूमि व्यवस्थाको महत्वपूर्ण काम सम्पन्न गरिरहेका छौं । यसले अनौपचारिक भूस्वामित्वलाई औपचारिक बनाएर किसानहरुको हातमा लालपूर्जा दिने महत्वपूर्ण काम सम्पन्न गरिरहेका छौं । त्यसैगरी हामीले यो वर्ष अर्को महत्वपूर्ण काम हाम्रो मात्रै नभएर विभिन्न नगरपालिकामा रहेको कुहिने र नकुहिने फोहोर एवम् लेदो संकलन गर्ने फोहोर व्यवस्थापन उद्यान प्लान्ट बनाउँदैछौं । त्यसका लागि मेसिनहरुको परीक्षण पनि भइरहेको छ । त्यसमा हामीले फोहोर व्यवस्थापन केन्द्र, हरियाली पार्क, अर्गानिक मलको फ्याक्ट्री बनाउने कामका लागि गत वर्ष २ करोड खर्च भइसकेको छ, यो वर्ष २ करोड हुँदैछ र अर्को वर्ष ८४ लाख गरी ४ करोड ८४ लाखमा नगरपालिका अन्तर्गत फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणको काम अगाडि बढिरहेको छ । त्यसैगरी खेलकुदमा बेलका रंलशाला, कबर्ड हल र हरेक वडामा एक एकवटा खेलकुद भवन स्थल निर्माण भइरहेको छ, खेलकुद सामग्रीहरु वितरण भइरहेको छ, कराँते र ताइकण्डोका कोचिङ क्लासहरु भइरहेका छन् । त्यसैगरी शिक्षा क्षेत्रमा बेलका क्याम्पसको भवन निर्माण भइरहेको छ । शिक्षा अन्तर्गत बेलका जनता क्याम्पसको भवन निर्माण भइरहेको छ । माने गुरुङ चौरी नमुना मावि स्वीकृति भएको छ यो वर्ष साडे ३ करोड रुपैया सहयोग हुनेछ । ९ देखि १२ सम्मको इन्जिनियरिङ उच्चमावि सञ्चालन भइरहेको छ, विद्यार्थीहरु भर्ना भइसकेका छन् । यो नगरपालिक अन्तर्गतका सबै विद्यालयको क्षमता बृद्धि गर्नेगरी ३६/३६ लाखको भवन निर्माण गर्ने, खाजा कार्यक्रम सबै बिद्यालयमा सञ्चालन गर्ने, सेनिटरी प्याड सबै बिद्यालयमा निःशुल्क वितरण गर्ने, २ सय जति छात्राहरुलाई साइकल वितरण गर्ने, ७ वटा जति विद्यालयमा चर्पीको व्यवस्था गर्ने, केही विद्यालयको मर्मतसंहार गर्ने र प्रत्येक विद्यालयमा ट्रेकिङ टिचर, मण्टेश्वरी र स्मार्ट टिचिङ कक्षाहरु सञ्चालन गर्ने र यो वर्ष कृषिको पनि नौ बाह«को प्राविधिक कक्षा सञ्चालन गर्ने लक्षसहित हामी लागिरहेका छौं । त्यसैगरी अर्को तेस्रो प्राथमिकतामा रहेका गुणस्तरीय स्वास्थ्य सेवा हो । त्यसअन्तर्गत स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन हुन लागेको छ, नगर अस्पताल निर्माण गर्ने निर्णय भइसकेको छ । अब हामी एमबीबीएस डाक्टरहरु राखेर स्वास्थ्य बिमा सेवासहितको गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नेछौं । आयुर्वेदिक अस्पतालमा पन्चकर्मको सेवा थप्न लागेका छौं । सामुदायिक औषधि पसल सञ्चालन गरेर जनताहरुलाई सुपथ मूल्यमा औषधि उपलब्ध गराउने छौं । सर्प दंश उपचार केन्द्र र व्यवस्थाका