१५ असोज, २०८३काठमाडौं । नेपालको सार्वजनिक यातायात क्षेत्रमा डिजिटल भुक्तानी प्रवर्द्धन गर्न नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र जर्मन अन्तर्राष्ट्रिय सहयोग संस्था (जीआईजेड)बीच सहकार्य भएको छ।
१५ असोजमा भएको सम्झौतामा जीआईजेड–एसईटी–टु–एनपीका कार्यक्रम व्यवस्थापक डिएगो सिनियर र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरी सम्झौता आदानप्रदान गरेका हुन् ।
सहकार्यअन्तर्गत एनसीएचएलको राष्ट्रिय भुक्तानी पूर्वाधार प्रयोग गरी जीआईजेडको एसईटी–टु–एनपी परियोजनामार्फत नेपालमा सार्वजनिक यातायातसम्बन्धी भुक्तानीको डिजिटल रूपान्तरणलाई तीव्रता दिने लक्ष्य राखिएको छ ।
यसअन्तर्गत यातायात टिकट प्रणाली, मोबिलिटी एप, उपकरण तथा अन्य डिजिटल प्लेटफर्ममा एनसीएचएलका विभिन्न भुक्तानी माध्यम एकीकृत गरिनेछ । यसबाट यात्रुले विभिन्न यातायात प्रणालीमा एनसीएचएलका भुक्तानी माध्यम प्रयोग गरी डिजिटल रूपमा भुक्तानी गर्न सक्ने व्यवस्था गरिनेछ ।
सहकार्यले खुला प्रणालीमा आधारित टिकटिङलाई प्रवर्द्धन गर्नुका साथै टिकट काट्ने, भाडा संकलन, कारोबार प्रशोधन र भुक्तानी मिलानलगायत सार्वजनिक यातायातसँग सम्बन्धित प्रक्रियालाई डिजिटल बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
एनसीएचएलले प्रणाली एकीकरण, परीक्षण तथा सञ्चालनका लागि आवश्यक एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस (एपीआई) उपलब्ध गराउनेछ । साथै प्राविधिक सहयोग तथा सम्बन्धित टिकटिङ प्रणाली, एप्लिकेसन र उपकरणमा एनसीएचएलका भुक्तानी माध्यम एकीकरणका लागि सहजीकरण गर्नेछ ।
एनसीएचएलले नेपालको भुक्तानी प्रणालीको डिजिटल रूपान्तरणलाई प्राथमिकताका साथ अघि बढाउँदै आएको जनाएको छ । सार्वजनिक यातायात तथा नयाँ मोबिलिटी सेवामा डिजिटल भुक्तानीको पहुँच विस्तार गर्न यो सहकार्य महत्वपूर्ण हुने कम्पनीको अपेक्षा छ ।
यातायात टिकटिङ तथा भाडा संकलन प्रणालीलाई राष्ट्रिय भुक्तानी पूर्वाधारसँग जोडेर सार्वजनिक यातायातमा डिजिटल भुक्तानीको प्रयोग विस्तार गर्ने लक्ष्य लिइएको छ ।



