News Portal

  • सप्तकोशी विकास बैंकका सेयरधनी उच्च जोखिममा, दुई ठूला ऋणीको कारण सकस

    आर्थीकसंसार संवाददाता११ जेठ, २०८०
    १२५ पटक
    ११ जेठ, २०८०

    काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंक ठूलो सकसमा परेको छ । केही ऋणीहरुले बैंकबाट ठूलो मात्रामा ऋण लिएर त्यसको सावाँ ब्याज नतिरेपछि बैंक अहिले समस्यामा परेको हो । परिणामस्वरुप बैंकको खराब कर्जा बढेर १८.५४ प्रतिशत पुगेको छ । जुन नियामकीय सीमाभन्दा करिब ३ सय गुणा बढी हो । नेपाल राष्ट्र बैंकले ५ प्रतिशतभन्दा बढी बढी खराब कर्जा हुने बैंकले विभिन्न सेवाबाट बञ्चित गराउँछ भने ५ प्रतिशतभन्दा बढी खराब कर्जा नाघ्ने बैंकलाई कारवाही पनि गर्छ ।
    बैंकको तथ्याङ्क अनुसार गत वर्षको तुलनामा बैंकको खराब कर्जा ७.८२ प्रतिशत बढेर १८.५४ प्रतिशत पुगेको हो । गत वर्षको चैत मसान्तसम्म बैंकको खराब कर्जा १०.७२ प्रतिशत थियो । प्रत्येक वर्ष बैंकको खराब कर्जा बढेको देखिन्छ ।
    चालू आर्थिक वर्षको चैतसम्मको तथ्यांक अनुसार बैंकले ४ अर्ब ८७ करोड २२ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने ४ अर्ब १६ करोड ७४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यस आधारमा बैंकको कर्जा निक्षेप अनुपात ८९.३० प्रतिशत छ । १८.५४ प्रतिशत भनेको बैंकको साढे ७७ करोड रुपैयाँ खराब स्थितिमा रहेको देखिन्छ ।
    कुल ८३ करोड ४३ लाख ३८ हजार ५ सय रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको कोर क्यापिटल ५० करोड ९७ लाख ५३ हजार रुपैयाँ छ । बैंकको कूल पूँजी कोष ५९ करोड ७ लाख ६६ हजार रुपैयाँ रहेको छ भने बैंकको आधार दर १३.०७ प्रतिशत र स्प्रेड दर ४.७९ प्रतिशत छ ।
    प्रत्येक वर्ष खराब कर्जालाई घटाउन नसकेपछि राष्ट्र बैंकले सप्तकोशी डेभलपमेन्ट बैंकलाई कारवाही गर्दै आएको छ । राष्ट्र बैंकले पछिल्लो तीन महिनामा पाँच वटक कारवाही गरिसकेको छ ।
    बैंकले खराब अवस्थाको वित्तीय विवरण सार्वजनिक गरिरहँदा लगानीकनर्ताको लगानी भने डुब्ने अवस्थामा रहेको देखिन्छ । राष्ट्र बैंक स्रोतका अनुसार यस बैंकको खराब कर्जा पहिलेदेखि नै घट्न सकेको छैन । कोरोना महामारीपछि समग्र बैंकिङ क्षेत्रमा खराब कर्जा बढेको र यो बैंकमा पनि त्यसको असर देखिएको राष्ट्र बैंक स्रोतको भनाइ छ । संस्थामा खराब कर्जा उच्च हुँदैमा बैंकलाई समस्याग्रस्त भन्न नमिल्ने उनको भनाइ छ । उनका अनुसार बैंकले पूँजी कोष सन्तुलन गरेको हुँदा समस्याग्रस्त बैंक भनेर घोषणा गर्न मिल्दैन ।
    ‘कुनै समय नेपाल फाइनान्स कम्पनीको ४८ प्रतिशत खराब कर्जा पुगेको थियो, अहिले घटाएर १३.७१ प्रतिशतमा झारेको छ, केही संस्था समस्याग्रस्त घोषणा गरेर रिकभरी हुने अवस्थामा छन्, नारायणी विकास बैंक, कर्पाेरेट डेभलपमेन्ट, सप्तकोशी डेभपमेन्ट बैंक सुधारको क्रममा छन्, यी बैंकहरु पहिला समस्यामा परेर सुधार भएका हुन्,’ राष्ट्र बैंक स्रोतले भन्यो ।