लागि भेन्टिलेटरको व्यवस्था गर्न कोसिस गरिरहेका छौं । आँखा अस्पतालको स्तरोन्नति गर्न लागिरहेका छौं । नगरपालिका आफैले सञ्चालन गरेको आयुर्वेदिक अस्पतालको स्तरोन्नति गरिरहेका छौं, बर्थिङ सेन्टरहरुमार्फत बच्चाबच्ची जन्माउने काम सञ्चालन गरिरहेका छौं । यो काम मैनामैनी र कुटुन्जेबारीबाट त्यो सुविधा दिने गरी काम गरिरहेका छौं । आङ खस्नेहरुका लागि निःशुल्क उपचार गर्ने र सल्यक्रिया गर्ने व्यवस्था गरिरहेका छौं । आँखाको निःशुल्ल सल्यक्रिया, दाँतको उपचार र दाँत राख्ने सेवा सञ्चालन, घुम्ति स्वास्थ्य शिविर सञ्चालन भइरहेको छ । त्यसका लागि मैले उपयोग गर्दै आएको गाडी त्यो शिविर सञ्चालनका लागि प्रदान गरेर हरेक जनताको घरदैलोमा गएर स्वास्थ्य सेवा दिने काम तीव्र रुपमा गरिरहेका छौं । यो अर्को महत्वपूर्ण कार्य हो । त्यसैगरी अहिले ३ सय २७ जना मानसिक रोगीहरुलाई निःशुल्क उपचार गरिरहेको छ भने गर्भवती महिलाहरुलाई निःशुल्क भिडियो एक्सरे गर्ने काम पनि गरिरहेको छ । अहिले दुईवटा एम्बुलेन्स थपिँदैछन्, एउटा शव बहानको व्यवस्था गरिएको छ भने अर्को सुरक्षित मातृत्व भनेर महिलाहरुका लागि मात्रै पनि एउटा एम्बुलेन्सको ब्यबस्था गरेको छ । यि सबै सेवामार्फत जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिरहेका छौं । हामीले पर्यटनका लागि २२ वटा पर्यटनको गनतव्यस्थल तोकेर नगरपालिकाले बृहत रुपमा काम गरिरहेको छ । हालै मैनामैनीमा बृहत बसाहाको मूर्ति निर्माण गरिरहेको छ । बाङकाली मन्दिर निर्माण, प्याराग्याइडिङ, चिल्ड्रेनपार्क, उद्यानपार्क, होमस्टे, कृषि बन्यजन्तु आरक्षलगायत संग्राहलय निर्माण भइसकेको छ । सफा मन आफ्नो पन, अवस्य गरौं बेलका भ्रमण भन्ने नाराका साथ पर्यटनमा परिणाम आउने र जनताले देख्नेगरी पर्यटन प्रबद्र्धनको काम गरिरहेका छौं भने अन्य भौतिक पूर्वाधार निर्माणका कामहरुको योजना बनाउने, डिपिआर तयार गर्नेलगायतका कामहरु सम्पन्न गरिसकेको छ । पूर्वाधारतर्फ यो वर्ष हामीले सबै वडा कार्यालयहरु निर्माण सम्पन्न गर्ने छौं भने नगरपालिकाको आफ्नै भवन पनि जेष्ठ भित्रमा सम्पन्न गर्ने गरी काम अगाडि बढिरहेको छ । हामीले सबै वडामा चक्रपथ निर्माण गरिसकेका छौं, अब यो वर्षभित्रमा सबै वडामा वडा जनस्वास्थ्य भवनहरु निर्माण गरिसकेका हुनेछौं भने नगरपालिकामा १५ सैय्याको अस्पताल पनि यो वर्ष निर्माण हुने छ । अहिले हामीले नगर चक्रपथ पनि निर्माण आरम्भ गरिसकेका छौं । सिँचाइमा विभिन्न बोरिङ गर्ने काम, अन्डर हार्भेस्टिङको काम, सोलरबाट सिँचाई गर्ने काम, कुलो मर्मत संहार, प्लास्टिक पोखरी, नयाँ सिँचाईका योजनाहरु, विभिन्न दातृ निकायसँग समन्वय गरेर साना सिँचाईका कामहरु मिलेर गरिरहेका छौं । यसैगरी यो वर्ष ५ वटा जति झोलुङगे पुल बनाउने योजना रहेको छ । त्यसका लागि केन्द्र सरकार र प्रदेश सरकारलाई गुहारेर ५ नं. वडामा रहेको किलेरी खोलाको पुल निर्माणको काम भइरहेको छ । यस्तै खानेपानीमा आउने वर्ष ३ वटा योजना भागलपुर र चकरघटी लगायत ४५ सय मानिसहरुलाई धारा पुर्याउने योजना छ भने विद्युतीकरण कार्यक्रमअन्तर्गत नगरका प्रत्येक टोलटोलमा बिजुली पुर्याउने लक्षका साथ नगरपालिकाले साडे १४ करोड लागतमा सम्मन्न गर्नेगरी ठेक्कासमेत लगाई सकेको छ भने अन्य ठाउँहरुको बिजुलीको कामहरुलाई समेत अगाडि बढाइरहेका छौं । यो रामपुरभित्रका मुख्यमुख्य सडकहरुमा स्मार्टलाईटहरु राख्ने कामको स्वीकृति भइसकेको छ । त्यसलाई हामी यही तिहारमा झलमल्ल पार्ने छौं । यसैगरी हाम्रो बेलका नगरपालिकाले स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, रोजगारीलगायत उद्यममा हामीले युद्धस्तरमा काम गरिरहेका छौं । उद्यमअन्तर्गत यसपाली हामीले ३ सयवटा साना उद्योग सञ्चालन गर्नेका लागि बजेट बिनियोजन गरेका छौं । त्यसमा उद्यमीहरुलाई तालिम दिने, उद्योगका लागि आवश्यक औजार, मेसिन उपलब्ध गराउने, बैकसँग सरल ऋण उपलब्ध गराउने व्यवस्था मिलाउने लगायतका काम यो वर्ष गरिरहेका छौं । यसबाहेक विभिन्न शैक्षिक सुधारका कार्यक्रमहरु, जहाँ अभर त्यहाँ सपोर्ट अन्तर्गतका कार्यक्रमहरु, हिंसा पीडित महिलाहरुलाई सेवा दिने योजनाअन्तर्गत सुरक्षा बास कार्यक्रम सञ्चालन भएको छ, त्यसलाई स्तरोन्नती गर्ने, अर्को महत्वपूर्ण कार्य यो नगरपालिकाको वडा नं. ५ को घुम्ने पुछारमा औद्योगिक ग्राम नाउने कार्य प्रदेश सरकारले स्वीकृति दिई सकेको छ । त्यसलाई हामीले केन्द्र सरकारसँग स्वीकृतिको लागि दिएका छांै त्यो स्वीकृत हालै स्वीकृति भएको छ । त्यसैगरी बेलका नगरका डोजर र ब्याकालोडर लागेर विभिन्न मर्मत संहार र नयाँ निर्माणका कामहरु तीव्र गतिमा भइरहेका छन् । त्यसैगरी खोला नदी नियन्त्रणदेखि बिपद्मा परेका मानिसहरुलाई बिपद् व्यवस्थापन गर्नेदेखि वातावरण संरक्षण गर्नेसम्मका कामहरु गरिरहेका छौं भने केही नयाँ कानुन बनाउने कामहरु, बालमैत्री नगर बनाउने, बृद्धाआश्रमको स्तरोन्नति गर्ने कार्य, नगरपालिका भित्र खरको छाना विस्थापित गरेर ३ सय ३६ घरमा टिनको छाना लगाउने कार्य भइरहेको छ भने अति बिपदमा परेका परिवारलाई विपद् व्यवस्थापन गर्ने कार्यदेखि सचेतनताका कार्यक्रमहरुसमेत सञ्चालन गरिरहेका छौं ।
    के कुरामा चाहिँ बढी जोड दिइरहनुभएको छ ?
