५ कार्तिक, २०८२काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान समयमा सबैको साथ आवश्यक भएको बताएकी छिन् । आज प्रधानमन्त्री निवास बालुवाटारमा कलाकारहरूसँगको भेटमा उनले सामाजिक सञ्जालतिर भइरहेको दुष्प्रचार चिर्न भूमिका खेल्नुपर्ने बताइन् ।
‘समाजमा तपाईँ कलाकारहरूको प्रभाव छ, सामाजिक सञ्जालतिर भइरहेको दुष्प्रचार चिर्नका लागि तपाईँहरूले पनि भूमिका खेलि दिनुहोस् । हाम्रा केही कमी कमजोरी भए पनि औंल्याइ दिनुहोस् । तर, असल नियतले काम गर्दागर्दै कसैले गाली गर्छ भने त्यस्ता गालीसँग डराउँदैनौँ, हाम्रो उद्देश्य र लक्ष्यमा हामी स्पष्ट छौँ,’ उनले भनिन् ।
कलाकारहरूले पनि प्रधानमन्त्री कार्कीलाई गलत सूचना र प्रोपोगान्डाबाट नडराइ सङ्कल्पअनुसार अघि बढ्न सुझाव दिए । उनीहरुले भ्रष्टाचारविरुद्धको कारबाही र आगामी निर्वाचनलाई अर्जुनदृष्टि बनाएर अघि बढ्न प्रधानमन्त्रीलाई सुझाव दिए ।
‘सरकारसँग हामी केही माग्न आएका होइनौ, यो देश रहेमा माग्ने कुरा माग्दै गरौँला, पहिला यो देश बचोस् । यसका लागि सरकारले खुट्टा बलियो गरी टेकेर अघि बढोस्,’ कलाकारहरूले भने ।
‘अब के पो हुन्छ भनेर हामीलाई डर लागिरहेका बेला सम्हाल्न हजुर आउनुभएको छ,’ अभिनेत्री ऋचा शर्माले भनिन्, ‘हामीलाई ढुक्क भएको छ । यहाँको सरल, सादगी पूर्ण र स्पष्ट वक्ता शैलीका कारण पनि भरोसा जागेको छ । अब मुलुक सही दिशामा अघि बढ्नेमा हामीलाई विश्वास छ ।’
परिवर्तन नरुचाएका तत्वहरूले गृहमन्त्री ओमप्रकाश अर्यालसहित यो सरकारलाई विवादमा तान्न खोजेको उनीहरुको दाबी छ । त्यसका लागि लागि सामाजिक सञ्जालमा भइरहेको दुष्प्रचारका विषयमा उनीहरुले चासो व्यक्त गरेका थिए ।
अभिनेता विपिन कार्कीले भने, ‘गृहमन्त्रीज्यूका केही दिनका अभिव्यक्तिले सरकार डराएको छैन भन्ने अनुभूति हामीलाई भएको छ, सरकारप्रति थप विश्वास र आशा जागेको छ । अझै सरकार दरिलो रहेछ भन्ने अनुभूति गर्न पाऊँ ।’
गृहमन्त्रीले कानुनको शासनका पक्षमा देखाएको अडान र विपद् व्यवस्थापनमा खेलेको भूमिकाको सराहना गर्दै उनीहरूले देशमा सरकार छ भन्ने कुराको अनुभूति भएको बताए ।
अभिनेता निश्चल बस्नेतले भने, ‘आफू सही धरातलमा छु भन्ने लागेको छ भने कसैसँग डराउनुपर्दैन, ढुक्कसँग अघि बढ्नुहोस् । तपाईँको पक्षमा हामी छौँ । देशलाई थप अप्ठ्यारो आउन नदिन यतिखेर राष्ट्रिय एकताको खाँचो छ । सरकारलाई सहयोगको खाँचो छ र यतिखेर सकारात्मकताको खाँचो छ ।’
साहित्य र कलाले आलोचनात्मक चेत बोक्ने भए पनि अहिले तटस्थ नागरिक सरकार रहेको र पूर्व प्रधानन्यायाधीशदेखि समाजका प्रतिष्ठित, विज्ञ, विशेषज्ञहरू मन्त्रिमण्डलमा सामेल भएका कारण पनि कम्तीमा विगतमा जस्तो बेथितिको संरक्षण हुने छैन भन्ने विश्वास पनि उनीहरूले व्यक्त गरे ।
सङ्गीतकार कालीप्रसाद बाँस्कोटाले भने, ‘समाज भड्काउन सजिलो छ, सम्हाल्न गाह्रो छ, अहिले भड्काउन खोज्नेहरू बढी देखिएका छन्, त्यस्ता तत्वहरूप्रति सचेत रहँदै सम्हाल्ने र सम्हालिने समय हो यो ।’
वर्तमान सरकारलाई बदनाम र कमजोर बनाउँदै अस्थिरताको लाभ लिन खोज्नेहरूले नियोजित रूपमा चलाइरहेका अभियानलाई निस्तेज बनाउन जेनजी युवादेखि परिवर्तन पक्षधर सबै एक ठाउँमा उभिनु पर्ने आवश्यकता पनि सर्जनहरूले औंल्याए ।
त्यस अवसरमा कलाकार तथा सर्जकहरु विजय बराल, सुजित बिडारी, निश्चल बस्नेत, विपिन कार्की, सान बस्न्यात, दिव्यदेव पन्त, कालीप्रसाद बास्कोटा, ऋचा शर्मा, कर्मा लगायतको उपस्थिति थियो ।
 



