१९ कार्तिक, २०८२काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको औपाचारिक घोषणा गरिएको छ । काठमाडौंको भृकुटीमण्डपमा एउटा बृहत कार्यक्रमको आयोजना गर्दै एकताको घोषणा गरिएको हो ।
नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी लगायत १० वटा दलहरु मिलेर नेपाली कम्युनिष्ट पार्टी बनेको हो । पार्टीको संयोजक पुष्पकमल दाहाल प्रचण्ड बनेका छन् भने सहसंयोजक माधव कुमार नेपाल बनेका छन् । नेता महेन्द्रराय यादवले संयोजक र सहसंयोजक तोक्ने प्रस्ताव गरेका थिए । उक्त प्रस्ताव हलबाट पारित गरिएको हो ।
एकता घोषणा कार्यक्रममा पार्टीका नेता देव गुरुङले सभामा नवगठित पार्टीको २३ बुँदे घोषणापत्र सार्वजनिक गरेका छन् ।
यस्तै पार्टीकाे पहिलाे वरियता प्रचण्ड, दाेस्राेमा नेपाल, तेस्राेमा झलनाथ खनाल, चौथोमा बामदेव गौतम र पाँचौंमा नारायणकाजी श्रेष्ठको रहने बताइएको छ ।
यस्तै, एकता सम्मेलनले विभिन्न ९ बुँदे प्रस्ताव पनि पारित गरेको छ ।
यस्ता छन् पारित भएका ९ प्रस्ताव
१. एकता प्रक्रियामा सहभागी पार्टीहरूले पार्टी एकता गरेर ‘नेपाली कम्युनिष्ट पार्टी’ निर्माण गर्ने निर्णय गरिएको छ।
२. चुनाव चिह्न ‘पाँच कुने तारा’ राख्ने निर्णय गरिएको छ।
३. एकतामा सहभागी सबै सदस्यहरू अबदेखि नेपाली कम्युनिष्ट पार्टीका सदस्य हुने निर्णय गरिएको छ ।
४. एकतामा सहभागी सबै पार्टीका नेताहरूसँग आवश्यक परामर्श गरेर पार्टीका केन्द्रीय संरचनाहरूलाई पूर्णता दिने र संगठनात्मक समायोजन सम्बन्धी काम गर्ने तथा यसअघि सबै घटकका केन्द्रीय समितिलाई समायोजन गरी केन्द्रीय समिति निर्माण गर्ने निर्णय गरिएको छ ।
५. केन्द्रीय संरचनाहरूलाई पूर्णता दिने र संगठनात्मक समायोजनसम्बन्धी काम गर्ने अख्तियारी पार्टीका संयोजक र सहसंयोजकलाई दिने प्रस्ताव गरिएको छ ।
६. विगतका प्रतिनिधिसभा, राष्ट्रिय सभा, प्रदेश सभा र स्थानीय तहमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेकपा माओवादी समाजवादीको चुनाव चिह्नबाट निर्वाचित जनप्रतिनिधिहरू अबदेखि नेपाली कम्युनिष्ट पार्टीका जनप्रतिनिधि हुनेछन् ।
७. पार्टी एकतामा सामेल सबै पार्टीहरूको चल–अचल, बैंक मौज्दातलगायतका सम्पत्तिको स्वामित्व र दायित्व अबदेखि नेपाली कम्युनिष्ट पार्टीको स्वामित्वमा रहनेछ ।
८. नेपाली कम्युनिष्ट पार्टीको घोषणापत्र पारित गरिएको छ ।
९. नेपाली कम्युनिष्ट पार्टीको विधान छलफल र आवश्यक सुझावसहित पारित गरिएको छ ।




