२७ असोज, २०८३काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको असोज २६ गते बसेको सञ्चालक समितिको बैठकले बोनस सेयर र नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको ४.७५ प्रतिशतका दरले ५ करोड ३३ लाख २० हजार २९० रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै, बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.२५ प्रतिशतका दरले २८ लाख ६ हजार ३३१ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरिएको छ ।
लाभांश प्रस्ताव पारित गर्न कम्पनीले कात्तिक २० गते बिहान साढे ९ बजे काठमाडौंस्थित स्मार्ट दरबार, शंखपार्कमा २३औँ वार्षिक साधारणसभा बोलाएको छ ।
कम्पनीको साधारणसभामा बोनस सेयर वितरणसँगै हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पेस गरिनेछ । सञ्चालक समितिले बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पुँजीको १:१ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको छ । अर्थात्, एक कित्ता सेयर हुने सेयरधनीले थप एक कित्ता हकप्रद सेयर खरिद गर्न पाउने गरी प्रस्ताव गरिएको हो ।
यसका लागि कम्पनीको अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने प्रस्तावसमेत साधारणसभामा पेस हुनेछ । प्रस्तावित बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी करिब १ अर्ब १७ करोड ५८ लाख ५२ हजार ७१५ रुपैयाँ पुग्ने विवरणमा उल्लेख छ ।
साधारणसभामा चार जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि छ । तीमध्ये संस्थापक सेयरधनीबाट तीन जना र सर्वसाधारण सेयरधनीबाट एक जना सञ्चालक निर्वाचित गरिनेछ ।
त्यस्तै, आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण प्रतिवेदन, र चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने विषय पनि सभाको कार्यसूचीमा समावेश छ।
सञ्चालक समितिबाट भएका निर्णय तथा कामकारबाही अनुमोदन गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधनसम्बन्धी प्रस्ताव पारित गर्ने विषयसमेत साधारणसभामा पेस गरिनेछ ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कात्तिक ११ गते सेयर दर्ता पुस्तिका बन्द गर्ने जनाएको छ । त्यसअनुसार उक्त मितिभन्दा अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेन्जमा भएको कारोबारबाट कायम सेयरधनीले साधारणसभामा सहभागी हुन, सञ्चालक निर्वाचनमा मतदान गर्न तथा बोनस सेयर प्राप्त गर्न सक्नेछन् ।



