News Portal

  • बाल श्रम अन्त्यका तत्काल काम गर्न ग्लोबल प्यानलको आह्वान 

    आर्थीकसंसार संवाददाता८ फागुन, २०८०
    २४३ पटक
    ८ फागुन, २०८०

    काठमाडौं । विश्व सामाजिक मञ्च २०२४ को अवसरमा काठमाडौंमा आयोजना भएको बालश्रम अन्त्य गर्ने ग्लोबल प्यानलले बालश्रम अन्त्यका लागि तत्काल काम गर्न आह्वान गरेको छ । प्यानलले विश्वव्यापी बाल श्रमले उत्पन्न भएका बहुआयामिक चुनौतीहरूलाई सम्बोधन गर्ने उद्देश्यले व्यापक छलफल गरेको थियो ।

    सीएसओज फोरम अन एसटिजी ८.७  नेटवर्कले संयोजन गरेको उक्त प्यानलमा बोल्दै अधिकारकर्मी मिलन धरेलले अर्को विश्व सम्भव छ भनिरहँदा बालश्रम नभएको विश्वको परिकल्पना गरिएको बताए । उनले भने विश्वभरि अहिले करिव १६ करोडको हाराहारीमा बालबालिका श्रममा छन् भनिएको छ । यसलाई हेर्दा जनचेतनाको कमी, गरीबी र अभाव मात्रै बालश्रमको जड कारण होइन । बालश्रम युद्ध र राजनीतिक विषयको रुपमा पनि रहेको छ ।

    अधिकारकर्मी मनिराम आचार्यले नेपालमा बालश्रमको अवस्थाको बारेमा चर्चा गर्दै यहाँ बालश्रम सामाजिक रुपमा स्वीकार गरिएको विषय भएको बताए । उनले भने, समाजले नै यहाँ बालश्रमलाई स्वीकार गरेको छ । त्यसैले यसको रोकथामका लागि सोही अनुसारको निती निर्माण र त्यसको प्रभावकारी कार्यन्वयनमा जोड दिनु आवश्यक छ ।

     उक्त अवसरमा आफ्नो धारणा राख्दै ट्रेड युनियनकर्मी स्मृति लामाले मर्यादित श्रममा वयस्क श्रमिकहरूको सहभागिता नहुँदा बालश्रम बढ्दो क्रममा रहेको बताउँदै बालश्रम रोक्न श्रोत मै काम गर्नु पर्ने बताइन । उनले भनिन्, बालश्रम गरिबीले मात्रै सिर्जित समस्या नभएर यसमा अन्य कारणहरू पनि रहेका छन् । त्यसको पहिचान गरेर काम गर्नु पर्ने आवश्यकता छ ।

    अधिकारकर्मी रञ्जना शर्माले बालश्रम हिडन फर्ममा गइरहेको बताउँदै नेपालमा विद्यमान बालश्रमको अवस्थाको बारेमा गरिएको अध्ययन उपलब्धिका बारेमा जानकारी गराएकी थिइन ।

    ग्लोबल प्यानलले बाल श्रमको क्षेत्रमा विद्यमान चुनौतीलाई सम्बोधन गर्न, बाल अधिकारको रक्षा गर्न र बालश्रम शोषण रोक्न प्रभावकारी र शसक्त प्रयासहरूको तत्काल आवश्यकता रहेको औँल्याएको थियो । ग्लोबल प्यानलको छलफलमा बालश्रमको अन्त्य र बालअधिकारका सबालमा उठेका प्रश्न र प्राप्त भएका सुझावका आधारमा विभिन्न ८ बुँदे माग समेत जारी गरिएको छ ।

    अधिकारकर्मी मनु नेपालीका अनुसार विश्वमा कस्तो खालको श्रमको क्षेत्रमा बालबालिकाहरू श्रमिकका रुपमा संलग्न रहेका छन् र कस्तो किसिमको अभ्यास छ र बालश्रमको क्षेत्र भइरहेका पहलहरूको म्यापिङ गरेर भविष्यमा बालश्रमका क्षेत्रमा कस्ता सहकार्य गर्न सकिन्छ भनेर ग्लोबल प्यानल अन चाइल्ड लेबर कार्यक्रमको आयोजना गरिएको हो ।

    अधिकारकर्मी नेपालीका अनुसार नेटवर्कले श्रम मन्त्रालयसँग समन्वय गरेर काम गरिरहेको छ । बालश्रम, बाध्यकारी श्रम र मानव बेचविखनका सबालमा श्रम मन्त्रलायले गरेका कार्यक्रमहरूको आधारमा मुलुक भित्र कस्तो उपलब्धि भएको छ भनेर ग्लोबल रिर्पोट तयार गर्ने र सरोकारवाला निकायमा पठाउने काम गर्ने उनले बताइन ।

    कार्यक्रममा नेपालका विभिन्न जिल्लाबाट आएका अधिकारकर्मी, सरोकारवाला, नागरिक समाज लगायत विदेशी संघ संस्थाका गरि २ सय भन्दा बढि सहभागीहरू थिए ।

    प्रतिकृया दिनुहोस्