    उनका अनुसार सप्तकोशी डेभलपमेन्ट बैंक पहिलादेखि नै समस्यामा थियो । बैंकमा कार्यरत केही कर्मचारी रकम हिनामिना गरेको भन्दै जेल समेत परेका छन् । पहिलाको व्यवस्थापन समूहले गलत गरेका कारण बैंकको खराब कर्जा बढेको बैंकको भनाइ छ । खराब कर्जा बढेपछि राष्ट्र बैंकले प्रोभिजन राख्नु पर्ने व्यवथा गरेको छ । तर, बैंकका कर्मचारीको कमजोरीका कारण खराब कर्जा बढेको उनको भनाइ छ ।
    ‘एनपीएल बढी भएका कारण नै समस्याग्रस्त घोषणा गरिँदैन, शीघ्र सुधारात्मक विनियमवाली २०६४मा भएको व्यवस्था अनुसार समस्याग्रस्त घोषणा गरिन्छ, क्यापिटल एडुकेसी ११ प्रतिशतबाट झर्याे भने मात्रै कारवाही प्रक्रिया अघि बढाइन्छ,’ उनले भने, ‘ठूलो समस्या देखियो भने जुनसुकै बेला पनि राष्ट्र बैंकले कारवाही गर्न सक्छ,अहिले विकास बैंक र वित्त कम्पनीलाई पूँजी कोष १० प्रतिशत तोकिएको छ । तर, १ प्रतिशत बफर लागू गरिएको हुँदा ११ प्रतिशत भएको संस्थालाई सुरक्षित मानिन्छ, १० प्रतिशतभन्दा तल पूँजी कोष भएका संस्थालाई राष्ट्र बैंकले सुक्ष्म निगरानीमा राखेको हुन्छ ।’
    विकास बैंकहरुको औषत खराब कर्जा दर ५.०१ प्रतिशत र फाइनान्स कम्पनीको ३.४० प्रतिशतको हाराहारीमा छ । समग्र प्रणालीमा असर पर्दा खराब कर्जा बढिरहेको उनको तर्क छ ।
    चैत मसान्तसम्मको तथ्याङ्क अनुसार बैंकको खुद नाफा २७ करोड ४९ लाख ५० हजार रुपैयाँ नोक्सानीमा छ । गत वर्षको सोही अवधिमा बैंक ७३ करोड ८४ लाख ४४ हजार रुपैयाँ नोक्सानीमा थियो । यो बैंकमा संस्थापक समूहको ६६.४३ प्रतिशत र सर्वसाधारणको ३३.५७ प्रतिशत सेयर स्वामित्व छ ।
    बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) कुमार खड्काघरजग्गा व्यवसायी र मेडिकल व्यवसायीले लिएको कर्जा बिग्रिएको कारण बैंकको एनपीएल ह्वात्तै बढेको बताउँछन् । कानुनी प्रक्रिया पुर्याएर सबै कर्जा चुक्ता गर्ने अन्तिम चरणमा रहेको उनको भनाइ छ ।
    ‘सञ्जिवनी हस्पिटलले १२/१३ करोड रुपैयाँ लिएको छ, एउटा घरजग्गा व्यवसायीले १५ करोड रुपैयाँ ऋण लिएका छन्, घरजग्गासँग सम्बन्धीत ऋणीले कर्जा निरन्तर गरेर ६ करोडमा झारिसकेको छ, कर्जा रिकभरमा आएर गुड लोन भइसक्यो, घरजग्गा व्यवसाय कारोबार ठप्प हुँदा ऋणीलाई समस्या परेको मात्रै थियो,’ उनले भने, ‘बैंकले अहिले ऋण असुलीमा जोड दिइरहेको छ, २/३ करोड रुपैयाँ कर्जा लिएका ऋणीहरुले पनि धमाधम चुक्ता गरिरहेका छन्, सुधार हुँदैछ ।’
    ‘पूर्वी क्षेत्रमा बढी केन्द्रित भएकाले पछिल्लो समय भएको आन्दोलन (दुर्गा पर्साईं)का कारण ऋणीहरुले तिर्न मानेनन्, कर्जा नतिर्न उर्दी जारी गरेपछि समस्या आयो, प्रदेश स्तरका अन्य बैंकको पनि अहिलेको स्थिती खराब छ तर, आन्दोलन कम भएपछि कर्जा असुली निरन्तर हुँदैछ,’ उनले भने ।
