News Portal

  • क्लियरिङ र सेटलमेन्ट प्रक्रिया छोट्याउन लगानीकर्ताहरूको माग

    आर्थीकसंसार संवाददाता३ असार, २०८२
    ८४ पटक
    ३ असार, २०८२

    काठमाडौं । लगानीकर्ताहरूले क्लियरिङ र सेटलमेन्ट प्रक्रियामा समयसीमा छोट्याउन माग गरेका छन् । लगानीकर्ता छोटेलाल रौनियार, सेयर लगानीकर्ता संघका कार्यवाहक अध्यक्ष तारा फुल्लेल, नेपाल पुँजी बजार लगानीकर्ता संघका महासचिव एसपी चौलागाईं र स्वतन्त्र पुँजी बजार लगानीकर्ता संघका अध्यक्ष डिल्लिश्वर कार्कीले यस्तो माग गरेका हुन् ।

    केन्द्रीय निक्षेप प्रणाली तथा क्लियरिङ लिमिटेड (सीडीएससी)की प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रविन पन्दाकलाई सोमबार भेट गरेर बधाई तथा शुभकामना दिँदै लगानीकर्ताहरूले मोबाइल एप, अनलाइन प्रणाली र डिजिटल साक्षरता अभिवृद्धिको माध्यमबाट दूरदराजको लगानीकर्तालाई सेवा पुर्याउने, आईपीओ आवेदन प्रक्रिया थप सहज, पारदर्शी र प्रभावकारी बनाउने, क्लियरिङ र सेटलमेन्ट प्रक्रियामा समयसीमा छोट्याउने र लगानीकर्ताको गुनासो सुन्ने र समाधान गर्ने प्रभावकारी हेल्पडेस्क वा पोर्टल निर्माण गर्नुपर्ने माग गरे ।

    पन्दाकको सीडीएससीकोको प्रगति थप सुदृढ, विश्वासिलो र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बन्ने विश्वास लगानीकर्ताहरूले लिएका छन् । लगानीकर्ताहरुले नेपालको पुँजी बजार प्रणालीलाई सशक्त, सुरक्षित, पारदर्शी तथा प्रविधिमैत्री बनाउने अभियानमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको र थप नवप्रवर्तनशील, उत्तरदायी तथा लगानीकर्तामैत्री बन्ने आशा र विश्वास रहेको लगानीकर्ताहरुको भनाइ छ ।

    सीडीएससी नेपालको पुँजी बजारमा डिम्याट प्रणाली मार्फत सेयरधनीहरूको लगानीलाई सुरक्षित, व्यवस्थित र डिजिटल माध्यमबाट संचित गर्ने उद्देश्यले स्थापना भएको संस्था हो । यसले मुलुक भरका सेयर लगानीकर्ताका लागि हितग्राही खाता, कागजरहित सेयर कारोबार, आईपीओ आवेदन प्रणाली र सेयर ट्रान्सफर लगायतका विविध सेवा प्रदान गर्दै आएको छ ।

    साथै हालैको अवधिमा मर्जर एवं एक्विजिसनको ट्रान्जेक्सन क्लियरिङ, बोनस सेयर तथा लाभांश वितरणको डिजिटल प्रक्रिया, तथा ई-क्लियरिङ सिस्टममा आधारित पोष्ट ट्रेड सर्भिस पनि प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्