News Portal

  • दोलखालाई नमूना जिल्ला बनाउने अभियानको नेतृत्व एमालेले गरिरहेको छ: पार्वत गुरुङ, पोलिटब्यूरो सदस्य, नेकपा एमाले

    २९ कार्तिक, २०७९
    ८५४ पटक
    २९ कार्तिक, २०७९

    पार्वत गुरुङ, नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पूर्व मन्त्री हुनुहुन्छ । दोलखाको चुनाव परिचालन कमिटीको हाईकमाण्डमा रहेर नेतृत्व गरिरहनुभएका गुरुङ यतिबेला मतदाता घरदैलो अभियान र चुनावी सभाहरुमा उम्मेद्वारहरुसँगै व्यस्त हुनुहुन्छ ।
    दोलखाबाट दुई पटक प्रतिनिधिसभामा निर्वाचित निवतर्मान सांसद गुरुङ अघिल्लो निर्वाचनमा देशकै सबैभन्दा बढि ३० हजार मतान्तरमा निर्वाचित हुनुभएको थियो । पार्टीभित्र मात्र होइन, कतिपय अवस्थामा दोलखाका अन्य राजनीतिक दलहरुलाईसमेत मनाएर उपयुक्त समयमा नेतृत्व गर्नसक्ने क्षमताका गुरुङ अब्बल र प्रभावशाली संगठकका रुपमा परिचित हुनुहुन्छ । नेकपा एमालेको ‘लालकिल्ला’का रुपमा जिल्लालाई स्थापित गर्ने अभियानमा अहोरात्र खटिरहनुभएका गुरुङ यस पटकको निर्वाचनलाई शान्तिपूणर् र हिंसारहित बनाउने संकल्पसहित पार्टी जिताउने अभियानमा हुनुहुन्छ ।
    उहाँसँग आगामी मंसिर ४ को चुनावमा केन्द्रीतर रहेर गरिएको कुराकानीको सम्पादित अंश :

    ० नेकपा एमालेको हाई कमाण्डमा रहेर दोलखा जिल्लाको चुनावी प्रचारप्रसारको नेतृत्व गरिरहनु भएको छ । निर्वाचन परिचालन अभियान दोलखामा कसरी अगाडि बढिरहेको छ ?
    जनताको घरदैलोमा र टोलबस्तीमा पुग्ने नीति लिएर हाम्रो पार्टी नेकपा एमालेका उम्मेदवारहरु बालकृष्ण शिवाकोटी, नरबहादुर श्रेष्ठ, भरतबहादुर केसीसहित हामी चुनावी अभियानमा व्यस्त भइरहेका छौं । विगतका चुनावी प्रचार शैली भन्दा यस पटक फरक ढङ्गले गरौं भन्ने पार्टीको नीति अनुसार जनताको घरदैलोमा पुग्ने कार्यक्रम अभियानकै रुपमा संचालन भइरहेको छ । कार्तिक २९ गतेभित्र गाउँसभा र घरदैलोका कार्यक्रमहरु सम्पन्न गरि ३० गते तामाकोशी गाउँपालिकामा जनसभा गरेर हाम्रो प्रचारप्रसार कार्यक्रम सम्पन्न गर्ने कार्यतालिका रहेको छ । जनताको बीचमा नेकपा एमालेले केन्द्रिय सरकारमा रहँदा, स्थानीय सरकारमा हुँदा र प्रदेश सरकारमा रहँदा गरेका कामहरु, अपुग भएका कामहरु कसरी गर्छौ भन्ने विषयलाई पार्टीको प्रतिवद्धतापत्रमार्फत सार्वजनिक गरिसकेका छौं । बहुमत ल्याएर सरकार बन्दा नेकपा एमालेले देशलाई कसरी नेतृत्व गर्छ ? के काम गर्छ भन्ने विषयलाई ट्वान्टी ग्यारेण्टीलगायतका थुप्रै विषय समेटेर केन्द्रीय घोषणापत्र पनि हाम्रो पार्टीले सार्वजनिक गरिसकेको छ ।
    हाम्रो सामाजिक मनोविज्ञान तडकभडक र आक्रमक प्रचार हुनुपर्छ भन्नेछ । तर, यस पटक निर्वाचन आयोगले त्यस्तो तडकभडकलाई आचारसंहितामार्फत नियन्त्रण र व्यबस्थित गर्न खोजेकाले हामीले अक्षरस ः पालना गर्ने कोशिस गरिरहेका छौं ।


    ० यहाँहरुले आफ्नो प्रचार शैली परिवर्तन गर्दा कतै तडकभडक मन पराउने त्यो सामाजिक मनोविज्ञान भएको जनमत आर्कषित नहोला कि भन्ने लागेको छैन ?
