
१५ भदौ, २०८३काठमाडौं । नेकपा एमालेले भोटेकोशी बाढीपीडितका लागि आफैं सहयोग संकलन र खर्च गर्ने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले न्यूनतम १ करोड २० लाख रुपैयाँ संकलन गरिने बताए ।
सो रकमको चेक बुझ्दै अध्यक्ष ओलीले एमालेले सरकारको भर नपरी आफ्नै खर्चमा समेत राहत वितरण गरिरहेको बताए । विपद्का बेला उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सरकार र सम्बन्धित सबै पक्षबीच समन्वय आवश्यक रहेको उनको भनाइ थियो ।
एमालेले राहत, उद्धार तथा पुनर्स्थापनाका लागि कम्तीमा १ करोड २० लाख रुपैयाँ संकलन गर्ने र आवश्यकताअनुसार खर्च गर्ने निर्णय गरेको पनि ओलीले जानकारी दिए ।
उनले भने, ‘साँच्चै पीडितकहाँ पुर्याउने कि सरकारको कोषमा देखाउने ? कोषलाई पैसा चाहिएको होइन, पीडितलाई राहत पुर्याउन खोजेको हो । कुन माध्यमबाट छिटोछरितो ढङ्गले यथार्थ पीडितकहाँ यथार्थ राहत पुग्छ, त्यही बाटो अवलम्बन गर्छौं ।’
ओलीले विपद्का बेला सबैले दिल खोलेर सहयोग गर्नुपर्ने बताए । उद्धारका लागि निजी हेलिकप्टर तथा तालिमप्राप्त जनशक्तिको प्रभावकारी उपयोगमा उनले जोड दिए ।
‘उद्धार गर्न उत्सुकहरू छन्, उद्धारका निम्ति तालिम लिएका मान्छेहरू छन् । त्यस्ता मान्छेहरूलाई हेलिकप्टर प्रयोग गर्न दिने हो भने, तिनीहरूले काम गर्न पाउने हो भने धेरै काम गर्थे,’ उनले भने ।
अध्यक्ष ओलीले पछिल्लो विपद्लाई जलवायु परिवर्तनको गम्भीर असरका रूपमा व्याख्या गर्दै नेपालजस्ता जलवायु परिवर्तनको असरबाट बढी प्रभावित मुलुकलाई विकसित देशहरूले क्षतिपूर्ति दिनुपर्ने बताए ।
‘वातावरण विनाशका लागि योगदान नगरेका हामी र हामीजस्ता साना तथा संवेदनशीलतामा रहेका देशहरूले त्यसको क्षति बेहोर्नुपर्ने अवस्था छ । विकसित देशहरूले क्षतिपूर्ति दिनुपर्छ,’ ओलीले भने ।
उनले वातावरण विनाशसँग सम्बन्धित क्षतिपूर्तिका विषयमा संयुक्त राष्ट्र संघ तथा अन्तर्राष्ट्रिय संस्थाहरूले स्पष्ट नियम र मापदण्ड तत्काल बनाउनुपर्नेमा जोड दिए ।
एमाले प्रचार विभागका प्रमुख निरज आचार्यले प्रधानमन्त्री राहत कोषमा पैसा एमालेले पैसा हाल्ने वा नहाल्ने निधो नभइसकेको बताए ।
उनले भने, ‘यो कोषमा पैसा थुप्रिएको तर पिडितहरुसम्म राहत नपुगेको जनगुनासो छ । १ करोड २० लाख रुपैयाँ पार्टीले संकलन गरेपछि कसरी खर्च गर्ने भनेर आवश्यक निर्णय लिइने छ ।’