
काठमाडौं । ग्लोबल आइएमई बैंकमा कार्यरत कर्मचारीहरुले वर्षमा कम्तिमा सात दिन आन्तरिक भ्रमण गर्न पाउने भएका छन् । बैंकले आन्तरिक पर्यटन प्रवद्र्धन गर्नको लागि कर्मचारीले वार्षिक तलबीे बिदा लिँदा कम्तिमा सात दिन आन्तरिक भ्रमण गर्नैपर्ने व्यवस्था गरेको हो ।
यससँगै कर्मचारीहरुले वार्षिक अनिवार्य बिदा लिँदा कम्तिमा सात दिन आन्तरिक पर्यटकीय स्थलहरुमा अनिवार्य रुपमा भ्रमण गर्नुपर्ने छ । कोभिड महामारीको अवस्थाले बिदेशी पर्यटकहरुको आवत जावतमा कमी रहेको अहिलेको परिस्थितिलाई मध्यनजर गर्दै बैंकले यो योजना ल्याएको हो ।
कोभिड–१९ को महामारीका कारण पूर्णरुपमा प्रभावित पर्यटन क्षेत्रलाई पुनरोत्थान गर्न तत्कालका लागि आन्तरिक पर्यटकहरुको खाँचो रहेको छ । यस्तो परिस्थितिमा थौरै भएपनि आन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोग पुगोस भन्ने उद्देश्यले वार्षिक तलबी बिदा लिने कर्मचारीले अनिवार्यरुपमा आन्तरिक भ्रमण गर्नुपर्ने व्यवस्था गरिएको हो । बैंकमा हाल ३ हजारभन्दा बढी कर्मचारी कार्यरत छन् ।
बैंकले बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले सातवटै प्रदेश तथा ७६ जिल्लामा २७३ शाखा, २४८ एटीएम, २५७ शाखारहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८०० भन्दा बढी सेवा केन्द्रबाट ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । बैंकले २३ लाख भन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ ।
त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थव्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।