    पहिलो कुरो त हाम्रो चुनाव महंगो भयो । हामीले हाम्रो कार्यशैलीलाई परिर्वतन गर्नु जरुरी छ । जनमास, जनसभा, तडकभडक यी आदि कुराहरु चुनावका लागि आवश्यक हुन पनि सक्छ, नहुन पनि सक्छ । दोलखाको निर्वाचनसँग जोडिएका विगतका घटनाक्रमलाई हेर्दा गठबन्धनमा रहेका अहिलेका कतिपय दलबाट दोलखाली जनताको सम्मानमा चोट पुग्ने, शीर झुक्ने खालका गतिविधिहरु भएका छन् । त्यस्ता घटनाहरुप्रति हामी सचेत छौ । जब तडकभडकका कुृराहरु आउँछन्, तव व्यवस्थापनका विषयहरु पनि आउँछन्, ती कुराहरु सबै पैसासँग सम्बन्धित हुन्छन् । यसपटक कम खर्चिलो र सरल ढङ्गले पनि जनताको बिचमा पुग्न, प्रत्येक जनताका विचमा उम्मेदवारलाई परिचय गराउन, पुरानो सम्बन्धलाई मेन्टेन गर्न र नयाँ सम्बन्धलाई स्थापित गर्र्ने मौका मिलेको छ । आमसभामा जाँदा एउटा प्रतिनिधिमूलक हिसाबले मात्रै भेटघाट हुन्छ भने घरदैलो गर्दा प्रत्यक्ष रुपमा प्रत्येक जनतासँग पुग्न सकिन्छ भनेर यो मोडालिटीबाट प्रभावकारी प्रचारप्रसार गरिहेका छौं । हाम्रो चुनावी प्रचार कम खर्चिलो, कम भड्किलो देख्नुभएकै छ । यसले भोलिका दिनमा पैसा हुनेले मात्रै चुनाव लड्न पर्छ भन्ने मान्यतालाई चिरेको छ । अहिले हाम्रो कारणले कतिपय स्थानमा गठबन्धनले पनि एमालेको सिको गरेर आमसभा स्थगित गरिरहेको छ । अहिले एमालेकै नीतिलाई गठबन्धले पनि अनुृुसरण गरेको पाईएको छ । यसले दोलखामा नेकपा एमालेले हरेक कुराको अगुवाई गर्दछ, एमाले हरेक विषयको अभियन्ता हो भन्ने तथ्य प्रष्ट हुन्छ ।
    ० यतिबेला सत्तारुढ गठबन्धन मिलेर चुनाव लडिरहेको अवस्थामा एमालेलाई चुनाव जित्न निकै चुनौति छ भन्ने विश्लेषण सुनिन्छ नि ? खासमा दोलखाको अवस्था के छ ?
    अहिलेका सत्तारुढ गठबन्धनका पार्टीहरु सत्तामा रहँदा विगतदेखि नै दोलखामा राज्यशक्तिको दुरुपयोग हुँदै आएको छ । २०४८ सालयताका चुनावमा दोलखाले हिंसा र अशान्ति बेहोर्दै आएको छ । बुथ कब्जा गर्ने, जनताको जनमत भन्दा पनि कब्जामा विश्वास गर्ने, जनताको बिचमा स्थापित भएर होइन, बुथ कब्जा गरेर चुनाव जित्ने कार्यशैलीको कारण दोलखामा बुथ कब्जा गर्ने संस्कारको श्रेय नेपाली कांग्रेसले लिएको छ । यसलाई चिर्न प्रतिवाद गर्नुपर्छ र जनताको जनमतलाई नै हामीले कदर गर्नु पर्दछ भन्ने चेतनाको विकास गर्न जरुरी छ । नभए किन संगठन विस्तार गर्नु पर्‍यो र ? एउटा छुट्टै बुथ कब्जा गर्ने पार्टी बनाए भइहाल्यो नि । जसले बुथ कब्जा गर्नसक्छ, उसले चुनाव लडे भयो । यसले त दलीय व्यवस्थाकै औचित्यमाथि प्रश्न खडा हुँदै जान्छ । गलत संस्कार, गलत राजनीतिक चिन्तन र जनतालाई अपमानित गर्ने गठबन्धनको षड्यन्त्रलाई सचेत मतदाताले यस पटक चिर्नुपर्छ ।
    ० यहाँले दोलखामा गठबन्धनको चुनौति त्यति धेरै छैन भन्न खोज्नुभएको हो ?