    सन्तुलित विकासलाई हामीले जोड दिइरहेका छौं । विकास भनेको सडक मात्रै बनाएर हुँदैन, गाडी मात्रै धेरै कुदाएर हुँदैन, कुला पैनी मात्र बनाएर हुँदैन, अस्पताल, विद्यालय र खेलमैदान मात्रै बनाएर हुँदैन, सबै समान रुपले निर्माण गर्नुपर्छ । यो कुरालाई ध्यानमा राखेर हामीले कृषि, पर्यटन, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा, भूमिको व्यवस्थापन गरेर सुकुम्बासी समस्याको अन्त्य, भ्रष्टाचारको अन्त्य र सुशासनको प्रत्याभूति, समाबेशी सहभागिता, उद्यमको विकास, पूर्वाधारको विकास, मानवीय श्रमको विकासजस्ता कुरालाई ध्यान दिएर त्यसका माध्यमबाट नगरको विकासमा अगाडि बढिरहेका छौं ।

    यतिका काम गरिसक्नुभयो कतिपय पाइप लाइनमा छन्, गर्दै हुनहुन्छ, यी सबै काम गर्न त स्रोत साधन पनि चाहियला कसरी जुटाई रहनुभएको छ, चुनौति कस्ता छन् ?
    चुनौतिहरुको त चाङ नै छ तैपनि यसलाई चिर्दै कृषि क्षेत्रका काम गर्न मानव स्रोतअन्तर्गत कृषि प्राविधिकहरु, इन्जिनियरहरु, कृषि विज्ञहरु नियुक्ति गर्नेदेखि करारमा मानिसहरु राख्ने काम गरिरहेका छौं । उद्यम विकास शाखा खोलेर उद्यम विकास अधिकृत राखि सकेका छौं । प्राविधिज्ञहरु राखेका छौं भने अन्य एनजिओ आईएनजिओसँग पनि समन्वय गरेर त्यसलाई पनि कार्यक्रमको रोष्टरमा राखेर काम गरिरहेका छौं । अर्को कार्यक्रमको लागि पिएसयू प्रोग्राम सर्पोट यूनिट गठन गरेर हाम्रा सम्पूर्ण विकास साझेदारहरुलाई राखेर कार्यक्रम बनाइरहेका छौं । अहिले हामीसँग ३२ वटा विकास साझेदारहरु हुनुहुन्छ उहाँहरु सबैले हामीलाई कसैले पूर्वाधारको सेक्टरमा, कसैले जनचेतना अभिबृद्धिको सेक्टरमा, कसैले महिला हिंसाको सेक्टरमा, कसैले कुष्ठरोग उपचारको सेक्टरमा, कसैले नवजात शिशु स्याहारको सेक्टरमा, कसैले महिलाहरुको प्रजनन् स्वास्थ्यमा काम गर्ने संघसंस्थाहरुलाई हामीले काम गर्ने आह्वान गरेका छौं । उहाँहरुले नगरपालिकासँग एकाकार भएर काम गरिरहनुभएको छ । स्रोत व्यवस्थापनका सन्दर्भमा हामीले माथिका संघसंस्था, प्रदेश सरकार र केन्द्र सरकारको पाटनरसिपमा धेरै कामहरु गरिरहेका छौं । हामीले लेकाली रंगशाला संघीय र प्रदेश सरकारसँगको साझेदारीमा सञ्चालन भइरहेको छ भने चिसान केन्द्र प्रदेश सरकारको साझेदारीमा भइरहेको छ । बाख्रा र बंगुरपालनका काम प्रदेश सरकारसँगको साझेदारीमा भइरहेको छ । त्यसैगरी कतिपय काम संघीय सरकार प्रदेश सरकार, विशेष अनुदान, विभिन्न संघसंस्था र राजदूताबासबाट सहकार्य गरेर स्रोत साधन जुटाइरहेका छौं भने कतिपय आफ्नै नगरपालिकामा भएको स्रोत साधन जुटाएर, यहीँका नगरवासीको