News Portal

  • हामीले किसानलाई मालिक बनाउने काम गरिरहेका छौं

    ४१९९ पटक

    खेमबहादुर पाठक
    अध्यक्ष : साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड

    नेपालको सहकारी आन्दोलनमा विगत साडे तीनदशक अगाडिदेखि काम गरिरहनुभएका खेमबहादुर पाठक सहकारी क्षेत्रका एक सफल व्यक्तित्व हुनुुहुन्छ । नेपालको सहकारी क्षेत्रमा मात्र होइन, विदेशका २५ वटा भन्दा बढी मुलुकको भ्रमण गरी सहकारीको अनुभव हासिल गर्नुभएका पाठक हाल साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्ष, नेपाल कृषि सहकारी केन्द्रीय संघका संस्थापक अध्यक्ष र राष्ट्रिय सहकारी महासंघको बोर्ड सञ्चालकसमेत भएर काम गरिरहनु भएको छ । धादिङ जिल्लामा जन्मनुभएका पाठकले सहकारी वित्तीय क्षेत्रबाटै किसान र राष्ट्रलाई योगदान दिन सकिन्छ भन्ने आत्मविश्वासका साथ राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिइरहनुभएको छ । मुलुकको अर्थतन्त्र र कृषि सहकारीका सन्दर्भमा आर्थिकसंसार डटकमका लागि टीबी बिरहीले गर्नुभएको कुराकानीको सम्पादित अंशः
    तपाईको साना किसान विकास लघुवित्त वित्तीय संस्थामा कोरोना भाइरस संक्रमणको असर र व्यवस्थापन कस्तो छ ?
    कोरोना संक्रमणको असर त छ तर त्यस्तो ठूलो असर छैन काम भइरहेको छ । किनकि हामीलाई यो भन्दा अगाडि नाकाबन्दी हुँदा होस् वा भूकप्पको बेला होस् वा कोरोना संक्रमणको सुरुको अवस्थाको बन्दाबन्दीको बेला नै किन नहोस् जोखिम थियो । तर, हामीले हरेक समस्यामा काम गर्ने बानी र क्षमता विकास गरेर आएका छौं । यस्ता कुनै पनि बेला हामीले असहजतालाई सहजतामा बदलेर संस्थालाई क्रियाशील बनाएर हाम्रा सदस्यहरुलाई अबिछिन्न सेवा दिने काम हामीले गरौं र हाम्रा कर्मचारीहरुलाई त्यस्तो बेलामा पनि काम गर्ने बानी बनायौं । हाम्रा सदस्यहरु र शाखा कार्यालयहरु शहरमा भन्दा ग्रामिण क्षेत्रमा बढी भएकाले र त्यस्ता क्षेत्रमा भिडभाड धेरै नहुने भएकाले सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्डअनुसार सुरक्षा सतर्कता अपनाएर सुरक्षित रुपमा हाम्रा आम सदस्यलाई सेवा दिइरहेका छौं ।
    साना किसान विकास वित्तीय संस्थाले अहिले कस्ताकस्ता काम गरिरहेको छ त ?