    गठबन्धनसँग राजनीतिक एजेण्डा नै छैन । अब यसलाई कसरी चुनौतिका रुपमा लिने ? हिजोका दिनमा गठबन्धनले दोलखाली जनताका निम्ति कुनै योगदान गरेका छैनन् । त्यसकारण उनीहरुलाई दोलखाली जनतासँग मत माग्ने अधिकार पनि छैन । आजका दिनमा दोलखामा जे जति काम भएका छन्, ती सबै काम सम्पन्न गर्ने नेतृत्व नेकपा एमालेले गरेको हो । नेकपा एमालेका कारण जिल्लाको मूहार फेरिदैं गएको हो । विगतमा नेपाली कांग्रेस र माओवादी केन्द्रले पनि चुनाव नजितेको होइन तर उनीहरुसँग नेकपा एमालेले जस्तै केके गर्‍यौं भनेर घोषणापत्रमै फेहरिस्त सार्बजनिक गर्ने हिम्मत छैन । गठबन्धनसँग चुनौतिका साथ एमालेको तुलना गरेरै हेरौं । लामो समय प्रधानमन्त्री बन्ने शेरबहादुर देउवाको जिल्ला र सात पटक अर्थमन्त्री बन्ने डाक्टर रामशरण महतको जिल्लाका सबै वडाहरुमा के सडक पुगेका छन् ? तर जुनबेलादेखि दोलखामा निर्वाचित जनप्रतिनिधिका रुपमा एमालेको नेतृत्व आयो, त्यसबेलादेखि नै हामीले समृद्ध दोलखा ः सुखी दोलखालीका लागि पूर्वाधार खडा गर्दै अगाडि बढ्यौं । मुलुकमा राजनीतिक क्रान्ति सफल भईसकेपछि हामी दोलखाको आर्थिक समृद्धिको अभियानलाई सार्थक बनाउने दिशामा निरन्तर लागिरहेका छौं । विगतमा एमालेले के गर्‍यो भन्नेहरुका लागी अन्य जिल्लाहरुसँग तुलना गर्नुस भन्न चाहन्छु । दोलखामा एमालेले केहि गरेन भन्नेहरुका लागी अहिलेसम्म भएका कामहरु कसले गर्‍यो ? सोध्न चाहन्छु । राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत आयोजना सम्पन्न भएको छ । विभिन्न पर्यटकीय गन्तव्यहरुको विकास भएका छन् । पूर्वाधारहरु धेरै निर्माण भएका छन्, सडक सञ्जालहरु निर्माण भएका छन्, भूकम्पपछि विद्यालय भवनहरु स्वास्थ्य चौकीहरु निर्माण भएका छन् । व्यक्तिका घर निमाणर्का कामहरु सम्पन्न भएका छन् । यी सबै कसले गर्‍यो ? यी सबै कामको नेतृत्व नेकपा एमालेले गरेको हो । यतिबेला दोलखा देशकै नमुना जिल्ला बन्ने दिशामा छ । ती सबै नमूना योजनाहरुको नेतृत्व र पहलकदमी हामीले गरेका हाँै । यी सबै हाम्रो लागि चुनाव जित्ने आधारहरु हुन् ।
    ० यी सबै एमालेले गरेको भनेर तपाईंले दाबी गरिरहँदा अहिलेको गठबन्धनले नेकपा एमालेले ३० वर्षसम्म नेतृत्व गर्दा पनि किन केहि गरेन भन्ने प्रश्न किन उठाइरहेका छन् त ?
