News Portal

  • ज्योति विकास बैंक १८ औं वर्षमा प्रवेश : सामाजिक सेवा र डिजिटल क्रान्तिमा अग्रसर

    आर्थीकसंसार संवाददाता१० साउन, २०८२
    १३ पटक
    १० साउन, २०८२

    काठमाडौं । ज्योति विकास बैंकले स्थापनाको १७औं वार्षिकोत्सव समारोह भव्य रूपमा सम्पन्न गरेको छ । वि.सं. २०६५ सालको श्रावण ९ गते स्थापनाभएको बैंकले २०८२ सालको साउन ९ गते गौरवमय १७ वर्षको सफल यात्रा सम्पन्न गर्दै १८ औं वर्षमा प्रवेश गरेको हो ।

    बैंकको केन्द्रीय कार्यालय परिसरमा आयोजित वार्षिकोत्सव समारोहको सभापतित्व बैंकका अध्यक्ष हरि चन्द्र खड्काले गरेका थिए । पानसमा दीप प्रज्वलन गर्दै कार्यक्रमको विधिवत उद्घाटन भएको उक्त समारोहमा बैंकका सञ्चालक समिति सदस्यहरू, भूतपूर्व अध्यक्ष, भूतपूर्व सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापन समूह तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति थियो।

    समारोहको अवसरमा बैंकले प्रविधिमा आधारित ग्राहक सेवा विस्तारको दिशामा एक कदम अघि बढ्दै २४ घण्टा ७ दिन सेवा उपलब्ध गराउने एआई च्याटबट ‘ज्योति’ सार्वजनिक गरेको छ। यो च्याटबटले सरल इन्टरफेस र भाषिक विकल्पमार्फत ग्राहकलाई बैंकिङ जानकारी सहज रूपले उपलब्ध गराउनेछ। साथै, बैंकले Interbank Teller QR सेवा शुभारम्भ गरेको छ, जसले खाता नभएका व्यक्तिहरूलाई समेत मोबाइल बैंकिङ एप वा खल्ति वालेटमार्फत ज्योति विकास बैंकका शाखाबाट नगद झिक्न सक्ने व्यवस्था गरेको छ। यो सेवा विशेषगरी एटीएम सुविधा नपुग्ने तथा शाखा टाढा भएका स्थानहरूमा निकै उपयोगी हुने अपेक्षा गरिएको छ।

    बैंकले वार्षिकोत्सवको अवसर पारेर सामाजिक उत्तरदायित्वअन्तर्गत विविध कार्यक्रमको घोषणा तथा सम्झौता गरेको छ। ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत सम्पन्न हुने यी कार्यक्रम अन्तर्गत तिलगंगा इन्स्टिच्युट अफ अफध्याल्मोलोजीसँगको सहकार्यमा सप्तरीको कञ्चनरुपमा आँखा जाँच तथा मोतिविन्दुको निःशुल्क शल्यक्रिया सञ्चालन गरिनेछ। त्यसैगरी, राष्ट्रिय आविष्कार केन्द्रसँग साझेदारीमा १० वटा ‘न्यानो नानी’ बेबी वार्मर उपकरणहरू दुर्गम क्षेत्रका स्वास्थ्य संस्थामा जडान गरिनेछ। ई-नेबल नेपालसँगको सहकार्यमा १७ जना फरक क्षमताका बालबालिकालाई 3D प्रविधिबाट निर्मित कृत्रिम हात प्रदान गरिनेछ। साथै, लुम्बिनी वर्ल्ड पिस फोरमसँग सहकार्यमा सातै प्रदेशमा १ हजार ७ सय वटा वृक्षारोपण गरिने योजना सार्वजनिक गरिएको छ।

    यस वर्ष पनि बैंकले ‘Jyoti’s Got Talent’ को दोस्रो संस्करण आयोजना गरी कर्मचारी तथा उनीहरूका बालबालिकाको सिर्जनशीलता र प्रतिभालाई प्रोत्साहन दिएको छ। प्रतियोगितामा उत्कृष्ट प्रस्तुति दिने सहभागीलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियो भने सबै सहभागीहरूलाई प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो।