    हाम्रो केन्द्रीय कार्यालय काठमाडौमा भए पनि शाखा कार्यालयहरु बाहिर धेरै छन् । हाम्रा इलाका कार्यालयहरु अत्तरिया, नेपालगञ्ज, सुर्खेत, बुटवल, पोखरा, हेटौडा, जनकपुर, इटहरी, बिर्तामोड, धादिङ, काभ्रेलगायतका थुप्रै ठाउँमा छन् । हामीले हाम्रा शाखाहरुलाई निर्देश गर्छौ, हाम्रा शाखाले गाउँगाउँमा रहेका हाम्रा किसान आबद्ध सहकारी सदस्य संस्थाहरुलाई सेवा दिन्छन् । ती सदस्य संस्थाले किसानहरुलाई सेवा दिन्छन् । यसरी काम भइरहेका छन् । हाम्रा यिनै शाखा कार्यालयमार्फत सदस्य संस्थाहरुलाई कर्जा दिने, उनीहरुलाई परेका समस्या उनीहरुसँग बसेर समाधान गर्ने, के–के कुरामा हामीले उनीहरुलाई सहयोग गर्नुपर्ने हो, केमा लगानी गर्नुपर्ने हो छलफल गर्ने, उनीहरुलाई दिएको कर्जा असुली गर्ने, उनीहरुमार्फत किसानका समस्या संकलन गर्ने, ती समस्या उनीहरुमार्फत नै समाधान गर्नेजस्ता कामहरु निरन्तर रुपले गरिरहेका छौं । यसका लागि हाम्रो निर्देशनअनुसार हाम्रा शाखा कार्यालय सदस्य संस्थाहरुमा पुगिरहेका छन् भने हाम्रा शाखा कार्यालयको निर्देशन, सल्लाह र सुझावअनुसार हाम्रा सहकारी सदस्य संस्थाका कर्मचारीहरु किसानहरुका घरघरमा पुगिरहेका छन् । थोरैथोरै संख्यामा संस्थाका सदस्यहरुलाई जम्मा गरेर घरमै गएर सामाजिक दुरी कायम गरेर आफू पनि सुरक्षित हुँदै र सदस्यहरुलाई पनि सुरक्षित गर्दै सेवा दिइरहेका छन् । हामीले पनि केन्द्रबाटै त्यस्ता ठाउँहरुमा के समस्या छन्, हामीले के गर्नुपर्छ बुझेर सल्लाह गरेर काम गरिरहेका छौं । अहिले सबै ठाउँमा लकडाउन भएको छैन, शहरमा असहज भएपनि गाउँमा खासै समस्या भएको छैन । फेरि हाम्रा सदस्य संस्था र सदस्यहरु अधिकांश ग्रामिण क्षेत्रमै भएकाले पनि काम गर्न समस्या छैन । त्यस्ता सबै ठाउँमा हाम्रा सेवाहरु स्वास्थ्य मापदण्ड पूरा गरेर अहिले पनि निरन्तर सञ्चालन भइरहेका छन् ।
    किसानले के गर्न बढी ऋण माग्छन् ?
    हाम्रा सदस्यहरुले समयअनुसार ऋण माग्छन् । विशेष गरेर अहिले दुध र मासु उत्पादका लागि पशुपालनमा बढी कर्जा माग हुने र त्यसैमा बढी कर्जा लगानी हुने गरेको छ । त्यसमा पनि दुध उत्पादन गर्नका लागि गाई, भैंसी पाल्ने, बिउ र मासुका लागि राँगाहरु पाल्ने काम व्यवसायिक रुपले किसानले गरिरहेका छन् र त्यसैमा कर्जा लिइरहेका छन् । अहिले दुध उत्पादन र पशुपन्छी पालनमा कर्जा माग गरिरहेका छन् भने हिउँदमा गएर अन्नबाली, तरकारी र फलफूल उत्पादका लागि कर्जाको माग बढी हुन्छ । हामी त्यहीअनुसार व्यवस्था मिलाउँछौं ।
    कोभिड–१९ को महामारीमा लोनमा जोखिम कत्तिको हुन्छ ?