    यो प्रश्न उठाउने मान्छेहरुले ३० वर्षसम्म एमालेले नै धेरै काम गर्‍यो अब हाम्रो पालो भन्न खोजेको होला । हामीले केहि नगरेको भन्ने कुरा जनतालाई विश्वास हुन पर्र्यो नि । हामीले गरेका कामको उपभोग गर्नेहरुमा त ती प्रश्न गर्नेहरु पनि छन् नि । त्यसैले यो जनतालाई भ्रममा पार्ने कोशिस मात्रै हो ।
    ० एमालेले अहिलेसम्म दोलखामा पार्टीले गरेको कामको फेहरिस्त सार्वजनिक गरेपछि हाम्रो पनि योगदान छ भन्ने प्रतिक्रिया पनि आइरहेका छन्, त्यसबारे के भन्नुहुन्छ ?
    उहाँहरुले गरेको भए चुनाव किन जित्नसक्नुभएन ? जनताले किन पत्याउनुभएन ? जितेको अबस्था त होइन । तीस वर्षसम्म किन त्यस्तै प्रश्न गर्नुभएन ? किन धेरै पटक जित्न सक्नुभएन ? किन तीस वर्षसम्म एमालेलाई नै जिम्मा लगाउनु भएको त ? एमालेले त अहिलेसम्म गरेको कामको विवरण सार्बजनिक गरेको हो, उहाँहरुले गर्नुभएकोथ्यो भने किन गठबन्धनका तर्फबाट भएका कामलाई प्रतिबद्धतापत्रमा उल्लेख गरेर जनताका बीचमा जान सक्नुभएको छैन ? त्यसैले विरोधाभाष कुरा गरेर जनतालाई भ्रममा पार्ने कोशिस नगर्न म साथीहरुलाई आग्रह गर्न चाहान्छु ।
    ० तपाईहरुले गरेको कामको प्रचार जनतालाई बुझाउन नसक्दा पो प्रश्न उठाइएको हो कि ?
    काम भएको छ, नभएको होइन । जनता आफैले पनि बुझ्नुहुन्छ भन्ने हाम्रो बुझाई हो । फेरि हामीले गरेको कामको किन सस्तो लोकप्रियताका लागि प्रचार गर्ने ? दोलखाली जनताको पक्षमा, विकासका पक्षमा काम गर्नु त हाम्रो, दायित्व हो, जनताले सुम्पिएको जिम्मेवारी हो, यो कुनै प्रचारको विषय नै होइन । आफ्नो गाउँ आफै बनाऔं भन्ने २०५१ सालदेखिकै एमालेको नीति हो । २०५४ सालमा दोलखाका सम्पूणर् स्थानको नेतृत्व नेकपा एमालेले गरेको थियो । त्यसैले दोलखा जिल्लामा विकासको जग त एमालेले बसालेको होला नि, होइन र ? थुप्रै जिल्लाका सदरमुकाममा बाटो नै नपुगेको अबस्थामा पनि दोलखाका प्रत्येक वडालाई सडक सञ्जालले जोड्नेगरी चक्रपथको अवधारणाअनुसार काम अगाडि बढाउने पार्टी नेकपा एमाले नै हो नि, होइन र ? २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नौ वटा पालिकामा सात वटा पालिकामा विजयी भएर एमालेले नै नेतृत्व गरेको हो । यी सबै एमालेले गरेको भनेर जनताका वीचमा प्रचारै गर्नुपर्छ र ? स्वतः स्पष्ट छ नि ।
    ० अबको पाँच वर्षका लागि यहाँहरुले जनताको घरदैलोमा मत माग्दै गर्दा केके एजेण्डाहरु केके एजेण्डा अघि सार्नुभएको छ ?
