निर्मलकुमार गदाल
प्रमुख: कृषि ज्ञान केन्द्र, ललितपुर
कोरोना कहरमा ज्ञान केन्द्रले कसरी कार्यालय चलाएको छ ?
कोरोना संक्रमण बढिरहेको छ, तथापि सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पूरा गरेर काम गरिरहेका छौं । अहिले हामीले स्वास्थ्य जोखिमलाई ध्यानमा राखेर प्रत्येक दिन आधा कर्मचारीबाट काम गरिरहेका छौं । त्यसमा पनि डिजिटल प्रविधि अपनाएर अनलाइन सेवामार्फत सेवाग्राहीलाई सेवा दिइरहेका छौं । हामीले कार्यालयमा कोही पनि सेवाग्राहीलाई प्रवेश गराउँदैनौं, घरमै बसेर सेवा लिन लगाउँछौं र हाम्रा कर्मचारीलाई पनि छिटो र छरितो सेवा दिन लगाउँछौं ।
कस्ता कस्ता काम गरिरहनुभएको छ त ?
हामीले गत आर्थिक वर्षका काम सम्पन्न गरिसकेका छौं । अहिले चालु आर्थिक वर्षको कामको थालनी गरेका छौं । यसमा कतिपय योजनाहरू अघिल्लो वर्षकै निरन्तरताको रूपमा अगाडि बढाउने गरी काम थालेका छौं भने केही नयाँ कार्यक्रमहरूको थालनी गर्दैछौं । जसमा उपत्यकाका लागि पर्यावरणीय कृषि उपज तथा बजारीकरण कार्यक्रम, अघिल्लो वर्ष सञ्चालित एक निर्वाचन क्षेत्र एक नमुना फार्म कार्यक्रमको निरन्तरता, बस्ती साझेदारी कौसी खेती कार्यक्रम, उच्च प्रविधियुक्त संरक्षित संरचनामा तरकारी खेती, साना सिँचाइ कार्यक्रम र नमुना कौसी खेती कार्यक्रम सञ्चालनका लागि हामीले सूचनासमेत जारी गरिसकेका छौं । यसका लागि किसानहरूले हाम्रो कृषि ज्ञान केन्द्रको वेभसाइट हेरेर अनलाइनमार्फत सेवा प्रस्ताव पेस गर्न सक्नुहुने छ । यदि कोही प्रविधिको उपयोग गरेर काम गर्न नसक्ने अवस्थाको हुनुहुन्छ भने सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पूरा गरेर कार्यालयमै आई सूचना बुझ्न सक्नुहुने छ । त्यसका लागि हामीले कडा सुरक्षा सतर्कता अपनाएका छौं ।
प्रविधिको उपयोग गर्न नसक्ने कृषकहरू थुप्रै छन्, तिनीहरु त कार्यालयमै आउलान् नि ?
वेभसाइट र अनलाइनको उपयोग गर्न नजान्ने थोरबहुत किसानहरू आउनुहुन्छ तर हामीले स्वास्थ्य मापदण्ड पूरा गर्न लगाउँछौं, हाम्रो कार्यालयमा राखिएको सेनिटाइजर प्रयोग गर्न र दूरी कायम राख्न लगाउँछौं । किनकी, अहिले कोरोना संक्रमण बढिरहकाले सरकारले जारी गरेको स्वास्थ्य प्रोटोकल चाहिँ पूरा गर्नैपर्छ सबैले । त्यसलाई हामीले पनि कडाईका साथ पालना गराएका छौं । भरसक घरबाटै टेलिफोनबाट, इमेल, इन्टरनेटबाट सेवा लिन आग्रह गर्छौं । जसले गर्दा कार्यालयमा चाप धेरै हुँदैन ।
“कृषि क्षेत्रअन्र्तगत अन्नबाली, तरकारी, फलफूल, पशुपन्छी, कृषि पर्यटनसँग सम्बन्धित कार्यक्रम, अर्गानिक तरकारी, फलफूल, दुग्धजन्य पदार्थ उत्पादन, प्रशोधन, जडीबुटी उत्पादन प्रशोधनलगायत शीतभण्डार निर्माणका क्षेत्रमा कृषकलाई टेवा पुग्ने गरी लगानी गर्ने गरेका छौं ।”
कस्ता क्षेत्रहरूमा लगानी गरिरहनुभएको छ ?