    जोखिम छन् तर जोखिम छन् भनेर कामै गर्न छाडियो भने त के पो हुन्छ र ? फेरि अहिलेको समयभन्दा कठिन समय पछि आउन सक्छ, त्यस्तो बेलामा त झन् के पो गर्न सकिन्छ र । फेरि अन्य क्षेत्रको जस्तो हामीलाई ठूलो समस्या र असर हुँदैन किनकि हाम्रो सम्बन्ध प्रत्यक्ष किसानसँग हुन्छ । किसान गाउँमा हुन्छ । किसान आ–आफ्नो काममा हुने हुँदा उनीहरु धेरै रोगब्याधीको जोखिममा हुँदैनन् । हामी पनि जोखिम न्यूनीकरणका लागि सबै उपाय अवलम्बन गरेर कृषकको माझमा पुग्ने हुँदा र उनीहरुका समस्या नजिकबाट बुझ्ने हुुँदा केमा समस्या छ, कसो गर्दा समस्या हल हुन्छ, केमा लगानी गर्दा बढी फाइदा हुन्छ भन्ने कुरा सञ्चारमार्फत सबैसँग छलफल गरेर काम गर्छौ । किसानका चाहना, भावना र मागअनुसार उत्पादन बढाउने गरी, उनीहरुका समस्या हल हुनेगरी, उनीहरुलाई बढीभन्दा बढी फाइदा पुग्नेगरी उनीहरुकै सल्लाहअनुसार काम गर्छौं र कर्जा दिन्छौं । त्यसैगरी हाम्रा सदस्यहरुलाई कस्तोकस्तो समस्या छ, कुनकुन क्षेत्रमा बढी समस्या छ, त्यो हेरेर हामीले कस्तो सेवा सुविधा दिन सक्छौं, उहाँहरुको समस्या समाधानमा कसरी सहयोग गर्न सक्छौं भनेर उहाँहरुसँग छलफल गरिरहेका हुन्छौं । अहिले सबैलाई समस्या नै भएको हुनाले बढी जोखिम मोलेर काम नगर्न र अनुउत्पादक क्षेत्रमा लगानी नगर्न पनि हामीले किसानहरुलाई सचेत गराइरहेका हुन्छौं । तर यसो भनेर यो भन्दा खराब समय पछि आउने कुरालाई ध्यानमा राखेर खाद्य संकट आउनेतर्फ अहिले नै सोचेर कृषि उत्पादनमा हाम्रा सदस्यहरुलाई घच्घच्याइरहेका छौं, लगानी गरिरहेका छौं । तसर्थ,  हामीलाई त्यस्तो धेरै जोखिम  छैन ।

    “हामीले व्यवसायिक पशुपालन र उनीहरुको सीपअनुसारको व्यवसाय सञ्चालन गर्न लगाएर ऋण दिएर मुसहर, चमार, बनकरिया, डुम, चेपाङ, हलखोर राउटेलगायत अन्य पिछडिएको र लोकोन्मुख जातीहरुको आयआर्जनमा व्यापक फेरबदल गरेका छौं । हिजो उनीहरुको साथमा दुई रुपैया हुँदैन थियो, मागेर खानुपर्ने अवस्था थियो भने आज उनीहरु काम गरेर लाखौं आयआर्जन गर्न सक्ने परिवारमा उक्लिएका छन्, उनीहरुको जीवन नै बदलिएको छ । यसले एकातिर राज्यको लगानी र खर्च घटेको छ भने अर्कोतिर राष्ट्रिय आय बढेको छ ।”


    लगानीअनुसारको परिणाम प्राप्त भएको छ कि छैन त ?
    हामी सन्तुष्ट छौं । हामीलाई पनि सरकारले साझेदार संस्था भनेर सहयोग गरिरहेको छ । हामीले पनि हामीले गरेको काम र आएको परिणाम सरकारसमक्ष प्रस्तुत गरिरहेका छौं । हामीले तीनवटा विषयमा फाइदा पुर्याएका छौं । पहिलो, सरकारले दुग्ध र मासुजन्य पशुपालनमा हामीलाई पैसा दियो । हामीले त्यसमा लगानी गरेर यसको उत्पादनमा यसका विज्ञहरुलाई पठाएर स्वतन्त्र ढंगले अनुसन्धान गर्न लगायौं । त्यसको रिपोर्टले निम्न आय भएका र गरिबभन्दा गरिब जनताले ऋण नपाउने, तालिम नपाउने, आयआर्जन गर्न नपाउने अवस्थाबाट छुटाएर अहिले राम्रो आयआर्जन गर्न सक्ने अवस्थामा ल्याएको, हिजोको भन्दा आजको आर्थिक अवस्था राम्रो भएको, परिवारको आर्थिक अवस्था धेरै राम्रो भएको देखिएको छ । दोस्रो, हाम्रो कामले राष्ट्रिय अर्थतन्त्रमा पनि सहयोग पुगेको छ । हिजो दुध र मासुजन्य वस्तुहरु विदेशबाट आयात गर्नुपर्दथ्यो, अर्बौ रकम विदेशमा जान्थ्यो, त्यो अहिले रोकिएको
