
काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटमा रहेका केही करसम्बन्धी प्रावधानहरूले उद्योग, व्यवसाय र रोजगारीमा प्रतिकूल असर पार्ने बताएका छन् ।
शनिबार प्रतिनिधि सभामा बोल्दै उनले वायर रडमा कर ५ प्रतिशतबाट १० प्रतिशत पुर्याइएकोप्रति आपत्ति जनाए । उनले त्यसले औद्योगिक क्षेत्र कमजोर बनाउने र रोजगारी घटाउने जोखिम रहेको बताए ।
सांसद महतले सुनलाई विलासी वस्तुको रूपमा नहेरी सुनचाँदीका गहना–गरगहनामा लगाइएको विलासी कर खारेज गर्न माग गरे । साथै सुन आयातका लागि रहेको कोटा प्रणाली हटाएर खुला आयातको व्यवस्था गर्नुपर्ने सुझाव समेत उनले दिए ।
त्यस्तै आयुर्वेदिक औषधिमा भ्याट लगाउने प्रस्ताव पुनर्विचार गर्नुपर्ने उल्लेख गर्दै महतले भ्याटको दायरा विस्तार गर्दा नस्वास्थ्यसँग जोडिएका क्षेत्रप्रति सावधानी अपनाउनुपर्ने बताए ।
जलविद्युत् आयोजनाजस्ता पूर्वाधार विकासका लागि आयात हुने सामग्रीमा मात्र १ प्रतिशत कर लगाइएको भए पनि त्यसबाट पर्याप्त राजस्व उठ्न नसकेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए ।