काठमाडौं । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सको मन्थली शाखाले दुर्घटना बीमा बापतको दाबी रकम भुक्तानी गरेको छ । उक्त दाबी वापतको रकम रामेछाप मन्थली नगरपालिका वडा नम्बर १४ स्थित बुद्ध बचत तथा ऋण सहकारी संस्थाकी बचत सदस्य साइली तामाङलाई दिइएको हो । उनको आफ्नै घरमा लागेको आगो निभाउने क्रममा मृत्यु भएपछि उनलाई कम्पनीले बीमा दाबी बापतको रकम हस्तान्तरण गरेको हो ।
कम्पनीको मन्थली शाखा प्रमुख बिपिन भट्टराईका अनुसार दुर्घटना बीमा बापतको दाबी रकम १ लाख रुपैयाँको चेक मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठले हस्तान्तरण गरेका हुन् । वडाध्यक्ष मोतिलाल तामाङको समेत रोहबरमा मेयर श्रेष्ठले बुद्ध बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष निमा दोर्जे लामामार्फत मृतकका श्रीमान सुरज सिंह तामाङलाई चेक हस्तान्तरण गरेका हुन् ।
गत बैशाख ३ गते आफ्नै घरमा लागेको आगो निभाउने क्रममा गम्भीर घाइते भएपछि साइली तामाङलाई काठमाडौँको किर्तीपूरस्थित वर्न अस्पताल ल्याइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको थियो ।
बुद्ध बचत तथा ऋण सहकारी संस्थाले आफ्ना ८०५ जना बचत सदस्यको दुर्घटना र औषधी उपचार बीमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्समा गरेको छ । सोही अनुरुप उनले दाबी वापतको रकम पाएकी हुन् ।