    बैंकले वार्षिकोत्सवको अवसरमा आफ्नो ‘कर्पोरेट एन्थम’ पनि सार्वजनिक गरेको छ। यस एन्थमले बैंकको उद्देश्य, ध्येय र मूल्य मान्यता समेट्दै सबै सरोकारवालासँगको सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास गरिएको छ। संगीतमार्फत बैंकको पहिचान र भावनालाई सशक्त रूपमा व्यक्त गर्न खोजिएको यस रचनात्मक प्रयासले संस्थाको आन्तरिक भावना तथा बाह्य प्रस्तुतिलाई सन्तुलित बनाउने अपेक्षा गरिएको छ।

    समारोहको अवसरमा आयोजित रक्तदान कार्यक्रममा करिब ५५ जना कर्मचारी, ग्राहक तथा सर्वसाधारणले सहभागिता जनाएका थिए। साथै निःशुल्क स्वास्थ्य तथा आँखा जाँच शिविरसमेत सञ्चालन गरिएको थियो, जसमा कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

    बैंकले विगत १० वर्ष तथा १५ वर्षदेखि निरन्तर सेवा दिँदै आएका समर्पित कर्मचारीहरूलाई समारोहमै विशेष सम्मान गरेको छ। अध्यक्ष हरि चन्द्र खड्काले मन्तव्य व्यक्त गर्दै विगत १७ वर्षको यात्रामा साथ दिने ग्राहक, शेयरधनी, नियामक निकाय, कर्मचारी तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गरे । उनले सामाजिक समृद्धि तथा कर्मचारी विकासमा बैंक निरन्तर क्रियाशील रहेको उल्लेख गर्दै भविष्यमा पनि साथ र समर्थनको अपेक्षा गरे ।

    बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले संस्थापक सञ्चालक, पूर्व अध्यक्ष, कर्मचारी, शेयरधनी तथा ग्राहकप्रति कृतज्ञता व्यक्त गर्दै बैंकले तय गरेको लक्ष्य र ध्येयप्रति अझ सशक्त प्रतिबद्धता व्यक्त गरे । उनले सामाजिक उत्तरदायित्वका कार्यक्रम र बैंकले हासिल गरेका उपलब्धिहरूको जानकारी गराउँदै भावी दिनहरूमा अझ प्रभावकारी ढंगले अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

    सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकसँग सहकार्य गरेका संस्थाहरूका प्रतिनिधिहरूले पनि आफ्नो मन्तव्य व्यक्त गरेका थिए। तिलगंगा इन्स्टिच्युट अफ अफध्याल्मोलोजीकी कार्यकारी प्रमुख डा. रीता गुरुङले दृष्टि प्रदानमार्फत आत्मनिर्भर जीवन निर्माणमा बैंकको सहयोगको प्रशंसा गरे । राष्ट्रिय आविष्कार केन्द्रका महाप्रबन्धक संजय झाले न्यानो नानी परियोजनामा बैंकको योगदानलाई वैज्ञानिक समाधानमार्फत समाज रूपान्तरणको उदाहरणका रूपमा उल्लेख गरे । ई-नेबल नेपालका अध्यक्ष सुरेन्द्र श्रेष्ठले 3D कृत्रिम हातले बालबालिकाको आत्मबल बढाउने विश्वास व्यक्त गर्नुभयो भने लुम्बिनी वर्ल्ड पिस फोरमका अध्यक्ष बसु गौतमले हरियाली प्रवर्द्धनमा बैंकको सहभागिता भावी पुस्ताका लागि प्रेरणादायक हुने बताए ।

    समारोहमा बैंकले सामाजिक उत्तरदायित्व, नवीनतम प्रविधिको प्रयोग, कर्मचारी सशक्तिकरण, र दिगो विकासमा निरन्तर क्रियाशील रहने अठोट दोहोर्याएको छ । संस्थागत सुशासन, नवप्रवर्तनशील सोच र नागरिकप्रति उत्तरदायित्व बोक्ने वित्तीय संस्था रूपमा ज्योति विकास बैंकले आगामी दिनमा पनि परिवर्तनको ज्योति बनेर अघि बढ्ने विश्वास व्यक्त गरिएको छ ।

    प्रतिकृया दिनुहोस्