    छ । अहिले दुध र मासुमा मुलुक आत्मनिर्भर बनेको छ । तेस्रो, हामीले व्यवसायिक पशुपालन र उनीहरुको सिपअनुसारको व्यवसाय सञ्चालन गर्न लगाएर ऋण दिएर मुसहर, चमार, बनकरिया, डुम, चेपाङ, हलखोर राउटेलगायत अन्य पिछडिएको र लोकोन्मुख जातीहरुको आयआर्जनमा व्यापक फेरबदल गरेका छौं । हिजो उनीहरुको साथमा दुई रुपैया हुँदैन थियो, मागेर खानुपर्ने अवस्था थियो भने आज उनीहरु काम गरेर लाखौं आयआर्जन गर्न सक्ने परिवारमा उक्लिएका छन्, उनीहरुको जीवन नै बदलिएको छ । यसले एकातिर राज्यको लगानी र खर्च घटेको छ भने अर्कोतिर राष्ट्रिय आय बढेको छ । अहिले हामीलाई डडेलधुराको श्रीसा भन्ने एउटा गाउँमा राउटेका ७० जना छोराछोरी पढाउने स्कुल स्थापनाको लागि माग गरिरहेका छन् भने अन्य दलित, महिलाहरु हामीसँग ऋन लिएर यो कार्यक्रम अर्थात पशुपालन, बाख्रापालन व्यवसायमा लागेर आयआर्जनका कामहरु गरिरहेका छन् र आत्मनिर्भर बनिरहेका छन् । अहिले देशभरिका किसानहरुले, महिलाहरुले, सीमान्तकृत जातिहरुले आ–आफ्नो स्थानीय तहमा हामीलाई साना किसान कार्यक्रम चाहियो, कृषि सहकारी संस्था स्थापना गर्नुपर्यो भनेर भनिरहेका छन । त्यसैगरी गाउँपालिकाका प्रमुखहरुले, नगरपालिकाका मेयरहरुले र जिल्लाका माननीयहरुले पनि यो कार्यक्रम गाउँगाउँ पुर्याउनुपर्यो भनेर भनिरहनुभएको छ । त्यसलाई मध्यनजर गरेर सरकारको सहयोग लियर हामी अब गाउँगाउँसम्म कृषि सहकारी बैंक पुर्याउने, हाम्रा कार्यक्रम पुर्याउने योजनाका साथ अगाडि बढिरहेका छौं ।
    सहकारीहरुले धेरै निक्षेपकर्ताहरुलाई डुबाएको देखिन्छ, यसको नीतिमा फेरबदल गर्नुपर्ने छ ?
    हो, पहिला पहिला शहर केन्द्रित बचत तथा ऋण सहकारी संस्था र फाइनान्सहरुले आफ्ना धेरै ग्राहकहरुलाई ठगेको, झुक्याएको, उनीहरुको निक्षेप हिनामिना गरेको सुनिएको हो । कतिपयले त्यस्तो गरे, तर त्यो हाम्रो पाटो होइन । हामी संस्थामा आधारित गरी खाने कृषकहरुलाई सदस्य बनाउँछौं । हाम्रा सबै सदस्य गरीखाने कृषकहरु मात्रै हुन्छन् । हाम्रा सेवाहरु पनि कृषक ओरियन्टेड नै हुन्छन् । त्यसैले यहाँ न हामीले कृषकलाई मर्कामा पार्छौं न त कृषकले नै हामीलाई समस्यामा पार्छन् । हाम्रो यस्तो दुबैतिर हुँदैन । हामी हाम्रा ग्राहक सदस्यमार्फत संस्थागत जिम्मेवारी र संस्थागत उत्तरदायित्वका आधारमा काम गर्छौ । हाम्रा ग्राहकले पनि कानुनी आधारमा संस्थाप्रति पूरा जिम्मेवार भएर मात्र कारोबार गर्नुहुन्छ । कारोबार भइसकेपछि उहाँहरुसँग दैनिक सम्पर्कमा हुने, कृषकका सबै समस्यामा साथ सहयोग दिने काम हाम्रा संस्थाहरुले गर्ने गर्छन् । नियमित अनुगमन गर्ने, सल्लाह सुझाव लिनेदिने, लगानीको रेखदेख गर्ने, कर्जा दिने,उठाउने नियमित रुपमा गरिरहनुहुन्छ । त्यसैले