News Portal

  • शान्तिपूर्ण प्रदर्शनमाथि सरकारले बल प्रयोग गरेको एमालेको आरोप

    आर्थीकसंसार संवाददाता१७ चैत, २०८२
    ९ पटक
    १७ चैत, २०८२

    काठमाडौं । नेकपा एमालेले शान्तिपूर्ण प्रदर्शनमाथि सरकारले बल प्रयोग गरेको आरोप लगाएको छ ।

    पार्टी केन्द्रीय कार्यालय च्यासलमा मंगलबार (आज) बसेको सचिवालय बैठकपछि पत्रकारहरूसँग  महासचिव शंकर पोखरेलले यस्तो आरोप लगाएका हुन् ।

    उनले भने, ‘हाम्रो पार्टी र जनसंगठनका तर्फबाट भएका विरोध प्रदर्शनमा सरकारका तर्फबाट अत्यधिक बल प्रयोग गरी उत्तेजित बनाउने सरकारको कामप्रति बैठकले गम्भीर आपत्ति जनाएको छ ।’

    यस्तै, सरकार गठनलगत्तै भएको धरपकडले सरकार राज्यआतंकतर्फ उन्मुख भएको बैठकको ठहर छ ।

    सचिवालय बैठकले बुधबार (भोलि) दिउँसो ३ बजेका लागि संसदीय दलको बैठक बोलाएको छ । बैठक पार्टी कार्यालयमा बस्नेगरी बैठक बोलाइएको हो ।

    एमालेले विरोध प्रदर्शनका कार्यक्रम पनि तय गरेको छ ।

    यी हुन् एमाले सचिवालय बैठकका निर्णय :

    पूर्वप्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली तथा पूर्वगृहमन्त्री रमेश लेखकको प्रतिशोधपूर्ण र बदला–प्रेरित गिरफ्तारीविरुद्ध भएको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले प्रहरीमार्फत गरेको दमनको घोर भत्र्सना गर्दै नेकपा (एमाले) सचिवालय बैठकले निम्न कार्यक्रमहरू तय गरेको छ–

    १. चैत २५ गतेसम्म जिल्ला तहमा आन्दोलनकेन्द्रित बृहत् भेला गर्ने ।
    २. चैत २८ गते सबै पालिकामा विरोध प्रदर्शन गर्ने ।
    ३. वैशाख ३ गते वडा तहमा भेला गर्ने ।
    ४. वैशाख ७ गते प्रदेश राजधानीहरूमा प्रदर्शन गर्ने ।
    ५. वैशाख १२ गते राजधानीमा विशाल विरोध प्रदर्शन गर्ने ।

    ६. सरकारद्वारा विद्यार्थी तथा पेसागत संगठनहरूसम्बन्धी गरिएका गतिविधिहरूका विषय समेत समेटेर सबै जनसंगठनहरूले आ–आफ्नो ढंगले आन्दोलनका कार्यक्रम सञ्चालन गर्दै पार्टीद्वारा घोषित आन्दोलनलाई प्रभावकारी बनाउन सहयोग गर्ने ।

    साथै भोलि ९चैत १८० बिहान ११ बजे जनसंगठन संयन्त्रको बैठक पार्टी कार्यालयमा बस्ने ।

    ७. सर्वपक्षीय नागरिक संवादका लागि उपाध्यक्ष रघुजी पन्त, उपमहासचिव योगेश भट्टराई र केन्द्रीय सदस्य मीनबहादुर शाही लाई जिम्मेवारी दिइयो ।

    ८. संसदभित्र दलहरूसँग सहकार्य र प्रभावकारी प्रस्तुति गर्ने जिम्मेवारी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र सचिव पद्मा अर्याललाई दिइयो । साथै भोलि दिउँसो ३ बजे संसदीय दलको बैठक पार्टी कार्यालयमा बस्ने ।

    ९. आन्दोलनका थप कार्यक्रम तय गर्न तत्कालै पार्टी केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरिएको छ ।

    प्रतिकृया दिनुहोस्