    सप्तकोसी डेभलपमेन्ट बैंकमा १५ करोड ७५ लाख ४० हजार ५७५ रुपैयाँ हिनामिना गरेको आरोपमा तत्कालीन बैंकका सीईओ नवीन सुवेदीसहित १२ जनाविरुद्ध उच्च अदालत विराटनगरमा मुद्दा परेको छ । सरकारी वकिलको कार्यालय मोरङले बैंकिङ कसुर मुद्दामा सुवेदीसहित ९ जना बैंकका कर्मचारी र ३ जना खातावालालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गराएको छ । सो घटनाका कारण बैंकलाई ठूलो क्षति पुगेको उनले बताए ।
    ती ब्यक्तिहरुले बैंकलाई १५ करोड ७५ लाख मात्रै हिनामिना गरेनन् बचतकर्ताले निक्षेप पनि निकालेपछि बैंक समस्यामा नै परेको थियो । जसकारण राष्ट्र बैंकले ५ पटक जरिवाना गरेको उनको भनाइ छ । उनका अनुसार लघु कर्जा, सहकारी लगायतका ब्यक्तिहरुले डराएर निक्षेप निकालेका थिए । परिणामस्वरुप बैंक समस्यामा पर्दै गयो ।
    ‘गत वर्षको घटनाले बैंकको सीडी रेसियो क्रस गर्याे, त्यो बेलामा बैंकसँग ४ अर्ब ४८/४९ करोड रुपैयाँ निक्षेप थियो, बैंकका विरुद्ध नराम्रो सन्देश गएपछि निक्षेपकर्ताले एकैपटक ४८ करोड रुपैयाँ निक्षेप निकाल्नु भयो, ४८ करोड निकाल्ने बित्तीकै सीडी रेसियो क्रस भयो, जुन बैंकको नियन्त्रण भन्दा बाहिरको थियो,’ उनले भने, ‘बैंकको नियन्त्रण भन्दा बाहिरको घटनाका कारण सीडी रेसियो क्रस भएको हुँदा हामीलाई जरिवाना नतिराउनु भनेर राष्ट्र बैंकमा निवेदन दिएका थियौं तर, सीडी क्रस गरेपछि पेनाल गर्ने व्यवस्थाका कारण जरिवाना तिराइयो, व्यवस्थापन समूहले जानीजानी कर्जा दिएर सीडी क्रस गरेको भए जरिवाना गर्नु स्वभाविक हो ।’
    बैंकको पूँजी कोष प्रयाप्त भएकाले क्यापिटल एडुकेसीमा समस्या नरहेको उनको भनाइ छ । बैंकले झण्डै ६० करोड रुपैयाँ प्रोभिजन गर्नु परेका कारण घाटामा रहेको उनले बताए । सो रकम ‘राइट ब्याक’ हुने बित्तीकै सबै समाधान हुने उनको दाबी छ ।
    ‘एनपीएलमा ४३ करोड रुपैयाँ र पुरानो मुद्धाको १५÷१६ करोड रुपैयाँ गरी कूल ५९ करोड रुपैयाँ प्रोभिजन गर्नु पर्याे, प्रोभिजनका कारण जगेडा कोषमा असर गरेको हो, राइट ब्याक हुनेबित्तीकै समाधान हुन्छ, त्यो सबै रकम फिर्ता आउने हो भने बैंक घाटामा छैन,’ उनले भने ।
    सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मासाढे २ सय रुपैयाँको हाराहारीमा छ । नेप्सेको पछिल्लो तथ्याङ्क अनुसार बैंकको सेयर प्रतिकित्ता २४० रुपैयाँमा कारोबार भएको देखिन्छ । पूँजी बजारमा सेयर मूल्य राम्रै रहेको भएपनि संस्थाको वित्तीय विवरणका आधारमा बैंक समस्यामा देखिन्छ । हाल बैंकको अध्यक्षका रुपमा अर्जुन बरालले नेतृत्व गरिरहेका छन् भने दिनेश कुमार पोखरेलले प्रमुख कार्यकारी अधिकृतको काम गरिरहेका छन् ।

     

    प्रतिकृया दिनुहोस्