२८ असोज, २०८३काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आ.व. २०८२/८३ को आफ्नो पन्ध्रौँ वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न गरेको छ । बैठकले लेखापरीक्षण प्रतिवेदन सहितको २०८३ आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद–प्रवाह विवरण स्वीकृत गर्नुका साथै १५% बोनस शेयर र कर प्रयोजनका लागि ०.७८९४७४% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यस पश्चात् एनसीएचएलको चुत्ता पुँजी रु. १,६७,७२,८८,२०० बराबरको हनेछ । कम्पनीले पूँजी वृद्धी मार्फत नेशनल पेमेन्ट प्रणालीहरु, नेशनल तथा क्रस बोर्डर कारोबारका लागि थप भुक्तानी प्रणालीहरु, डीपीआईका लागि थप पूर्वाधारहरु, जोखिम व्यवस्थापनलाई सुढृढ बनाउने र सञ्चालनमा रहेका पूर्वाधारहरुको स्तरोन्नतीका लागि प्रयोग गरिनेछ ।
आ.व. २०८२/८३ मा एनसीएचएलको भुक्तानी प्रणालीहरु मार्फत कुल २१० खर्ब बराबरको २३.८२ करोड भुक्तानी कारोबारहरु राफसाफ भएको थियो । उक्त आर्थिक वर्षमा कम्पनीबाट फर्छौट भएका कारोबारहरुको संख्या र रकमको आधारमा १३% ले वृद्धि भए सँगै कम्पनीको सञ्चालन आमदानी ७% ले वृद्धि भएको छ । कम्पनीको खुद नाफा ने.रु ४१ करोड रहेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २ % ले कम हो ।
एनसीएचएलको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकबाट १ जना, वाणिज्य बैंकहरुबाट ३ जना, विकास बैंकहरु र फाइनान्स कम्पनीहरुबाट क्रमशः १–१ जनाको प्रतिनिधित्व रहेको छ भने १ जना स्वतन्त्र सञ्चालक रहेको छ। एनसीएचएलमा नेपाल राष्ट्र बैंकको ९.४५% र बैंक तथा वित्तीय संस्थाहरुको ९०.५५% स्वामित्व रहेको छ ।