कृषि क्षेत्रअर्न्तगत अन्नबाली तरकारी, फलफूल, पशुपन्छी, कृषि पर्यटनसँग सम्बन्धित कार्यक्रम, अर्गानिक तरकारी, फलफूल, दुग्धजन्य पदार्थ उत्पादन, प्रशोधन, जडीबुटी उत्पादन प्रशोधनलगायत शीतभण्डार निर्माणका क्षेत्रमा कृषकलाई टेवा पुग्ने गरी लगानी गर्ने गरेका छौं ।
गत आवमा भएको लगानीको परिणाम कत्तिको सन्तोषजनक आयो ?
हामी कार्यक्रम स्थलमै गएर परिणाम हेर्छौं । यसमा अधिकांश ठाउँमा सन्तोषजनक रूपमै पाएका छौं । कहीँ बालीनाली उत्पादनमा रोग कीराको समस्या देखियो, कुनै कुराको सुधार गर्नुपर्ने, मेहेनत गर्नुपर्ने देखियो भने हामीले केही थप सहयोग गर्नुपर्ने देखियो भने पनि गर्छौं । र, कतिपय किसानहरूलाई कृषिसँग सम्बन्धित सुझाव, सल्लाह पनि दिन्छौं । धेरैजसो आधुनिक खेती प्रणालीमा जानु भएका किसानहरूले राम्रो र सन्तोषजनक काम गरिरहनुभएको छ भने कतिपय कृषक त्यसतर्फ उन्मुख बनिरहनुभएको छ । समग्रमा भन्दा हामीले गत आर्थिक वर्षमा ७३ प्रतिशत उपलब्धि हासिल गरेका थियौं भने यसपाली पनि कठिन समयका बावजुद हामीले त्यसलाई कायम राखेका छौं । १२ हजार घरधुरीले कौसी खेतीमा आशातीत सफलता हासिल गर्नुभएको छ । कृषकले यस्ता कुरामा ध्यान दिएर यसलाई आफ्नो समृद्धिको विन्दु ठानिरहेको अवस्थाले राम्रै परिणाम दिइरहेको छ । अहिले हामी सहर केन्द्रित क्षेत्रमा कौसी खेती कार्यक्रमतर्फ ध्यान केन्द्रित गरिरहेका छौं । किनकी, यो कार्यक्रमलाई संघीय र प्रदेश सरकारले नीति कार्यक्रममै पारेको हुनाले यसमा हामी योजनाबद्ध रूपमा लागेका छौं । यसका साथै काठमाडौं उपत्यकामा बढी हुने च्याउ खेती र जडीबुटी उत्पादनमा पनि ध्यान केन्द्रित गर्दैछौं । यसर्थ केन्द्र र प्रदेश सरकारले कृषि उत्पादनमा ऋण र अनुदान दुबै लगानी गरिरहेको छ ।
कौसी खेती कार्यक्रम हो । किनकी, सहरमा जमिनको उपलब्धतामा कमी आइरहेको र उपत्यकामा १२ लाख घरहरूले यो कार्यक्रम अपनाउन सक्ने र त्यसो गर्दा हामी तरकारी खेतीमा आत्मनिर्भर बन्न सक्ने देखिन्छ । त्यसैगरी, च्याउ खेतीमा पनि राम्रो सम्भावना देखिन्छ । यसलाई जग्गा धेरै नचाहिने र घरभित्रै पनि गर्नसक्ने भएकाले यो खेती काठमाडौं उपत्यकामा बढी भइरहेको छ । यसतर्फ पनि हामीले ध्यान पुर्याइरहेका छौं भने कृषि पर्यटन कार्यक्रम पनि प्रभावकारी रूपमा अगाडि बढिरहेको छ । यो कार्यक्रमअर्न्तगत कपन, लाँकुरीभञ्याङ र गोदामचौरमा तीनवटा फार्म सञ्चालन भइरहेका छन्, जुन निकै प्रभावकारी छन् ।
“हामीले तीन प्रकारले विभाजन गरेका छौं । काठमाडौं उपत्यकामा १२ लाख घरधुरी रहेको, डेढलाख रोपनी जग्गा छतले ओगटेको र त्यो जग्गा उपयोग गर्न नसकिरहेकाले गर्दा त्यसको उपयोगको लागि कौसी खेती कार्यक्रम नै बनाएर किसानलाई अगाडि बढाइरहेका छौं भने सहरउन्मुख क्षेत्रमा चाहिँ संरचनागत कृषि प्रणालीअन्तर्गतको खेती, जो ग्रिनहाउसभित्र गरिने खेतीलाई फोकस गरेका छौं ।”
उपत्यकामा कृषि विकासको रणनीति कस्तो बनाइरहनुभएको छ त ?