लगानीबाट साठी चालीसमा अर्थात नगरपालिकाले ६० र लगानीकर्ता नगरबासीले ४० प्रतिशत नाफा लिने गरी नगद उठाएर पनि काम गर्छौं । यस्ता काममा उद्योगधन्दा सञ्चालन गर्नेदेखि बिजुली नगरबसहरु सञ्चालन गर्ने कार्य गरिरहेका छौं । यसबाहेक हामी रिसर्चको काम तररा रिसर्च सेन्टरले र क्यान्सरको उपचार भतरपुर क्यान्सर अस्पतालले गरिरहेको छ, नार्कले गरिरहेको छ, कतिपय कृषि इन्जिनियरहरुले गरिरहेका छन् । हामीलाई सेनाहरुले सहयोग गरिरहेका छन् । यहाँको पृतनाले १५ सय एभोगाड्रोको बिरुवा रोपिदिएर सहयोग गरेको छ । राष्ट्रपति चुरे कार्यक्रमले सहयोग गरेको छ, स्वीस सरकार प्रयास हेल्बिटास कार्यक्रम थियो । हामीलाई केन्द्र सरकारबाट आउने ४० प्रतिशत करको रकम अहिले आइरहेको छैन तैपनि हामीले त्यसलाई म्यानेज गर्दै विभिन्न संघसंस्थाको सहयोग लिएर काम गरिरहेका छौं । यसरी हामीले विभिन्न क्षेत्रकोे सहयोग जुटाएर काम गरिरहेका छौं । चुनौतिहरुमा चाहिँ कतिपय कानुनी जटिलताका कुराहरु छन्, केन्द्र सकार र प्रदेश सरकारले हाम्रो स्रोत साधन र काममा हस्तक्षेप गर्ने, तोकिएको बजेटको सिलिङ संघीय सरकारले नदिने, काम गर्न ऐन कानुनको बाधा नफुकाइ दिने, कर्मचारीको नियुक्ति गर्न नदिने, दरबन्दी अनुसारको कर्मचारी नपठाइदिने, हामीलाई गर्ने पनि अधिकार नदिने आफुले पनि नगरी दिने, कतियय करहरु उठाउन असजिलो बनाइ दिने, कतिपय ऐन एकअर्कामा बाझिने र बाझिएको हकमा ऐन नै खोरेज हँुदा काममा समस्या हुने, कतिपय बराबरी सक्रयता र बजेट परिचालन एवं सामाजिक परिचालनमा सन्तुलन गर्ने नसकिने, कतिपय लाइन एजेन्सीहरु पारदर्शी नहुनेदेखि आफ्नो योजनाअनुसार काम गर्ने असजिलो हुने समस्याहरु हामीले भोग्दै आइरहेका छौं ।
    नगरवासीहरुलाई केही भन्नुहुन्छ ?
    हामी कामको दृष्टिले तेस्रो वर्षमा प्रवेश गरेका छौं, यसवर्ष हामी निकै काम गर्ने योजनामा थियौं । तर, कोरोना महामारीले सोचे जसरी काम गर्न पाएनौं तथापि स्रोत साधन जुटाएर जनताको हितमा धेरै काम गरिरहेका छांै । यो वर्ष बाँकी रहेका काम अर्को वर्ष सम्पन्न गर्नेछौं तर हामीले निर्वाचनका बेला जनतामा गरेका प्रतिबद्धता पूरा गरी छाड््नेछौं । पूर्वाधार विकास निर्माणका काम हुन्छन् भैपनि रहेका छन् तर अहिलेको महामारीको अवस्थामा बाँच्नु र बचाउनु नै सबैभन्दा ठुलो कुरा भएकाले सरकारले जारी गरेको स्वास्थ्य निर्देशिका पूर्ण पालना गर्दै आफ्ना कामहरु सम्पन्न गरौं र नमुना नगर निर्माणको अभियानलाई सार्थक बनाउन सबै नगरवासीमा आग्रह गर्दै सचेतनात्मक सहयोगको लागि अनुरोध गर्दछु ।

     

    प्रतिकृया दिनुहोस्