News Portal

  • रास्वपा महाधिवेशनमा विद्युतीय मतदान हुने, विदेशबाट पनि मिल्ने

    आर्थीकसंसार संवाददाता६ असार, २०८३
    ११ पटक
    ६ असार, २०८३

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा विद्युतीय मतदानको सुविधा उपलब्ध हुने भएको छ । रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार मतदाताहरूले विद्युतीय उपकरणमा उम्मेदवारहरूको नाम र फोटोमा छोएर मतदान गर्न सकिने छ ।

    पहिलो चरणको मतदान गर्न करिब ६ घण्टा लाग्ने अनुमान गरिएको छ । पहिलो चरणमा एक जना सभापति र ९९ जना सदस्यका लागि मतदान गरिने छ ।

    केसीका अनुसार निर्वाचित भएका सदस्यहरूबाट दोस्रो चरणमा उपसभापति, महामन्त्री र सहमहामन्त्रीका लागि निर्वाचन गरिने छ । केसीले यही असार ८ गते दिउँसो २ बजे मनोनयन प्रक्रिया सुरु गरेर त्यही साँझ पहिलो चरणको निर्वाचन गर्ने तयारी गरिएको बताए ।

    असार ८ गते रातीसम्ममा पहिलो चरणको निर्वाचन सम्पन्न भएपछि दोस्रो चरणको निर्वाचन असार ९ गते गरिने उनको भनाइ छ । पदाधिकारीका लागि मात्र दोस्रो चरणको निर्वाचन हुने छ ।

    उनले ३ हजारको हाराहारी प्रतिनिधि हुने अनुमान रहेको बताए । प्रवासमा रहेर आउन नसकेका प्रतिनिधिका लागि रास्वपाको आफ्नै एपमार्फत मतदानको व्यवस्था मिलाईंदै छ ।

    विदेशका १७० जना प्रतिनिधिमध्ये आउन नसक्नेहरुले एपमार्फत मतदान गर्ने छन् । रास्वपाको केन्द्रीय निर्वाचन आयोगमा प्रमुख र १० जना सदस्य रहेका छन् । निर्वाचन आयोगका प्रमुख र सदस्यले उम्मेदवारी दिन नपाउने भएपनि मतदान गर्न पाउने व्यवस्था छ । प्रमुख केसीले आफूहरूले मतदान नगरी तटस्थ निर्वाचन गराउने बताए ।

    प्रतिकृया दिनुहोस्