देशका सबै क्षेत्रबाट यहाँ आएर बस्नेको संख्या बढी छ । जसले गर्दा यहाँको बजार पनि ठूलो छ । सेवा सुविधादेखि उर्भरताको हिसाबले पनि उपत्यका अत्यन्तै सम्भावना बोकेको ठाउँ हो । यहाँ अन्य ठाउँमा भन्दा दुईतिहाई बढी संरचनागत कृषिका क्षेत्रहरु अर्थात संरचनागत रूपमा गरिने कृषि फार्महरु छन् । त्यसैले अहिले हामीले उपत्यकामा जहाँ जे उत्पादन हुन्छ, त्यहाँ त्यही उत्पादन गरौं भन्ने मूल नारा अगाडि सारेर कृषकलाई जागरुक पनि बनाइरहेका छौं । जसअनुसार यहाँ अहिले व्यावसायिक खेती प्रणालीको विकास र विस्तार व्यापक बन्दै गएको छ । अहिले हामीले काठमाडौं उपत्यकालाई तीनवटा क्षेत्रको हिसाबले हेरेका छौं । पहिलो जमिन कम घरहरू अत्यधिक भएको क्षेत्र, जहाँ घरको छतमा कौसी खेती गर्न सकिन्छ । त्यसमा एकखालको रणनीति छ भने अर्को सहरीकरणतर्फ उन्मुख घर निर्माण विस्तार पनि हुँदै गरेको, अरू संरचना पनि बन्दै गरेको र खाली जमिन पनि भएको । जसलाई हामी टाउन प्लानिङ उत्पादन एरिया भन्छौ । अर्को ग्रामीण क्षेत्र, जसलाई हामी लोकल उत्पादन क्षेत्र भन्छौं । यसरी हामीले तीन प्रकारले विभाजन गरेका छौं । काठमाडौं उपत्यकामा १२ लाख घरधुरी रहेको, डेढलाख रोपनी जग्गा छतले ओगटेको र त्यो जग्गा उपयोग गर्न नसकिरहेकाले गर्दा त्यसको उपयोगको लागि कौसी खेती कार्यक्रम नै बनाएर किसानलाई अगाडि बढाइरहेका छौं भने सहरउन्मुख क्षेत्रमा चाहिँ संरचनागत कृषि प्रणालीअन्तर्गतको खेती, जो ग्रिनहाउसभित्र गरिने खेतीलाई फोकस गरेका छौं । ग्रामीण क्षेत्रमा चाहिँ हामीले अन्नबाली, नगदे बाली र अन्न खालका बालीहरूलाई फोकस गरेर अगाडि बढिरहेका छौं । यसमा यी तिनै क्षेत्रका किसानहरूलाई प्रविधिमैत्री बनाएर काम गरिरहेका छौं ।
दीर्घकालीन योजना के छन् त ?
कोरोना संक्रमणले गर्दा हाम्रा कार्यक्रम अहिले प्रदेश स्तरमा खुम्चिएका छन् । त्यसैले अहिले नयाँनयाँ कार्यक्रम ल्याउनेभन्दा पनि अघिल्लो आवका पुराना कार्यक्रमलाई नै निरन्तरता दिने गरी कार्यक्रम प्रदेश सरकारले जारी गरिसकेको अवस्था भएकाले मैले माथि भनेकै कार्यक्रमलाई निरन्तरता दिइने छ ।
नेपाल सरकारले अघि सारेको ‘सुखी नेपाली, सम्मृद्ध नेपाल’ निर्माणको अभियानलाई सफल पार्न र नेपाललाई साँच्चिकै कृषिप्रधान देश बनाउन सकिएला ?
