News Portal

  • इपीएस फर्म भर्न पाउनुपर्ने माग राख्दै प्रदर्शनमा उत्रिएका दुई जना युुवाहरुको मृत्यु

    आर्थीकसंसार संवाददाता१३ पुष, २०८०
    १५३ पटक
    १३ पुष, २०८०

    काठमाडौं । कोरिया जानका लागि आवश्यक रोजगारी अनुमति प्रणाली (इपीएस) फर्म भर्न पाउनुपर्ने माग राख्दै प्रदर्शन उत्रिएका मध्ये २ जना युुवाहरुले आज ज्यान गुमाएका छन् । ललितपुरको ग्वार्कोस्थित ईपिएस शाखा कार्यालयमा ईपिएस भाषा परीक्षाको लागि फर्म भर्न पाउनुपर्ने माग राख्दै प्रदर्शनमा उत्रिएका युवाहरुमाथि प्रहरीले बल प्रयोग गर्दा बिरेन्द्र शाह र सुजन राउतले ज्यान गुमाउनु परेको हो ।

    बल प्रयोग र गोली प्रहारको क्रममा सुजन राउत र विरेन्द्र शाहको मृत्यु भएको हो । सुजन राउतको छातीमा ठूलो निलडाम देखिएको छ भने शाह गोली लागेर घाइते भएका थिए ।  काम दिन नसकेको सरकारसँग कोरिया जानका लागि फर्म भर्न माग गर्दा उनीहरु गोली उपहार लिएर देशमा वेरोजगारको शिकार भएका हुन् ।

    देशभित्र रोजगारीको वातावरण नभएपछि दशकौं देखि नेपालीहरुको रोजगारको गन्तव्य विश्वका विभिन्न मुलुक बनेका छन् । जसमध्ये अधिकांश देशमा नेपाली युवाहरु कामदार, विद्यार्थी र भिजिट भिसाको नाममा व्यक्तिगत पहलबाट नै जाने गरेका छन् । त्यसमध्ये दक्षिण कोरियामा भने सरकारको द्वीपक्षीय सम्झौताअनुसार इपिएस भाषा परिक्षा उत्तिर्ण भएर विभिन्न शिर्षकका काममा नेपाली युवाहरु रोजगारका निम्ति जान्छन् ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको इपिएस शाखाले भाषा परीक्षाको लागि गत मंसिर १९ गते निकालेको सूचनामा अन्य क्षेत्रको लागि कोरियन भाषा परीक्षामा सहभागी भएकाहरुले परीक्षा फर्म भर्न नपाउने सूचना प्रकाशित गरेको थियो । सन् २०२३ मा पानी जहाज निर्माण कम्पनीका लागि पनि आवेदन खुलेको थियो। इपिएस शाखाका अनुसार त्यसमा ३५ हजार ७०८ जनाको आवेदन गरेका थिए । जसको लागि भएको भाषा तथा सीप परीक्षामा तीन हजार ९८९ जना उत्तीर्ण भएका थिए ।

    तर, पानी जहाज कम्पनीका लागि आवेदन दिएर परीक्षामा फेल भएकामध्ये १८ जना युवाहरुले पाटन उच्च अदालतमा निवेदन दिएर आफूहरु पनि परीक्षामा सहभागी हुन पाउनुपर्ने आदेशको लागि निवेदन गरे । पाटन उच्च अदालतले ती युवाहरुलाई फारम भर्न सहभागी गराउन पुस ५ गते आदेश जारी गर्यो । सोही अनुसार शुक्रबार इपिएस कोरिया शाखाले १८ जनाको लागि फर्म भर्न सूचना प्रकाशित गरेर बोलाएको थियो ।

    उच्च अदालतले सीमित निवेदकहरुलाई मात्रै फर्म भर्ने अवसर दिएपछि हजारौंको संख्यामा युवाहरु बिहीबार बिहानैदेखि ग्वार्को कार्यालय पुगेर आफूहरुले पनि भाषा परीक्षाको लागि फर्म भर्न पाउनुपर्ने माग गरे । युवाहरुको धर्नालाई हटाउन प्रहरीले शुरु गरेको बल प्रयोगले नै २ जना युवाको ज्यान जाने अवस्थाको सिर्जना हुने वातावरणको शुरुवात भएको हो ।

    इपिएस कार्यालयमा धर्नामा पुगेका युवाहरुलाई प्रहरीले तितरवितर पार्दा उनीहरु ग्वार्कोको सडकसम्म पुगेका थिए । त्यहीबेलामा ग्वार्कोको सडकमा पुगेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको गाडीलाई नियन्त्रणमा लिएर आक्रोशित युवाहरुले आगजनी गरे । मन्त्रीको गाडीमा आगजनी गरिसकेपछि प्रहरी र युवाहरुबीचको भएको झडपमा प्रहरीले शुरुमा अश्रुग्यास र त्यसपछि गोली प्रहार गर्यो । ५० भन्दा धेरै प्रदर्शनकारीलाई प्रहरीले पक्राउ पनि गर्यो ।

    युवाहरु मारिएपछि अदालतको नयाँ आदेश

    फर्म भर्न पाउनुपर्ने भन्दै युवाहरु मारिएपछि पाटन उच्च अदालतले शुक्रबार फेरि अर्को आदेश जारी गरेर सबैलाई परीक्षा फर्ममा सहभागी गराउन भनेको छ । ग्वार्कोमा भएको झडपलाई लिएर सरकारको चौतर्फी आलोचना भएपछि भौतिक पूर्वाधार मन्त्रीले झडपमा आफ्नो संलग्नता नभएको बताएका छन् । गृह मन्त्रालयले घट्नाको छानबिनको लागि ३ सदस्यीय समिति बनाएको छ ।

    प्रतिकृया दिनुहोस्