News Portal

  • मुस्ताङको घरपझोङ्गमा प्रभु बैंकको वित्तीय साक्षरता, गभर्नरले भने-डिजिटल जोखिमबाट बच्नुहोला

    आर्थीकसंसार संवाददाता२ चैत्र, २०८१
    १९ पटक
    २ चैत्र, २०८१

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुस्ताङ पुगेर डिजिटल बैंकिङ र अनलाइन वित्तीय सेवाहरूको प्रयोगको महत्व र त्यससँग जोडिएका जोखिमहरूबाट बच्नुपर्ने बताएका छन् । प्रभु बैंक गण्डकी प्रदेशले आयोजना गरेको मुस्ताङको घरपझोङ्ग गाउँपालिकामा वित्तीय साक्षरता कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।

    उनले भने, ‘डिजिटल प्रविधिको उपयोग गर्दा हामीलाई यसका सम्भावित जोखिमहरू र ठगीका घटनाहरूबाट जोगिन सचेत रहनुपर्छ । हामीले डिजिटल वित्तीय सेवामा सुरक्षित र विवेकपूर्ण निर्णयहरू लिनुपर्ने आवश्यकता छ ।’

    राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले स्थानीय बासिन्दाहरूसँग बचत, बजेटिङ र लगानीको अवधारणा बारेमा बृहत छलफल गरे ।

    प्रभु बैंक गण्डकी प्रदेश प्रमुख राजु राना मगरले डिजिटल वित्तीय उपकरणहरूको उपयोग, मोबाइल बैंकिङ, अनलाइन बचत खाता खोल्ने र वित्तीय सुरक्षा विधिहरूको बारेमा विस्तृत जानकारी दिएका थिए ।

    घरपझोङ्ग गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचनले कार्यक्रमको स्वागत गर्दै भने, ‘हाम्रो गाउँपालिकाका नागरिकहरूलाई डिजिटल वित्तीय सेवामा सचेत र सक्षम बनाउने यो कार्यक्रम अत्यन्त महत्वपूर्ण छ । यसले सबैलाई वित्तीय साक्षरतामा अगाडि बढ्न मद्दत गर्नेछ ।’

    डिजिटल वित्तीय ज्ञानको प्रसार, डिजिटल ठगीबाट जोगिनका उपायहरूको बारेमा जनचेतना फैलाउने र सर्वसाधारणलाई बचत गर्न, बजेटिङ र लगानीको अवधारणालाई विकास गर्ने उद्धेश्यले उक्त कार्यक्रमको आयोजना गरेको बैंकले जनाएको छ । स्थानीय समुदायले यस किसिमको कार्यक्रम आगामी दिनमा पनि हुनुपर्ने माग गरे ।

    प्रतिकृया दिनुहोस्