    हाम्रो माइलस्टोन प्रोजेक्ट भनेको दोलखाको उत्तर-दक्षिण लोकमार्ग हो । लामाबगर-फलाक मार्ग हो । त्यो म मन्त्री भएको बखत नै रातो किताबमा आइसकेको छ । त्यसको डिजाईन तयार भएको छ, सर्भे भएको छ । अब त्यसको ९ सय मिटरको सुरुङ मार्ग लामाबगरमा बनिसकेपछि यो माइलस्टोन प्रोजेक्ट समयमै सम्पन्न गर्छौं । अर्को फिल्म सिटीको विषय छ । त्यो प्राविधिक हिसाबले केहि बाधा भएपनि बन्ने काम अगाडि बढाउने प्रयत्नमा छौं । फिल्म सिटीका लागि छुट्टिएको बजेटले पूर्वाधारका प्रारम्भिक कामहरु भएका छन् । कतिपय राष्ट्रिय गौरवका आयोजनाहरुमा संघ, प्रदेश र स्थानीय तहबीचमा बजेटका सम्बन्धमा अलमल भए तर प्रदेशले अहिले यसको नेतृत्व गरिरहेको छ । लामाबगर- जिरी सडकको स्तरोन्नति, तामाकोशी करिडोरको सर्भे भइरहेको छ । म मन्त्री हुँदै तामाकोशी करिडोरका लागि बजेट छुट्टिएको हो ।
    यस्ता सबै दोलखाको दूरगामी ठूला योजनाहरुमा, अझ भनौं स्थानीय तहको योजनाहरुमा केन्द्रिय सरकार लाग्न नपरोस्, फेरि मन्त्रीलाइ भेट्न सुन्धाराको होटलमा बस्न नपरोस् भनेर सिधै बजेट वडामा पुगेको छ । अहिलेको बजेट निर्माणको कुरा जनतालाइ हामीले बुझाउन सकेका छैनौं । वडा अध्यक्षले मैले गरेको, पालिकामा मैले गरेको भनेर व्यक्तिले गरे जस्तो पनि देखिएको छ । सांसदको भूमिका कहिँकतै नभएको जस्तो देखिएको छ । यो कुनै व्यक्ति विशेषको पहलमा भएको होइन । आज भएका जति पनि विकास छन्, ती सबै पार्वत गुरुङ वा कुनै नेताले गरेको होइन । त्यो त हामी सांसद हुँदा राज्यको कोषबाट, जनताकै करबाट गरेको विकास हो नि । स्थानीय विकासलाइ व्यक्ति विशेषले गरेको भनेर बुझाउनु पनि राजनीतिक शोषण हो ।
    ० विपक्षीहरुले तपाईंहरुमाथि पनि चुनावमा बल प्रयोगको आरोप लगाउँदै आएका छन् नि ?
    हामी को एमाले, को माओवादी, को कांग्रेस, को राप्रपा, को समाजवादी भन्दापनि लगानीमैत्री दोलखा, शान्तिपूणर् दोलखा, गौरव र समृद्धिको अवधारणामा सबैलाइ एकताबद्ध बनाएर साझा ढंगले जाऔं भन्ने अभियानका लागि नेकपा एमालेले विगतदेखि नै गर्दै आएको छ । दोलखालाई राजनीतिक पर्यटनको रुपमा, शैक्षिक गन्तव्य, समृद्ध दोलखाको रुपमा विकास गर्दै नमुना जिल्ला बनाउने हाम्रो अभिप्राय छ । यो हाम्रो दाायित्व पनि हो । यसका लागि हामीले निर्वाचनलाई शान्तिमय बनाउनु पर्छ । जनताको जनमतबाट जीत हार हुन्छ नै । तर नियम मिचेर बलजफ्तीमा खेल जित्ने प्रयत्न नगरौं । निर्वाचन बुथ कब्जा गरेर जित्ने प्रयत्न नगरौै भन्ने हाम्रो धारणा हो । यसको शुरुवात गर्ने, बिउ रोप्ने काम दोलखामा नेपाली कांग्रेसका उम्मेदवारहरुले गरेका छन् । सुरक्षा निकायमा सेटिङ गर्ने, राज्यको दुरुपयोग गर्ने र युवाहरुलाई प्रयोग गर्ने काम गरेका छन् । सत्तारुढ पार्टीकै उम्मेदवारहरले दुरुपयोगको नेतृत्व गरेपछि स्वाभाविक रुपमा निर्वाचन साम, दाम, दण्ड, भेदको नीति लागू हुनसक्छ नै । बुथ कब्जा गरेपनि जितेपछि जित्यो, गलत भएपनि त्यो जित स्वीकार्नै पर्छ । हो त्यही भएर हामीले जनतालाई सचेत गर्दै गलत कुराबाट रोक्न संगठित हुनै पर्‍यो । कार्यकतालाइ प्रतिवाद गर्न आह्वान गर्नै पर्यो । प्रतिवाद गर्दा नै अप्रिय घटनाहरु भएका हुन् । तर नेकपा एमाले, पार्वत गुरुङ आफैले अगुवाइ गरेको भनेर गलत प्रचार भएको छ । यो गलत कुराको निस्तेज गर्नका निम्ति सचेत गराउन मात्र हामीले प्रतिवाद गर्ने गरेका छौं ।

    प्रतिकृया दिनुहोस्