हाम्रो विकासको मुख्य आधार भनेकै कृषि उत्पादन हो । त्यसैले नसकिने कुरै छैन । कृषि बिना केही गर्न सकिन्न । बाँच्नका लागि मुलुकलाई औद्योगिकीकरण गर्नसम्म कृषिकै हात हुन्छ । कुनै पनि उद्योग सञ्चालन हुन त्यसको कच्चा पदार्थ कृषिबाटै प्राप्त हुने हो । त्यसैले आत्मनिर्भर र सुखी हुनको लागि कृषिबाहेक अर्को हाम्रो विकल्प छैन भन्ने कुरालाई कोरोना संक्रमण, यसले पारेको असर र सरकारले महत्व दिएको कुरालाई नै हेर्ने हो भने यो कुरा पुष्टि हुन्छ । किनकी, यस्तो महामारीमा पनि काम भइरहने, सबैलाई नभइनहुने क्षेत्र भनेको कृषि नै हो, खाना नै हो । अन्नबाली, फलफूल र तरकारी नभई कसैलाई नहुने कुरा र त्यो कोरोना संक्रमणमा पनि नरोकिने क्षेत्र भएको त प्रमाणित नै भएको विषय हो । तर, यसलाई हामीले आधुुनिकीकरणतर्फ चाहिँ लैजानै पर्छ । हिजोको हामीले अपनाएको खेती प्रणालीलाई भने हामीले परिवर्तन गरेर प्रविधियुक्त, वैज्ञानिक र आधुनिक बनाउनै पर्छ । मानिसले बोक्ने ठाउँमा मेसिनको प्रयोग गर्नैपर्छ, उन्नतस्तरको खेती प्रणाली अपनाउनैपर्छ । कृषिलाई प्रविधिमैत्री बनाउन सकियो भने घरका कौसी कौसीमा तरकारी र फलफूल खेती गर्न सकियो भने हामी आत्मनिर्भर मात्र होइन, अरूलाई निकासी गर्न सक्ने बन्छौं । अर्थात, अरूबाट किन्नेबाट अरूलाई बेच्नेमा परिणत हुन्छौं । त्यसो भएमा हामी धनी हुन्छौं । त्यसकारण हामीले कृषिबाट समृद्धि हासिल गर्न सक्छौं कि सक्दैनौ भन्ने सन्दर्भमा हामीले नसकी धरै छैन, विकल्पै छैन । तसर्थ, यसमा हामी सृजनशील र उत्साहित भएर लाग्नुपर्छ, कृषिबाट समृद्धि सम्भव छ ।
“कृषिलाई प्रविधिमैत्री बनाउन सकियो भने घरका कौसी कौसीमा तरकारी र फलफूल खेती गर्न सकियो भने हामी आत्मनिर्भर मात्र होइन, अरूलाई निकासी गर्न सक्ने बन्छौं । अर्थात, अरूबाट किन्नेबाट अरूलाई बेच्नेमा परिणत हुन्छौं । त्यसो भएमा हामी धनी हुन्छौं । त्यसकारण हामीले कृषिबाट समृद्धि हासिल गर्न सक्छौं कि सक्दैनौ भन्ने सन्दर्भमा हामीले नसकी धरै छैन, विकल्पै छैन ।”
तपाईंलाई काम गर्न चुनौती केके छन् ?
चुनौती बिनाको सफलता हुँदैन । त्यसैले चुनौती हुनुपर्छ र छन् पनि । त्यसमध्ये पनि अहिले ठूलो चुनौतीको रूपमा रहेको कोरोना संक्रमबाट कसरी जोगिएर किसानलाई सेवा दिने, सुरक्षित राख्ने र कार्यालय सञ्चालन गर्ने भन्ने नै ठूलो चुनौती रहेको छ । यसबाहेक कृषि पेसालाई कसरी सम्मानित पेसा बनाउने, युवाहरुलाई यो पेसामा कसरी आकर्षित गराउने, सरकारले कृषि क्षेत्रमा गरेको लगानी र योगदानलाई परिणाममुखी कसरी बनाउने, कृषि उत्पादन कसरी बढाउने भन्ने अहिलेको तीन तहकै सरकारको चुनौती हो, जुन हाम्रो पनि चुनौतीको विषय हो । त्यसैगरी, यो पेसा हाम्रो भरपर्दो पेसा हो, यसले हामीलाई सजिलो अप्ठेरो दुवै समयमा सहयोग गर्छ भन्ने कुरा किसानलाई बुझाएर सरकारले गरेको सहयोग मेरा लागि हो, राष्ट्रका लागि हो भन्ने भावनाको विकास गर्नु अर्को चुनौतीको विषय छ । अर्को, सीमित साधन स्रोत र कार्यक्रमलाई बढीभन्दा बढी कृषकोमा पुर्याएर सरकारको उद्देश्य पूरा गर्नु र परिणाम जेसुकै होस् सरकारी सहयोग बढीभन्दा बढी मैले पाऊँ भन्ने कतिपय कृषकको सोचमा परिवर्तन गरेर प्रदेश सरकारका कार्यक्रम सफल पार्नु अर्को चुनौती हो ।
आफ्ना काममा कत्तिको सन्तुष्टि छ ?
पूर्ण सन्तुष्टि कुनै काममा हुँदैन्, फेरी हामी कामको दौरानमै छौं । यसर्थ, हाम्रो सिंगो टिम कृषकलाई समृद्ध बनाउने प्रदेश सरकारको योजना सफल बनाउँदै सन्तुष्टि लिने काममा केन्द्रित छ ।
प्रस्तोताः टीबी विरही