News Portal

  • अवसरै अवसरको उत्सव बन्दै नाइमा मोबिलिटी एक्स्पो, नयाँ सवारीमा आकर्षक छुट

    आर्थीकसंसार संवाददाता१२ साउन, २०८२
    १४ पटक
    १२ साउन, २०८२

    काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स् एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) ले बहुप्रतीक्षित ‘नाइमा मोबिलिटी एक्स्पो’ अवसरै अवसरको उत्सव हुने जनाएको छ । एक्स्पोमा ५० वटा ब्रान्डले सहभागिता जनाउने भएका छन् भने सहभागी ब्राण्डहरुले आकर्षक योजनाहरु सार्वजनिक गर्ने भएका छन् ।

    सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै नाइमाले प्रदर्शनीमा ८० हजारभन्दा बढी दर्शकले अवलोकन गर्ने अनुमान गरेको छ ।  नाइमा मोबिलिटी एक्स्पो २०२५ श्रावण २१ देखि २५ गतेसम्म भृकुटीमण्डप, काठमाडौंमा आयोजना हुन लागेको हो ।

    पहिलोपटक हुन लागेको प्रदर्शनीमा पेट्रोल (आईसी), विद्युतीय सवारीसाधान (ईभी) र हाइब्रिड गाडीहरू समावेश हुनेछन्, जसले अवलोकनकर्तालाई नयाँ प्रविधिबारे जानकारी लिन एकै ठाउँमा अवसर प्रदान गर्ने विश्वास नाइमाको छ ।

    नाइमा मोबिलिटी एक्स्पोका संयोजक शिरिष मुरारकाका अनुसार ५० वटा विभिन्न ब्रान्डले आफ्ना नयाँ उत्पादन र प्रविधिहरू प्रदर्शन गर्नेछन् ।

    उनले अटोमोबाइल क्षेत्रले नेपालको अर्थतन्त्र र रोजगारीमा महत्त्वपूर्ण योगदान पुर्याएको बताए । उनका अनुसार यस क्षेत्रले प्रत्यक्ष रूपमा २५ देखि ३० हजारभन्दा बढीलाई रोजगारी प्रदान गरेको छ ।

    ‘अटो सेक्टरको अर्थतन्त्रमा योगदान सानो छैन र यो प्रदर्शनीले रोजगारी सिर्जनामा कसरी टेवा पुर्याइरहेको छ भन्ने पनि देखाउँछ,’ संयोजक मुरारकाले भने ।

    प्रदर्शनी अवलोकनका लागि सामान्य टिकट शुल्क २०० रुपैयाँ र विद्यार्थीहरूका लागि १०० रुपैयाँ तोकिएको छ । टिकटहरू खल्ती, ईसेवा जस्ता डिजिटल वालेटमार्फत खरिद गर्न सकिने संयोजक मुरारकाले जानकारी दिए ।

    उनका अनुसार प्रदर्शनी स्थलबाटै पनि टिकट खरिदको व्यवस्था मिलाइएको छ ।

    युवा तथा कन्टेन्ट क्रियटरहरूलाई लक्षित गर्दै नाइमाले ‘मोबिलिटी सेक्टर’ र ‘एक्स्पो’ सँग सम्बन्धित भिडियो कन्टेन्ट कम्पिटिशन पनि आयोजना गरेको छ ।

    प्रदर्शनीमा अवलोकनकर्ताको सहजताका लागि विशेष व्यवस्था गरिएको छ । अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा अन्य सहयोग चाहिने व्यक्तिहरूका लागि स्वयंसेवकहरूको टोली परिचालन गरिनेछ । साथै विद्युतीय सवारी प्रयोगकर्ताको सुविधाका लागि ईभी चार्जिङ स्टेसनको पनि व्यवस्था रहनेछ ।

    एक्स्पो नेपाली अटोमोबाइल उद्योगका लागि एक महत्त्वपूर्ण प्लेटफर्म रहेको र यसले उपभोक्ता, बिक्रेता र उत्पादकहरूलाई एकै छानामुनि ल्याउने विश्वास नाइमाको छ । आयोजकले यस पटकको प्रदर्शनी प्रविधि, रोजगारी र उपभोक्तामैत्री सुविधामा केन्द्रित रहेको दाबी गरेको छ ।

    नाइमाका अध्यक्ष ऋतुसिंह वैद्यले मिडिया तथा साझेदारहरूलाई धन्यवाद दिँदै ‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ नेपालकै सबैभन्दा ठूलो र महत्वपूर्ण अटोमोबाइल प्रदर्शनी बन्नेमा विश्वास व्यक्त गरिन्।

    उनले प्रदर्शनीलाई ‘चुनौती नभई अवसरै अवसर’को उत्सवको रूपमा गर्न लागेको बताइन् । उनले ३५ वटा नयाँ मोडेलका सवारीसाधन सार्वजनिक हुने जानकारी दिइन् । कम्पनीहरूले ग्राहकका लागि आकर्षक छुटको तयारी पनि गरिएको बताएका छन् ।

    प्रदर्शनी केवल सवारी बेच्ने थलो मात्र नभई एक सिकाइ मञ्च पनि हुने उनको दाबी छ । ‘यो एक्स्पो बेच्नलाई मात्रै होइन,’ उनले भनिन्, ‘हामीले ‘लर्निङ सेसन’ पनि राखेका छौं, जहाँ बाहिरका विज्ञहरूबाट ज्ञान लिन सकिन्छ । यो एक अन्तरक्रियात्मक प्लेटफर्म हुनेछ ।’

    प्रदर्शनीको पाँचाैं दिन विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरुको सहभागिता रहने गरी प्यानल डिस्कसन पनि हुने संयोजक मुरारकाले जानकारी दिए ।

    प्रदर्शनीको पहिलो दिन अनिल केशरी शाहले २ बजे देखि ५ बजेसम्म मोबिलिटी हिजो, आज, र भोलि’ विषयमा सत्र सञ्चालन गर्नेछन् भने अरू दिनको सत्रमा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, शिक्षा मन्त्रालय, राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, र भारतको इन्स्टिच्युट अफ रोड ट्राफिक एजुकेशन जस्ता विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूका दक्ष तथा विज्ञ व्यक्तित्वहरुको उपस्थिति रहनेछ ।

    मोबिलिटी एक्स्पोमा बिक्री भएका टिकटहरुको पाँच प्रतिशत रकम शिक्षा मन्त्रालय र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को सहकार्यमा विद्यार्थीहरूलाई मोबिलिटी क्षेत्रका विषयमा छात्रवृत्ति तथा फेलोशिपहरू प्रदान गरिने जनाइएको छ ।

    आयोजकले प्रदर्शनीलाई लक्षित गरी १ लाख रुपैयाँको पुरस्कार राशीसहितको भिडियो कन्टेन्ट कम्पिटिशनको पनि घोषणा गरेको छ । सहभागीहरूले श्रावण २१ गते (अगस्ट ६) बेलुका ७ बजेसम्म आफ्नो भिडियो पोस्ट गर्न सक्नेछन् ।

    सबैभन्दा बढी भ्युज पाउने भिडियोले नगद १ लाख रुपैयाँ पुरस्कार जित्नेछ । साथै अन्य १० उत्कृष्ट भिडियोलाई १०/१० हजार रूपैयाँका दरले पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्