हाम्रामा त्यस्तो समस्या हुँदैन । जहाँसम्म कतिपय बैक वित्तीय संस्थाले आफ्ना सदस्यहरुलाई ठग्ने गरेको कुरा छ, त्यसमा त सरकारले हेर्नुपर्यो नि । अहिले तीन तहका सरकार छन् । जनतासँगै प्रत्यक्ष सरोकार राख्ने सरकारहरु छन् । उनीहरुले रेखदेख गर्नुपर्यो, अनुगम, नियमन गर्नुपर्यो, सहकारीको नाममा कसले ठग्ने गरेको छ ? त्यो राम्ररी हेर्नुपर्यो, राम्रो गर्नेलाई पुरस्कृत र नराम्रो गर्नेलाई दण्डित गर्नुपर्यो । यस्तो परीपाटीको बिकास गर्नुपर्यो । दोषमात्र लगाएर हुुँदैन, सत्यतथ्य खोजी गरी जनता ठग्नेलाई कडा कारबाही पनि गर्नुपर्यो । यसो भयो भने सब ठीक हुन्छ । जहाँसम्म नीतिको कुरा छ, नीतिमा पनि केही परिवर्तन त गर्नुपर्ने छ, यसमा हाम्रो सहकारी महासंघले कुरा उठाइसकेको छ । हामी यो कुरा पछि पनि थप्न सक्छौं तर अहिलेलाई चाहिँ नीति कार्यान्वयन हुनुप¥यो । कार्यान्वयन भएन भने नीतिमात्र ठीक भएर के हुन्छ र ? त्यसैले नीतिमा फेरबदलभन्दा पनि प्रभाबकारी कार्यान्वयनमा लैजानु सबैभन्दा ठूलो कुरा हो । कार्यान्वयन राम्रो भए नीति ठीकै छ वा केही कमीकमजोरी देखिए पनि परिमार्जन हुनसक्छ तर कार्यान्वयन भएन भने समस्या हुन्छ, यसमा ध्यान दिनुपर्ने देखिन्छ ।

    “नियमित अनुगमन गर्ने, सल्लाह सुझाव लिनेदिने, लगानीको रेखदेख गर्ने, कर्जा दिने,उठाउने नियमित रुपमा गरिरहनुहुन्छ । त्यसैले हाम्रामा त्यस्तो समस्या हुँदैन ।”


    तपाईहरुका चुनौति चाहिँ केके छन् नि ?
    हामीलाई चुनौति त केही छन, मुख्य चुनौति भनेको कुषकमैत्री हाम्रा योजना कार्यान्वयनको हो । त्यसबाहेक अहिले ठूलो चुनौतिको रुपमा रहेको कोरोना भाइरस संक्रमबाट आफू सुरक्षित भएर आफ्ना सदस्यहरुलाई सुरक्षित सेवा दिने महत्वपूर्ण र ठूलो चुनौति हो । त्यसैगरी यो वित्तीय संस्था हाम्रो हो, यसले हामीलाई सजिलो अप्ठेरो दुवै समयमा सहयोग गर्छ, विश्वसनीय र भरपर्दो सेवा सुविधा दिन्छ, यसका सेवाहरु प्रभावकारी र छिटोछरितो छन् भन्ने विश्वसनियता कायम राख्दै सदस्यहरुको संख्यामा बृद्धि गर्ने चुनौतिको विषय छ भने यो लघुवित्त वित्तीय संस्थालाई प्रविधियुक्त बनाउन र कर्मचारीलाई आवश्यक सेवा सुविधा दिएर उनीहरुको दीर्घ सेवामा निरन्तरता दिई साना किसान लघुवित्त वित्तीय संस्थालाई अगाडि बढाउँदै सरकारको लक्ष, उद्देश्य पूरा गरी किसानलाई सुखी बनाउनु अर्को चुनौतिको विषय हो । जुन उद्देश्य पूरा गर्न हामी लागिरहेका छौं ।

    “अहिलेसम्म हाम्रो कुनै ऋण नउठ्ने, खाएर भाग्ने, लगानी डुब्ने काम किसानहरुले गरेका छैनन् । किनकि वास्तविक किसानहरु त्यसैपनि इमान्दार नै हुन्छन्, त्यही इमान्दार वास्तविक किसान हाम्रा सदस्य हुने भएकाले हाम्रो लगानी डुब्ने भएको छैन । जनताले काम गरिरहेका छन्, ऋण लगिरहेका छन् र समयमै तिरी पनि रहेका छन् । हामीले पनि सरकारको उद्देश्यअनुसार काम गरेका छौं, सरकारलाई महत्वपूर्ण योगदान गरेका छौं ।”


    अहिले यो लघुवित्त वित्तीय संस्थाको आर्थिक कारोबार कस्तो छ ?
