News Portal

  • कृषि विकास बैंकको सीईओमा डिजिएम सुवेदीसहित २२ जनाको दाबी

    आर्थीकसंसार संवाददाता१५ माघ, २०७९
    २०६ पटक
    १५ माघ, २०७९

    काठमाडौं । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि २२ जनाको आवेदन परेको छ । आवेदन दिने आज अन्तिम दिनसम्म बैंकको सीईओका लागि २२ जनाको आवेदन परेको बैंकका कम्पनी सचिव हिमलाल पौड्यालले विकासन्युजलाई जानकारी दिए ।
    बैंकका उपमहाप्रबन्धक प्रताप सुवेदीले पनि सीइओको लागि आफुले पनि आवेदन दिएको जानकारी दिएका छन् । ‘बैंकको सीइओको लागि मैले पनि आवेदन दिएको छु, २२ वर्षदेखि यस बैंकमा काम गरिरहेको छु, क्षमता र योग्यताको आधारमा यो पद पाउँछु भन्नेमा विश्वस्त छु,’ उनले भने ।
    हाल बैंकको कायम मुकायम सीईओको जिम्मेवारी उपमहाप्रबन्धक सुवेदीलाई दिइएको छ । सुवेदीले यसअघि राष्ट्र बैंकमा ५ वर्ष काम गरिसकेका छन् । उनको बैंकिङ क्षेत्रमा २७ वर्षको अनुभव रहेको छ ।
    यस्तै, बैंकबाटै बैंकका चिफ सर्भिस अफिसर यज्ञ प्रकाश न्यौपाले पनि आवेदन दिएको कम्पनी सचिव पौड्यालले जानकारी दिए ।
    बैंकका पूर्व सीईओ अनिल उपाध्यायको कार्यकाल गत पुस १० गते सकिएपछि बैंकले पुस २५ गते विज्ञापन आह्वान गरेको थियो । उक्त पदका लागि आज (माघ १५ गते)सम्म आवेदन खुला थियो ।
    बैंकले योग्यता र अनुभव प्राप्त व्यक्तिलाई आवेदनका आधारमा सीईओका लागि छनोट गर्नेछ । भेट्रान व्यक्तिहरुले सीइओको लागि आवेदन दिएको बैंकले बताएको छ ।
    उम्मेदवारको शैक्षिक योग्यता तथा कार्य अनुभव र पेश भएको व्यावसायिक कार्ययोजनाको मूल्याङकनको आधारमा उम्मेदवारहरुमध्ये ५ जनालाई सर्ट लिष्टिङ्ग गरी अन्तरवार्ताका लागि छनौट गरिने बैंकले जनाएको छ ।
    बैंकको अनुसार छनौट भएका उम्मेदवारहरुमध्ये शैक्षिक योग्यता तथा कार्य अनुभव, व्यावसायिक कार्य योजनाको मूल्याङ्कन प्रस्तुतीकरण तथा अन्तवार्ताको आधारमा उच्चतम अंक प्राप्त गर्ने ३ जनालाई सीईओका लागि सिफारिस गरिनेछ ।

     

    प्रतिकृया दिनुहोस्