News Portal

  • एमालेद्वारा भोटेकोशी बाढीपीडितका लागि १ करोड २० लाख सहयोगको घोषणा

    आर्थीकसंसार संवाददाता१५ भदौ, २०८३
    २६ पटक
    १५ भदौ, २०८३

    काठमाडौं । नेकपा एमालेले भोटेकोशी बाढीपीडितका लागि आफैं सहयोग संकलन र खर्च गर्ने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले न्यूनतम १ करोड २० लाख रुपैयाँ संकलन गरिने बताए ।

    आज सोमबार पार्टीका बागमती प्रदेश र राजधानी प्रदेश कमिटीका तर्फबाट १०/१० लाख रुपैयाँ सहयोग पार्टीलाई हस्तान्तरण गरिएको थियो ।

    सो रकमको चेक बुझ्दै अध्यक्ष ओलीले एमालेले सरकारको भर नपरी आफ्नै खर्चमा समेत राहत वितरण गरिरहेको बताए । विपद्का बेला उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सरकार र सम्बन्धित सबै पक्षबीच समन्वय आवश्यक रहेको उनको भनाइ थियो ।

    ओलीले राहतका लागि सरकारी कोषमा रकम जम्मा भए पनि पीडितसमक्ष पुग्न नसकेको टिप्पणी गरे ।
    उनले भने, ‘केन्द्र सरकारको कोषमा पैसा जम्मा भएको छ, राहत जम्मा भएको छ । तर जनता भोकै छन्, राहत पुग्न पाएको छैन । यो स्थितिलाई न्यून गरौं, अन्त्य गरौं भनेर पहल एवम प्रयास गरिरहेका छौं ।’

    एमालेले राहत, उद्धार तथा पुनर्स्थापनाका लागि कम्तीमा १ करोड २० लाख रुपैयाँ संकलन गर्ने र आवश्यकताअनुसार खर्च गर्ने निर्णय गरेको पनि ओलीले जानकारी दिए ।

    उनले भने, ‘साँच्चै पीडितकहाँ पुर्याउने कि सरकारको कोषमा देखाउने ? कोषलाई पैसा चाहिएको होइन, पीडितलाई राहत पुर्याउन खोजेको हो । कुन माध्यमबाट छिटोछरितो ढङ्गले यथार्थ पीडितकहाँ यथार्थ राहत पुग्छ, त्यही बाटो अवलम्बन गर्छौं ।’

    ओलीले विपद्का बेला सबैले दिल खोलेर सहयोग गर्नुपर्ने बताए । उद्धारका लागि निजी हेलिकप्टर तथा तालिमप्राप्त जनशक्तिको प्रभावकारी उपयोगमा उनले जोड दिए ।

    ‘उद्धार गर्न उत्सुकहरू छन्, उद्धारका निम्ति तालिम लिएका मान्छेहरू छन् । त्यस्ता मान्छेहरूलाई हेलिकप्टर प्रयोग गर्न दिने हो भने, तिनीहरूले काम गर्न पाउने हो भने धेरै काम गर्थे,’ उनले भने ।

    अध्यक्ष ओलीले पछिल्लो विपद्लाई जलवायु परिवर्तनको गम्भीर असरका रूपमा व्याख्या गर्दै नेपालजस्ता जलवायु परिवर्तनको असरबाट बढी प्रभावित मुलुकलाई विकसित देशहरूले क्षतिपूर्ति दिनुपर्ने बताए ।

    ‘वातावरण विनाशका लागि योगदान नगरेका हामी र हामीजस्ता साना तथा संवेदनशीलतामा रहेका देशहरूले त्यसको क्षति बेहोर्नुपर्ने अवस्था छ । विकसित देशहरूले क्षतिपूर्ति दिनुपर्छ,’ ओलीले भने ।

    उनले वातावरण विनाशसँग सम्बन्धित क्षतिपूर्तिका विषयमा संयुक्त राष्ट्र संघ तथा अन्तर्राष्ट्रिय संस्थाहरूले स्पष्ट नियम र मापदण्ड तत्काल बनाउनुपर्नेमा जोड दिए ।

    एमाले प्रचार विभागका प्रमुख निरज आचार्यले प्रधानमन्त्री राहत कोषमा पैसा एमालेले पैसा हाल्ने वा नहाल्ने निधो नभइसकेको बताए ।

    उनले भने, ‘यो कोषमा पैसा थुप्रिएको तर पिडितहरुसम्म राहत नपुगेको जनगुनासो छ । १ करोड २० लाख रुपैयाँ पार्टीले संकलन गरेपछि कसरी खर्च गर्ने भनेर आवश्यक निर्णय लिइने छ ।’

    प्रतिकृया दिनुहोस्