    हाम्रो वित्तीय अवस्था ठीक छ, अहिले २२ अर्बभन्दा बढी रकम साना किसान लघुवित्त वित्तीय संस्थाले कृषि सहकारीमार्फत किसानहरुलाई लगानी गरेको छ । अहिले हाम्रा झण्डै १० लाख सदस्यहरु पुगेका छन् । यसका सदस्यको पैसा र हाम्रो साना किसान लघुवित्त वित्तीय संस्थाले लगानी गरेको कर्जा हेर्दा ६० अर्ब बढी रकम किसानको हातमा परिचालन भएको देखिन्छ । यति ठूलो रकमलाई अनुगमन नियमन गरेर ठीक ढंगले उत्पादनमा लगाउनुपर्ने महत्वपूर्ण दायित्व हाम्रो काँधमा छ । यद्यपि अहिलेसम्म हाम्रो कुनै ऋण नउठ्ने, खाएर भाग्ने, लगानी डुब्ने काम किसानहरुले गरेका छैनन् । किनकि वास्तविक किसानहरु त्यसैपनि इमान्दार नै हुन्छन्, त्यही इमान्दार वास्तविक किसान हाम्रा सदस्य हुने भएकाले हाम्रो लगानी डुब्ने भएको छैन । जनताले काम गरिरहेका छन्, ऋण लगिरहेका छन् र समयमै तिरी पनि रहेका छन् । हामीले पनि सरकारको उद्देश्यअनुसार काम गरेका छौं, सरकारलाई महत्वपूर्ण योगदान गरेका छौं । यसमा हाम्रो अनुगमन नियमन पनि त्यही खालको छ । जुन काममा हामी निरन्तर लागिरहेका पनि छौं । जसले गर्दा अहिले हाम्रो बैक नाफामै सञ्चालित हुँदै आएको छ । हाम्रो बैकको शेयर पनि बढिरहेकै छ । कृषि विकास जस्तो त्यति पुरानो बैकको शेयर अहिले प्रतिकित्ता ४÷५ सयमा छ भने हाम्रो १२÷१३ सय पुगेको छ । अहिले हाम्रो शेयर किन्न मारामार छ । वित्तीय अवस्था मजबुद भएको कारणले पनि हाम्रो बैंकप्रति सदस्यहरुले विश्वास गरेर आफ्नो कारोवारलाई निरन्तर अगाडि बढाई रहनुभएको छ । हामीले दिने सेवा किसानमैत्री छ । जसकारण यो बैकलाई एडिबिले समेत सहयोग गरिरहेको छ । सरकार र अन्य सहयोगरी संस्थाका अलवा हाम्रा सदस्यहरु र लगानीकर्ताहरु नै किसानहरु भएकाले पनि हामीलाई सहज छ, कुनै समस्या छैन । किसान नै यसका मालिक भएकाले केही होला कि भन्ने हुँदैन, जोखिम छैन । उत्पादनकर्ता नै ग्राहक र यसका मालिक हुने भएपछि कुनै समस्या झेल्नुपर्दैन । किसानले नै यो मेरो लघुवित्त संस्था हो, म यसको मालिक हुँ भन्ने भएपछि समस्या आउने कुरै हुँदैन । त्यसैले यो झनभन्दा झन बलियो, ठूलो, बढी कारोवार गर्ने संस्थाको रुपमा विकसित हुँदै गइरहेको छ । यसले हामीलाई थप उत्साहित पनि बनाएको छ । जसकारण सरकार र अहिले हाम्रा सेवा देशभरिबाट सञ्चालित भइरहेका छन् र यसलाई अझ ब्यापक बनाउँदै लाने योजनाकासाथ हामीले काम गरिरहेका छौं ।
    तपाईले यसो भनिरहेका बेला हामी १ खर्बभन्दा बढीको खाद्यान्न हामीले आयात गरिरहेका छौं, करोडौको तरकारी र फलफूल बाहिरबाटै आयात गरिरहेका छौं, युवाहरु विदेश गएका गएकै छन्, खेतबारीहरु बाँझा भइरहेका छन् अनि कसरी हुनुभयो त तपाईहरु सफल ?
