News Portal

  • पुनर्बीमा कम्पनीको अध्यक्षमा भुसाल नियुक्त

    आर्थिकसंसार संवाददाता९ भदौ, २०७७
    ५८५ पटक
    ९ भदौ, २०७७

    काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा सहसचिव यमलाल भुसाल नियुक्त भएका छन् । उनी अर्थमन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखाका प्रमुख हुन् ।
    अर्थमन्त्री डा. युवराज खतिवडाले मन्त्रिस्तरीय निर्णय गर्दै भुसाललाई कम्पनीको अध्यक्ष बनाउने निर्णय गरेका हुन् । भुसाललाई भदौ ३ गतेको मन्त्रिस्तरीय निर्णयका आधारमा अध्यक्षको जिम्मेवारी दिइएको हो । कम्पनीले मंगलबार कम्पनीको अध्यक्षमा भुषाल नियुक्त भएको जानकारी नेपाल स्टक एक्सचेनजलाई गराएको छ ।
    त्यसैगरी पुनर्बीमा कम्पनीको सञ्चालक समितिको सदस्यमा रमेश लम्साल नियुक्त भएका छन् । लम्साललाई पनि सरकारको तर्फबाट संचालक समितिको सदस्य बनाइएको हो । कम्पनीमा ७ जना सञ्चालक हुनुपर्नेमा अब ३ पद खाली छ । खाली रहेका सञ्चालकमा पब्लिक सेयरधनीको तर्फबाट २ जना र विज्ञ सञ्चालकको तर्फबाट १ जनाको पद रिक्त छ ।
    यसअघि मन्त्रिपरिषदले सञ्चालक समिति अध्यक्ष नियुक्त गर्ने र सो अध्यक्षले ४ वर्षको लागि सञ्चालक समितिको नेतृत्व गर्ने परम्परा थियो । तर, यसपटक मन्त्रिस्तरीय निर्णयबाट भुसाललाई अर्काे व्यवस्था नभएसम्मको लागि भनेर अध्यक्ष बनाइएको छ । कम्पनीमा संस्थापक सेयरधनीको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत सेयर स्वामित्व छ । संस्थापक सेयर स्वामित्वमध्ये कुल प्रमोटर सेयरको करिब ६० प्रतिशत सरकारको र बाँकी प्रमोटर सेयर बीमा कम्पनीहरुको छ ।

    प्रतिकृया दिनुहोस्