News Portal

  • पहिराको जोखिम भएका परिवारलाई सुरक्षित स्थानान्तरण गर्न गृहमन्त्रीकाे निर्देशन

    आर्थीकसंसार संवाददाता२२ असार, २०८१
    ५४ पटक
    २२ असार, २०८१

    काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले लगातारको वर्षाबाट उत्पन्न हुनसक्ने विपद्को जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा तत्काल स्थानान्तरणको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

    गृहमन्त्रालयमा भएको आपत्कालीन बैठकमा उनले विपद्का घटनालाई तुरुन्त सम्बोधन गर्न र सतर्कताका राज्यको जिम्मेवारी पूरा गर्न सम्बन्धित उच्चाधिकारी र सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिए । बैठकमा सुरक्षा निकायले हालसम्मको वस्तुस्थितिका बारेमा जानकारी गराएका थिए ।

    उपप्रधानमन्त्री लामिछानेले ‘कमाण्ड पोष्ट’ र सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई विपद्बाट जनधनको क्षति हुन नदिन र खाद्यान्न, लत्ताकपडालगायत सामग्रीको अभाव हुन नदिन आग्रह गरे । “

    ‘हामीले सिंहदरबारमा बसेर क्षतिको विवरणबारे आमनागरिकलाई सूचना दिएर हाम्रो दायित्व पूरा हुँदैन । क्षति कम गर्न र उद्धारलगायत काममा हामीले कसरी काम गरेका छौँ भन्ने विषय महत्वपूर्ण हुन्छ,’ गृहमन्त्री लामिछानेले भने, ‘हामीले बनाएका विपद् पूर्वतयारी योजना, निर्देशिका र कार्यविधिका कागजलाई व्यवहारमा उतार्ने समय आएको छ । हामीले हरेक व्यक्तिको ज्यान जाँदाको राज्यको एक सदस्य गुमाउनुपरेको अनुभूति लिएर काम गर्नुपर्ने हुन्छ ।’

    उनले पूर्वतयारीको योजनालाई कार्यान्वयनमा सघाउन राजनीतिक दल, सम्बन्धित निकाय र पक्षलाई आग्रह गरिसकेको जानकारी दिए ।

    बैठकमा गृहसचिव एकनारायण अर्याल, नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल तथा नेपाली सेनाका उच्च अधिकारीलगायत उपस्थिति थियो ।

    प्रतिकृया दिनुहोस्