    हो, अहिले पनि हामी कतिपय कुरामा परनिर्भर नै छौं, कतिपय खाद्यान्नलगायत तरकारी र फलफूल बाहिरबाटै ल्याउनुपर्ने अवस्था छ तर यो सबै योजनाबद्ध रुपमा काम नहुँदा, प्रविधियुक्त व्यवसायिक खेती नहुँदा, सरकारको कृषि नीति किसानमैत्री र प्रभावकारी नबन्दा, किसानले उत्पादन गरेको वस्तुको मूल्य नहुँदा, किसानले उत्पादन गरेको लागत नआउँदा, किसानहरु हतोत्साही हुँदा, बजारका कारणले किसानले उत्पादन गरेका वस्तुमा बिचौलियाको हात प्रमुख बन्दा, किसानले पाउने नाफा बिचौलियाले खाँदा यस्तो समस्या आएको छ । सरकारको योजनाअनुसार हामीले दुध र मासुजन्य वस्तुको उत्पादन र वितरणमा किसानहरुसँग काम गर्दा लगानी गर्दा हामीले चाहेको उद्देश्य पूरा गरेका छौं, सरकारको उद्देश्य पूरा गरेका छौं । जसअनुसार हामी दुध र मासुमा आत्मनिर्भर पनि भएका छौं । केही कुराको कमी भए पनि त्यो पूरा गर्ने काममा हामी तीव्रगतिका साथ लागेका छौं । तर अन्य क्षेत्रको अवस्था त्यस्तो छैन । सरकारले किसान आधारित कार्यक्रम बनाएर देशभरी लागू गरे, कृषि सहकारीलाई कृषकको उत्पादनको बजारीकरणको जिम्मा दिए, उनीहरुले उत्पादन गरेका वस्तुको लगानी र नाफाको ग्यारेन्टी सरकारले गरे, वास्तविक किसानलाई चाहिने कृषिजन्य सबै पूर्वाधार अर्थात आर्थिक, भौतिक साधनको उपलब्धताको ग्यारेन्टी गरेको खण्डमा, किसानलाई प्रोत्साहन गरेको खण्डमा, सेवा सुविधाहरु पर्याप्त रुपमा दिएमा नेपाल केही समयभित्रै खाद्यान्नलगायत तरकारी र फलफूलमा समेत आत्मनिर्भर हुने निश्चित छ । तर, किसानका नाममा कागजमा सीमित खेती गरेर किसान लक्षित सेवा सुविधा सुकिलामुकिलाले खाउन्जेल, कृषकलाई आएको सहुलियत ब्याजदरको पैसा गैरकृषकले मात्र पाउने परीपाटीको अन्त्य नहुन्जेल, किसानले खोजेका मल, बिउ, प्रविधिको विकास र पर्याप्तता नहुन्जेल नेपाल वास्तविक रुपमा कृषिप्रधान देश पनि हुन सक्दैन, मुलुक खाद्यान्न, तरकारी, फलफूल र मासुमा पनि आत्मनिर्भर पनि बन्न सक्दैन । यसर्थ, विदेशी धनी हुने र विचौलिया मात्र धनी हुने अहिलेको कृषी नीतिमा आमुल परिवर्तन गरी कृषकमैत्री बनाउनु जरुरी छ ।
    तपाईहरु पनि त सरकारसँग, सरकारका प्रतिनिधिसँग, सरकारी कर्मचारीसँग भेट्नुहुँदो हो, भेला, बैठकहरुमा आफ्ना कुरा राख्ने अबसर पाउनुहुँदो हो यस्ता कुरा राख्नुहुन्न त्यहाँ ?
    हामीले यस्ता कुरा त्यहाँ राख्ने मात्र होइन, हरेक प्रधानमन्त्रीदेखि सम्बन्धित मन्त्री, योजना आयोगका उपाध्यक्षलगायत पदाधिकारीहरु, सम्बन्धित मन्त्रालयका सचिवदेखि अन्य मन्त्रालयका सचिबसम्मलाई कार्यक्रम र कार्ययोजनासहितको किसानमैत्री योजना हरेकका हातहातमा पुर्याएका छौं, प्रधानमन्त्रीलाई भेटेर भनेका छौ, लिखित दिएका छौं । एकपटक मात्र होइन, दर्जनौपटक भनेका छौं, त्यतिमात्र होइन मुलुकभरका माननीय र कृषिसँग सम्बद्ध विज्ञलाई भनेका छौं, सबैले यो राम्रो रहेछ ल अब यो तत्काल बजेटसहित कार्यान्वयनमा लानुपर्छ ,कृषि उत्पादन बढाउनुपर्छ, कृषि शहकारीमार्फत काम गर्नुपर्छ, तपाईहरु काम अगाडि बढाई हाल्नुहोस् भन्नुभएको हुन्छ, एकजनाले मात्र होइन, सबैले त्यसै भन्नुभएको हुन्छ तर कार्यान्वयमा छैन, योजना र बजेटमा छैन । हामी यसो भन्दा भन्दा दिक्क भएका छौं । अहिलेसम्म हाम्रो माग, किसानका मागप्रति कोही जिम्मेवार, जवाफदेही र कामयावी कोही देखिएका छैनन् । यो बहुत विडम्बनाको विषय हो ।
    किसानलाई सुखी र समृद्ध बनाउन के गर्नुपर्छ त ?
    सर्वप्रथम त हामीले सरकारलाई, सरकारका कृषिसँग सम्बन्धित निकायहरुले हामीले पेस गरेको किसानमैत्री योजना र कार्यक्रमलाई कार्यान्वयन गर्नुपर्छ । यो भयो भने त्यसैले आमूल परिवर्तन ल्याउन सक्छ । हामीमार्फत किसानलाई कृषि उत्पादनमा लगाउन सकियो भने, वास्तविक किसानलाई धनी बनाउने गरी कार्यक्रम, योजनाको कार्यान्वयन गर्दै किसानको उत्पादन किसानकै बजार र किसानकै मूल्य हुने हो भने धेरै कुराको व्यवस्था भइहाल्छ । कृषिमा छुट्याएको रकम, सेवा सुविधा, सरल कर्जा वास्तविक किसानले पाउने सिस्टमको विकास गर्ने हो भने, किसानलाई कृषि उत्पादन गर्ने, मल, बिउ, बिषादी, सिँचाईको व्यवस्था र प्रविधिको ज्ञानमा समस्या भएन भने किसान धनी भइहाल्छन् । त्यसैले व्यवसायीक र प्रविधियुक्त खेतीको विकास गरियो भने, किसानले पाउने नाफा बिचौलियाले खान पाएनन् भने र किसानले कृषिबाटै मेरो परिवारको समृद्धि हुन्छ भन्ने कुृराको ग्यारेन्टी गर्ने अवस्था भएमा किसान समृद्ध हुन्छन्, किसान समृद्ध हुनु भनेको देश समृद्ध हुनु हो । त्यसैले हामीले उठाएका माग सरकारले पूरा गरिदिएको खण्डमा यो सबै भनिएका, गरिएका कुरा सम्भब छ, यसैबाट सुखी नेपाली समृद्ध नेपाल निमार्णको राष्ट्रिय आकांक्षासमेत पूरा हुनेछ ।

    प्रस्तोताः टीबी विरही

    प्रतिकृया दिनुहोस्